प्रा.डा. धनरत्न शाक्य, एमडी, बरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ, प्राध्यापक ।
जीवजन्तू, पशुपंक्षी, बोटबिरुवा चराचर सहित् मानिसको जीवन या चोला हुन्छ । जन्मदेखि मृत्युसम्मको अवधि सामान्यतया यसमा गनिन्छ । यस सम्बन्धमा यकिन भन्न नसकिने तर बिद्वान, बोधी, सिद्ध तथा शास्त्राचार्य वैज्ञानिकहरुका मतहरु अनेक रुपमा आउने क्रम संसारमा चल्दै आएको देखिन्छ । यस्ता मतहरु यसको शुरुवात अर्थात् जन्म र अन्त्य अर्थात् मृत्यु सहित् हर पहलुहरुका सन्दर्भमा भेट्टिन्छन् । बास्तवमा, यो जीवन रहस्यहरुको आफैंमा एक मिसाल नै हो । यसमा र यसका विविध पाटा, आयाम र पहलुहरुका अध्ययन, मनन्, चिन्तन, साधना, प्रयोग र अनुसन्धानमा धेरैले आफ्नो जीवन अर्पे । उनीहरुको बोधता, अभिप्राय, प्रवृत्ति र पृष्ठभूमिले गर्दा अगाडि आएका कति मतहरु समयले मिथ्या, कपोकल्पित, असत्य, भ्रामक, हानिकारक भएको देखायो । कति अर्धसत्य, आंशिक, सन्दर्भ आधारित सावित भए भने कति चाहिँ सार्वजनिन्, अकाट्य, परम् सत्य र आर्यसत्य प्रतीत हुने खालका छन् । दुःखको कुरा, यति महत्त्वपूर्ण र गहन यो साध्य विषयमा आम रुपमा सोच्ने, बिचार गर्ने, केलाउने काम हुँदैन । अक्सर सतहका बाहिरी कुरा र साधनहरुमै हतारो जीवन बित्दछ । यसका विविध पाटाहरुमा अक्सर ब्याप्त र अनवरत चलिरहेका चलन, यथार्थ र परिस्थिति पनि मानिसको यहि जीवनप्रतिको चेतना, चिन्तन र साधनाको प्रतिकूल सत्यताले गर्दा बडो बिचित्र, बिस्मयकारी, रहस्यमय र दुःखद देखिन्छ । मानिसको आफ्नो मनका तानाबाना, त्यसले अरु मनहरुसँग बुन्ने जटिल जालो, त्यसको हाराहारीमा रचिने खेलाहरुमा लगभग मान्छे अन्ततोगत्वा हार, दुःख, बिनासतिरै लम्किरहने गरेको प्रतीत हुन्छ ।
जन्म र मृत्यु आफ्नो हातमा छ छैन भन्ने सवाल पनि बडो पेचिलो र गम्भीर छ । कर्मको सिद्धान्त अनुसार, आआफ्नो कर्म र जीवनको अन्तिम घडीमा त्यस अनुसारको मनस्थितिले कहाँ केको रुपमा कुन हालमा जन्म हुन्छ भन्ने तय हुन्छ भन्ने छ। ढुंगा, पत्थर जस्तो भारी कुकर्म गर्नेहरुको मन कपास, फूल जस्तो सुकर्म गर्नेहरुको मन जीवनको अन्तिम घडीमा पनि निर्णायक हिसाबले फरक हुन्छ । त्यसै हिसाबले, आगामी जन्म, स्वरुप, कूल, अवस्था हासिल हुने धार्मिक मतहरु चेतनाको उच्च बिन्दुमा बोध हुने हुन् । यो चोलाको अन्त्य कहाँ गएर हुन्छ, सामान्यतः निश्चित हुन्न र आफ्नो नियन्त्रण रहँदैन । यद्यपि, सचेत, सजग, सन्तुलित र सद्जिविका बाँच्ने मानिसको अन्त्य सुखद हुने सम्भावना ज्यादा हुन्छ । अरु तत्वहरुको पनि यसमा प्रभाव हुने गर्दछ । सामान्यतया, मान्छेको बसमा हुने भनेको जन्म र मृत्यु बीचको जीवन के कसरी जिउने भन्ने धेरै हदसम्म आफैंमा भर पर्दछ ।
