भक्तपुर, असोज ५। “जनता बाँचे भाषा बाँच्छ” भन्ने मूल मन्त्र राखी यही आउँदो असोज २८ र २९ गते हुने दुईदिने चवालीसाैं नेपालभाषा साहित्य सम्मेलनको तयारी स्वरुप शनिबार च्व: साफु ब्वनेज्या कार्यक्रम सम्पन्न भयो ।

संघीय सांसद तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले शारीरिक तथा बाैद्धिक मजदुरको हितमा काम गर्ने साझा मञ्चको रूपमा साहित्य सिर्जना गर्दा माैलिक भाषासँगै आदररार्थी र शब्द चयनमा ध्यान दिनुपर्ने सल्लाह दिँदै साम्राज्यवादले देशको बजार र खनिज कब्जा गरी देशलाई कठपुतली बनाउने नीतितर्फ सजग हुनुपर्ने बताउनुभयो ।
उहाँले पुँजीवाद व्यवस्थामा जनताको स्वास्थ्यप्रति खेलबाड गर्न विषादी र रसायनयुक्त खाद्यान्नको प्रयोगमा चनाखो हुनुपर्ने बताउँदै काठमाडौंको कमजोर भूसतह भएकोले देशको समानुपातिक विकासमा जोड दिनुभयो ।
लेखक तथा निर्णायक आशराम वैद्यले नाटक तथा ख्यालमा विचारपक्षलाई समयसापेक्ष रूपमा जनतासमक्ष सकारात्मक सन्देशसहित सरल रूपमा प्रस्तुत गर्नुपर्ने बताउँदै समीक्षा गर्नुभयो ।
लेखक तथा निर्णायक राजेन्द्र श्रेष्ठले तःमुंज्यामा प्रस्तुत हुने नाटक तथा ख्यालमा उद्देश्यअनुरुप विषयवस्तु र समय सान्दर्भिक हुनुपर्ने समीक्षा गर्नुभयो ।
सल्लाहकार ज्ञानसागर प्रजापतिले नाटक ख्यालको संवादको बीच कलाको प्रस्तुतिसँगै माैलिक उखान टुक्कको प्रयोग गर्न जोड दिनुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष आशकुमार चिकंबञ्जारले मञ्चनयोग्य विषयवस्तु समेट्दा काैतुहलता र श्रृङ्गारितामा ख्याल गर्न सुझाव गर्नुभयो ।
चवालीसाैं नेपालभाषा तःमुंज्याका अध्यक्ष तथा च्व: साफु ब्वनेज्या कार्यक्रमका सभापति कृष्णभक्त लवजूले नाटक, ख्याल, गीत तथा संगीत देश र जनताको समस्यालाई देश र जनता समक्ष प्रस्तुत गर्दा दीर्घकालीन रूपमा नेपालभाषाको कार्यक्रम निरन्तरता हुने बताउँदै दुई दिने तःमुंज्यालाई सफल बनाउन विभिन्न समिति तथा उपसमितिबाट भएको गतिविधिको बारेमा जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा दर्ता भएका २३ वटा नाटक, गीतिनाटक, ख्याल, गीत तथा भजन मध्ये १७ वटा सांस्कृतिक प्रस्तुतिको स्क्रिप्ट वाचन भएको थियो ।
उक्त कार्यक्रममा सांस्कृतिक समितिका संयोजक रामकृष्ण प्रजापतिले स्वागत मन्तव्य राख्दै सेन्सरमा मात्र स्क्रिप्ट करेक्सन गर्दा कण्ठ भएको बार्तालापहरु सच्याएर प्रस्तुति गर्न गार्हो हुने र तःमुज्यासंगको मेल नखाने, विचार नमिल्ने, जनता भड्काउने, द्वन्द्व सृजना हुने भएभने त्यसलाई प्रस्तुति नगराउँदा महिनौं मिहिनेत गरेको समय खेर जाने र खर्च सबै खेर जाने भएको समय मै स्क्रिप्ट सच्याउन पाए त्यस्ता समस्या नआउने बताउनुभयो । उहाँले तःमुज्यामा प्रस्तुत हुने सांस्कृतिक विधाहरु स्तरिय बनाउन पनि यो स्क्रिप्ट वाचन कार्यक्रम गरेको बताउनुभयो ।


















