Saturday, May 24, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home अन्य स्व-अस्तित्वको दिगो आधार

स्व-अस्तित्वको दिगो आधार

  • प्रा. डा. धनरत्न शाक्य बरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ, वि.पि.को.स्वा.वि.प्र. ।

हरेक मानिसलाई आफ्नो अस्तित्व प्यारो लाग्छ । मानिस आफ्नो परिवार, समाज, देश, संस्कृति, जाति, धर्म, परम्परासँग जोडिएर बाँच्छ। मानिसलाई आफ्नो परिवार, समाज, संस्कृति, जाति, धर्म, परम्परा पनि प्यारो लाग्छ। उसको पहिचान यिनै कुराहरुसँग जोडिएको हुन्छ। ऊ चङ्गा जस्तो टाढा टाढा माथि माथि जता जता उडेपनि उसको अस्तित्वको आधार लट्टाईसँग जोडिए जस्तै यिनै कुराहरुमा अडेको हुन्छ। त्यसैले, कुनै पनि स्थान, समय, परिवेश, समाज, देश र संस्कृतिको आधारमा नै हामी मानिसहरूको अस्तित्व र पहिचान बन्दछ। अक्सर यस्तो देखिन्छ कि मानिसलाई आफ्नो अस्तित्व, पहिचान अनि यसका आधारहरु प्यारा लाग्छन् तर अरुको अस्तित्व, पहिचान र त्यसका आधार समाज, संस्कृति, धर्म, परम्पराको नजरअन्दाज हुने गर्दछ । आफ्नो अस्तित्व र पहिचानका लागि मानिस प्रयत्नशील, कर्मशील र कर्मठ रहनुपर्छ। यसैबाट व्यक्तिको अस्तित्व अगाडि बढ्छ र पहिचान पनि रहन्छ। यसको लागि अरुको अस्तित्व, पहिचान र यसका आधारहरुमा दखल अन्दाजी गर्नु भनेको मूर्खता हो। आफ्नो अस्तित्व र पहिचानको लागि अरुको अस्तित्व र पहिचानलाई नामेत गर्नु, असर पार्नु, धुमिल पार्नु भनेको मानवताबाट गिर्नु हो। अरुको अस्तित्व र पहिचानलाई कदर गर्दै आफ्नो पनि अस्तित्व र पहिचान कायम राख्न के कस्ता कुराहरु गर्न सकिएला भनी सबै सजग रहनुपर्छ । विशेष गरेर हामी नेपाली जस्ता अर्थ र शक्तिको हिसाबले विकासोन्मुख र पिछडिएको भौगोलिक क्षेत्रका बासिन्दाहरुले आफ्नो अस्तित्व र पहिचानका लागि सजग रहेर राष्ट्रियता, मर्यादा र इज्जत जोगाउन भरमग्दुर कोसिस गरिराख्नुपर्छ। यसको लागि केही कुराहरु अभिभावक, शिक्षक र ठूला मानिसहरूले विद्यार्थी, बालबालिका र नबुझेकाहरु, नजानेकाहरुलाई बुझाउन, सिकाउन र सम्झाउन जरुरी हुन्छ।

