विद्यालयमा चार बजेको घण्टी लागेसँगै मलाई घर जान जहिल्यै हतार हुन्थ्यो । म सधैँै दौडेर घर पुग्थेँ । विद्यालयको पोशाक राम्ररी फुकाल्न पनि नपाउँदै बेस्सरी चिच्याउँथेँँ, आमा भोक लाग्यो । आमाले भान्सामा गई थोरै खाजा पस्किदिनु हुन्थ्यो । भोक लागेको सुरमा ग्वाम् ग्वाम् खाजा खान्थेँ। हत्केलामा समेत नअट्ने गरी ठूलो गाँस लिई खाजा खाएको देखेर आमा मुसुमुसु हाँस्नु हुन्थ्यो। अनि खाजा खाने बितिकै फुटबल खेल्न बाहिरको चौरमा दौडन्थेँ । आज सम्झिदा पनि रमाइलो लाग्छ ।
अँध्यारो नहुञ्जेल साथीहरुसँग फुटबल खेल्थ्यौँ । म कहिले गोल किपर बन्थेँ त कहिले डिफेन्समा खेल्थेँ । हामीसँग फुटबल किन्ने पैसा हुँदैनथ्यो । साथीहरु सबै मिली दिउँसोको खाजा खाने एक दुई रुपियाँ जम्मा गरेर फुटबल किन्थ्योैँ अनि खेल्थ्यौँ । अनि जसै अँध्यारो हुन्थ्यो, लुकीडुम खेल्थ्यौँ । कहिलेकाँही लुकीडुम खेल्दा लुक्न जाने क्रममा बारे पुखु (कमल पोखरी)को डिलमा पुग्थ्यौँ । एक चोटि त सर्प खुट्टामा घस्रेर मेरो साटो उडेको थियो । त्यस दिनदेखि लुकीडुम खेल्न डराउन थालेँ । तर घरमा आमाको उलिचाया बाखँ थुलिचा ( नेवारी लोक कथा) मा हराउन थालेँ ।
हरेक दिन राती खाना खाइसकेपछि आमा नेपाल भाषामा लोक कथा सुनाउने गर्नु हुन्थ्यो, उलिचाया बाखँ थुलिचा । निन्द्रा नलागुञ्जेल म आमाको कथा सुनिरहन्थेँ । उतिखेर अहिेलेजस्तो विद्यालयको गृहकार्य हुँदैनथ्यो वा भएपनि गरिदैनथ्यो । यसैले उलिचाया बाखँ थुलिचा सुन्न प्रशस्त समय हुन्थ्यो ।
आमाले सुनाउनुभएको एउटा लोक कथा आज पनि मलाई याद छ । कथा हो, भक्तपुरको पुर्वमा अवस्थित ब्रम्हायणी मन्दिरको । आमाले भन्नुुहुन्थ्यो, धेरै वर्ष पहिले भक्तपुरमा एक गरिब महिला बस्थिन् अरे । मानी लिऔँ, उनको नाम थकु लक्ष्मी हो । सानै उमेरमा उनको विवाह भएको थियो । तर सन्तान जन्मेको केहि वर्षमै उनको श्रीमान बितेकाले उनी उमेर नपुग्दै दुधे बालकसहितको विधुवा बनिन् ।दुधे बालक लिएर के गर्थिन् थकुलक्ष्मी? उनीसँग आम्दानीको कुनै स्रोत थिएन । फेरि महिलालाई दिइने ज्याला कति नै हुन्थ्यो र ? काम नै मिलेको भएपनि दुधे बालकलाई छोडेर काममा जानु उनको लागि सजिलो थिएन । आमा भन्नु हुन्थ्यो, संसारमा सबैलाई स्थान छ। तर बच्चाको आमालाई स्थान हुँदैन । मेरो बच्चा बुद्धिले आम्दानीको स्रोत भनेको के हो भनेर सोध्थेँ । पैसा आउने ठाउ भनेर आमा जवाफ दिन्थिन् । म नबुझेपनि बुझेको स्वाङ पार्दै भन्थेँ, त्यसपछि के भयो, आमा? म आमाको छेउमा बसेर थकुलक्ष्मीको परिकल्पना गर्थेँ । सायद त्यो दुधे बालक मै पो थिएँ कि भनेर आमालाई सोध्थेँ । आमा मुन्टो बटार्दै कथा अगाडि बढाउनु हुन्थ्यो ।
आफू र बच्चाको हात मुख जोड्न थकुलक्ष्मीसँग कुनै उपाय थिएन । यसैले थकु लक्ष्मी हरेक दिन ब्रम्हायणी मन्दिरमा गई द्योपाला भई बस्थिन् । मन्दिरमा आउने भक्तजनले चढाएको प्रसाद नै उनी र उनको छोरो आशनारांको भोजन बन्थ्यो । कुनै दिन मँिन्दरमा प्रसाद नहुँदा आमा छोरा भोकै पर्थे । उसो त थकु लक्ष्मी काम नगर्ने स्वभावको पनि थिइनन् । कहिलेकाँही छिमेकीको घरमा वा खेतबारीमा काम हुँदा एक मात्र छोरो आशनारांलाई ढाडमा पछ्यौरीले बेरेर काममा जान्थिन् । काम गए वापत उनले एक माना चामल ज्याला पाउँथिन् । दिउँसो आमा र छोराले एक एक टुक्रा गहुँको पिठोको सुक्खा रोटी पाउँथिन् । प्राण बचाउने अर्को उपाय थिएन । चोरी गर्न मिलेन, अरुलाई छक्याउन मिलेन, अनि आफूसँग भएको शरीर बेच्न मिलेन । काम नहुँदा फेरि मन्दिरमा बस्थिन् । म भने आमालाई प्रतिप्रश्न गर्थे, “शरीर पनि बेच्न मिल्छ र ?”
एक दिन थकुलक्ष्मी बिहानको पहिलो प्रहरमै ब्रम्हायण्ीि मन्दिर पुगिन् । जसको संसारमा आफ्नो भन्ने कोहि हुँदैन, उसलाई मृत्युदेखि डर पनि नहुने रहेछ । भूत प्रेतमा विश्वास गर्ने त्यो समयमा उनले मन्दिर नपुग्दै हनुमन्ते खोलाको पुल वारि रहेको सत्तलमा मान्छेको चहल पहल महसुस गरिन् । सायद कुनै भोज भतेर भन्ने ठानेर होला उनले सत्तल बाहिरबाटै नेवारी भाषामा भनिन् ,
“बज्यै, मारी बाक्व फोने ।( बज्यै, आधा रोटी दिनुस् न ।)”
सत्तलमा मान्छेहरुको गाइँगुइ रोकिएन । तर कसैले झ्याल बाहिर पनि हेरेनन् । थकुलक्ष्मीले फेरि भनिन् ,
“बज्यै, मारी बाक्व फोने ।”
सत्तलभित्रबाट आवाज आयो – माथि भोज खान आउनुस् न । थकुलक्ष्मी खुशीले गदगद भइन् । फेरि भनिन् – भो माथि आउँदिन, थोरै खाना भए तलै ल्याएर दिनुस् न । हजुरलाई धर्म लाग्छ ।
सत्तलबाट तल कोहि झरेनन् । थकुलक्ष्मी आफैँ सत्तलमा रहेको काठको पुरानो भर्याङ चढ्दै माथि पुगिन् । माथि पुग्दा सबैजना सुकुल ओछ्याएर भोज खाइरहेको देखिन् । उनलाई पनि अरुसँगै सुकुलमा बस्न लगाइयो । हाकु पतासी लगाएकी एक महिलाले उनको सामुन्ने भोज राखी दिइन् । उनले सोच्न सकिनन् कि एकाबिहानै पनि भोज हुन सक्छ भन्ने । सायद उनले अघिल्लो दिनको बाँकी भोज सम्झिन् । उनले चारैतिर नियालेर हेरिन् । अहिलेको जस्तो बत्ती थिएन । पानसमा बत्ती बलिरहेको थियो । उक्त बत्तीले सत्तलमा कतै अँध्यारो त कतै उज्यालो थियो ।
अचानक उनको आँखा आफ्नो अगाडि रहेको लप्ते अर्थात सिन्काले उनेको सालको पातमा पुग्यो । उक्त पातको बीच भागमा घरमै कुटेको चिउरा र चिउराको वरिपरि अण्डा, गेडागुडी, आलु, सब्जी, मूलाको अचार, फर्सीको टुक्रा , मासु आदिले घेरेको थियो । काँसको थालमा फिज सहितको रक्सी थियो । भोकाएकी थकुलक्ष्मीलाई खान हतार भयो ।उनले खानको लागि आफ्नो दाहिने हात के अगाडि बढाएका थिए, उनले चाल पाइहाले कि पातको थालमा त मान्छेको औँला पो रहेछ । थकुलक्ष्मीको डरले थुरथुर कामिन् । उनले डराउँदै चारैतिर हेरिन् , भोज खानेहरु मान्छे थिएनन् । कसैका लामा लामा दाह्रो मुख बाहिरैसम्म निस्केका थिए भने कसैका आँखा भैँसीको जस्तै ठूला थिए । तिनीहरुको अघि पातको थालमा मान्छेको मासु थियो , कसैकोमा हात त कसैकोमा खुट्टा । कोहि काँसको थालमा आलो रगत पिउँदै थिए । आमाको कुरा सुनेर म पसिना पसिना भएँ ।
मैले आमालाई कथाको बीचमै रोकेर प्रश्न गरेँ, “मान्छेको मासु खाने भूत प्रेत पनि हुन्छ र?” उहाँले “मस्या” भन्दै थाहा नभएको जनाउ दिइन् ।
थकुलक्ष्मी डरले त्यहाँबाट भाग्न चाहन्थिन् । तर कसैले उनलाई कठालो समातिरहेको जस्तो महसुस भयो । केहि सीप नलागेर उनले भनिन्, मलाई शौच गर्नु छ । त्यसपछि भोज राखिदिने महिला(ब्रम्हायणी अजिमा) ले उनको कम्मरमा पटुकाले बाँधेर झ्यालबाट बाहिर झारिन् र त्यहाँबाट भाग्न इसारा गरिन् । सत्तलबाट आवाज आउँथ्यो, तल पुग्नुभो कि? थकुलक्ष्मी भन्थिन् – छैन । वास्तवमा थकुलक्ष्मी तल पुगेर पनि देगइना पुगिसकेकी थिइन् । अन्तमा पटुका फुकालेर दत्तात्रयतर्फ भागिन् । म पनि डराएर आमाको शरीरमा लिसोझैँ ताँसिएँ । आमाको न्यानोपनले डर बिस्तारै हराउँदै गयो । आमाले भन्दै जानुभयो, म सुन्दै गएँ ।
डरले कामेकी थकुलक्ष्मी घर पुग्दा थला परिन् । उनको उपचार गर्ने कोहि पनि थिएनन् र उपचारको लागि औषधी किन्ने पैसा पनि थिएन । चौथो दिनमा थकुलक्ष्मीले संसार छोडिन् । उनको लास उठाउन आउने आफन्तहरुलाई उनको मृत्यु कसरी भयो भन्ने बारे केहि थाहा थिएन । तर थकुलक्ष्मीले लगाइराखेको लुगामा हेर्दा भने अचम्ममा परे । कारण, उनको लुगामा सुनका कणहरु ताँसिएका थिए । पछि के भयो, थाहा भएन । किनकी आमाले कथा सक्नै लाग्दा म डरले पसिना पसिना भई सुतिसकेको थिएँ ।
आज फेरि उही कथा सम्झिरहेछु । आमाले नजानिदो तरिकाले उलिचाया बाखँ थुलिचामार्फत वर्ग संघर्षको कथा सुनाउनुभएको कुरा आज बल्ल बुझ्दैछु। कथामा देखाइएका मान्छेको मासु खाने लामा दाह्रा भएका भूत,प्रेत, पिसाच अरु कोहि थिएनन्, तत्कालीन सामन्ती समाजमा जनताको खून पिउन सिपालु शोषक सामन्त रहेछन्, जसले थकुलक्ष्मीजस्ता निर्बल महिलाको ज्यान लिएका रहेछन् । जनतालाई चुस्ने शासकलाई सिधा भन्दा कथाकार पनि मारिन सक्ने भएकाले लोक कथा बनाएर भन्ने गरेको कुरा अहिले आएर बुझ्दैछु । उलिचाया बाखँ थुलिचाका वास्तविक थकुलक्ष्मीहरु डराएर बसिरहेका छन् । म प्राय जसो ब्रम्हायणी मन्दिरमा दर्शन गर्न गइरहन्छु, तर आधुनिक युगमा पनि विगतका भूत, प्रेत, पिसाचलाई सम्झेर झस्किरहन्छु । विगतमा रातको समयमा मात्र देखिने पिसाचहरु आज दिउँसै सत्ता र सत्ता वरिपरि नाङ्गो नाच नाचिरहेका छन् । अब थकुलक्ष्मीलाई बचाउन ब्रम्हायणी अजिमा मात्र आएर पुग्दैन , बरु थकुलक्ष्मीलाई नै भूत प्रेतविरुद्ध लड्न सिकाउनु पर्ने भएको छ।


