यो चोला के कसरी सफल, धन्य वा सार्थक बनाउनेरु भन्ने विषयमा पनि असन्तुलित मतहरु अत्यधिक विद्यमान देखिन्छन् । एकातिर कति मानिसहरु अति चिन्ताले जीवनै जिउन, एक पाइला सार्न नसकिरहेका भेट्टिन्छन् भने अर्कोतिर अधिकाधिक मानिसहरु यस विषयमा अलिकति पनि वास्ता नराख्ने तथा, यसतिर केहि चिन्तनमनन, साधना र कर्म नगरी जीवन बिताइरहेका हुन्छन् । जे नगर्नु, त्यहि गर्ने प्रवृत्ति, सोंच, व्यवहार, त्यसैमा रम्ने, लहसिने, डुब्ने मान्छेको मनले जता लग्यो उतै जीवन दोहर्याएर अन्तमा पछुताउने नियति आम मानिस र संसारको यथार्थ हुने गर्छ । अक्सर आम रुपमा मानिस यस्तो जंगली र लम्पट मनको गुलाम हुने गर्छ । आम मनको यस्तो अवस्था नै दुनियाँ, समाज र जीवन यति दिग्भ्रमित, बिचलित, दुस्खी र असार हुनुको कारण हुनेगर्छ ।
मनलाई आवश्यक तालिम, निरन्तरको नियमन, सन्तुलन र नियन्त्रणमा अभ्यस्त राखेर जीवनबाट रमाइलो, उपलब्धि र लक्ष सबै कुरा हासिल हुनसक्छ भन्ने उदाहरण नभएका होइनन्। जीवनको बिस्मयकारी, भ्रामक र अल्मल्याउने खेला यति व्यापक र सशक्त छ कि यस्ता सुखद, सफल र प्रेरक दृष्तान्त अति कम भने अवस्य हो । यस्ता दुर्लभ ब्यक्ति बिशेषका जीवनले अनन्त अँध्यारोमा बलेको दियो वा उज्यालो जस्तै सम्भावना, सत्य र सजगताको मार्गनिर्देश गरिरहेका हुन्छन् । यस्तो मन र जीवनको अभ्यासले जीवन त प्रगतिशील, सुखद र उपलब्धिमूलक हुन्छ नै, साथमा मृत्यु र उपरान्तको अनन्त यात्रा र स्मृति पनि सुखकर रहने बोधीचित्तहरु बताउँछन् ।
उनीहरु भन्छन् जीवन सारंगी हो। सारंगी बजाउने गाइनेले यसको धागो ठिक्क कस्नुपर्छ ताकि आवाज सुमधुर होस् । धेरै कस्दा चुँडिन सक्छ, बजाउन गाह्रो पर्छ । यति खुकुलो पनि नहोस् कि धोद्रो स्वर निस्कोस्, बेसुरा आवाजले माहोल, समय र कानहरुमा नराम्रो असर परोस् । गाइनेले सारंगी बजाउन पनि सिकोस् । हामी पनि जीवनको यो रहस्यमयी धर्म बुझौं । जीवनलाई त्यति खुकुलो पनि नबनाऔं कि यो लिकबाटै बाहिर जाओस्। यति पनि नकसौं कि सासै फेर्नसम्म गाह्रो परोस् । ठिक माफिकले सन्तुलनमा जीवन जिऔं । सिद्धार्थ गौतमको दरवारीया सुखसयलको भोगविलास र ६ वर्षको कडा परिश्रमबाट बिउँझेर समता, स्वास्थ्य र सन्तुलनको साधनामा बोधीज्ञान बुद्धत्व हासिल भयो । भगवान बुद्धले संसार र जीवनको चक्रब्युहबाट पार लाग्ने उपायको रुपमा मध्यममार्गी पञ्चशील र आर्यअष्टांगिक मार्ग औंल्याउनुभयो।
कोभिड महामारीको सन्दर्भमा पनि यसबाट पार लाग्ने तरीकाको रुपमा मानव जीवनको सन्तुलन र स्वस्थ जीवनशैली आवश्यक हुने तथ्य टड्कारो देखियो । एकातिर संक्रमण सर्न नदिन शारिरीक दूरी अपरिहार्य भयो, अर्कोतिर मान्छेको मन मान्छेसँगको सामीप्यता खोज्छ । आत्मीय सामाजिक अन्तरक्रिया र सामीप्यताको कमिमा धेरै खालका समस्या, रोग र जटिलताहरुले मानव जीवन थप कष्टकर बनेको देखियो । यसमा पनि सन्तुलन र समय सापेक्ष उपाय अपनाउन आवश्यक हुन गयो । अनलाइन, मोबाइलको सदुपयोग गरेर सम्बाद, सम्पर्क र सामीप्यता कायम राख्न जति आवश्यक भयो, त्यति नै जरुरी फेरि यसको अन्धाधुन्ध, अनियन्त्रित र अनावश्यक प्रयोगले यसका लत पर्ने, धेरै खालका मनोसामाजिक र स्वास्थ्य समस्याहरु आउला भनी सजग हुन परेको अवस्था छ। अतिवादबाट बचेर मध्यम मार्ग अपनाउनु पर्ने जीवनको यो रहस्य र खेला बुझेर अगाडि बढ्ने मानिसलाई नै कल्याण, उन्नति र सफलता हासिल हुने रहेछ ।


