पहिलो कुरा स्व-अस्तित्वको लागि आफ्ना परिवारजन, नातागोता, साथीभाइ, छरछिमेक, बन्धुबान्धवसँगको नाता सम्बन्धलाई समेट्ने आधार अंगाल्नु पर्दछ। यसको मतलब हो- अरुको सरोकार, मतलब, हित र सहयोगको आधारमा जीवन अँगाल्नु । अर्थात्, सामुदायिक, सामूहिक जीवन बाँच्नु । परिवारमा बस्दाखेरि परिवारका सदस्यहरूको ख्याल राख्नु, साथमा छरछिमेकीहरू, आफ्ना बन्धु बान्धवहरूसँगको सम्बन्धलाई महत्व दिनु। संस्कृति, परम्परा र संस्कृतिलाई समेट्दै जीवन बिताउनु । यसले हाम्रो अस्तित्व कायम राख्न, पहिचान परिचयलाई अघि बढाउन मद्दत गर्दछ। आजभोलि शिक्षा, विज्ञापन र विश्व व्यापीकरण जस्ता विभिन्न बहाना र लहरमा ठूला माछाले साना माछालाई निले जस्तै हाम्रा सामुदायिक जीवनहरुलाई तहसनहस बनाउने, यसको मर्मलाई लत्याउने, यसका गुणवृत्तिहरुलाई छिन्नभिन्न बनाउने र हामीलाई हाम्रो सामुदायिक जीवन, रुचि, परम्परा, संयुक्त परिवारबाट एकलकाटे बनाउँदै लगेको परिस्थितिमा हाम्रो अस्तित्व पनि धरापमा पर्दै गएको देखिन्छ । अहिलेको शिक्षा, आजका बहुसङ्ख्या विज्ञापन लगायत् औद्योगिकीकरण, विश्व व्यापीकरण र पुँजीवादी लहरले हाम्रो सामुदायिक जीवनको अस्तित्व पनि धुमिल बन्दै गएको देखिन्छ। यसतर्फ सचेत भएर पारिवारिक, सामाजिक, सांस्कृतिक र राष्ट्रिय चेत सँगसँगै आफ्ना परिवारजन, बन्धु बान्धव, छरछिमेक, साथीभाईसँगसँगै जिउने सामुदायिक जीवन बाँच्न सिक्नुपर्छ।स्व-अस्तित्वको लागि जसरी सामुदायिक जीवन जरुरी हुन्छ, त्यसरी नै आफ्नो भौगोलिक स्थान र स्थानीय साधन स्रोत, प्रकृतिमा आधारित जीवन त्यति नै जरुरी हुन्छ। स्थानीय हावापानी, माटो जस्ता साधन स्रोत र प्रकृतिमा आधारित जनजीवन नै दिगो रहन्छ । आयातित साधनस्रोत अनुकूल नहुन सक्छ, हामीलाई क्षणिक रुपमा आकर्षक लागेपनि त्यो दीर्घकालका लागि दिगो नहुन सक्छ र हामीलाई त्यसले त्यसमा पराधिन बनाउने सम्भावना हुन्छ। त्यसैले, आफ्नै गाउँ ठाउँ र समाजमा भएका बोटबिरुवा, ढुंगा माटो, हावापानी आदिमा आधारित जीवनको लागि स्थानीय कुराहरुसँगै हातेमालो गर्दै जिउन सिक्नुपर्ने हुन्छ, माटोसँग खेल्नुपर्ने हुन्छ, हिलोसँग खेल्नुपर्ने हुन्छ। यसको लागि वृक्षारोपण, वातावरण संरक्षण हुने हिसाबले जिउन सिक्नुपर्दछ ‌‌।

यसरी नै हाम्रो स्व-अस्तित्व र पहिचान कायम राख्नको लागि हाम्रा ज्ञान, सिप, कला, धारणा र जानकारी समेटिने कुराहरू जस्तै- भाषा, साहित्य, संस्कृति, परम्परा, धर्म आदिको संरक्षण जरुरी हुन्छ। आफ्नो भाषा, साहित्य, संस्कृति, कसैले आएर संरक्षण गरिदिने होइन। आफ्नो भाषा, साहित्य, संस्कृति बिना आफ्नो पहिचान पनि बाँकी रहँदैन । त्यसैले, सबैले मातृभाषा बोल्न सिकौं, बोलौं । आफ्नो संस्कृति, साहित्य, कलामा गर्व गरी यसको महत्व बुझौँ । यसलाई अंगालौं, यसबाट लाभान्वित होअौं। अरुको भाषा, साहित्य, कलाबारे पनि सुसुचित भएर आफ्नो भाषा, कला, साहित्य र संस्कृतिलाई अझ धनी बनाउने कोसिस गरिराख्ने जीवन नै वास्तवमा सोनाम धन्य र पहिचानयुक्त जीवन हुनेछ। सचेत, सजग भई स्फुर्त भएको अभिप्रेरणाले नै मात्र अहिले जस्तो चुनौतीपूर्ण परिस्थितिमा पनि आफ्नो स्व-अस्तित्वको लागि कसैगरी यसका आधार गुणवृत्तिहरु अंगालिरहन लगाउनेछ ।

(लेखक प्रा.डा. धनरत्न शाक्य, एमडी बरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ, प्राध्यापक हुनुहुन्छ । उहाँका मानसिक स्वास्थ्य, मनोरोग, स्वास्थ्य बिषयमा ५०० भन्दा बढी लेखरचना, १२ बढी पुस्तक, १००भन्दा बढी वैज्ञानिक जर्नल आर्टिकल, नेपालभाषा, नेपाली र अंग्रेजीमा विविध लेखरचना प्रकाशनमा रहेका छन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments