भक्तपुर ।
नेवार समुदायका मानिसले मनाउने चाडपर्वहरुमध्ये एक गथांमुग चर्हे पनि एक हो । यसलाईस्थानीय भाषामा यसलाई गठेमङ्गल पनि भन्ने भनिन्छ । हरेक वर्ष नेपाल सम्वतको ९ औं महिना दिल्लामा, दिल्लागाः चर्हेको दिन मनाइने यस पर्व प्रायः हरेक नेवाः बस्तिमा मनाइन्छ। प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।
यस दिन दोबाटो तथा चौबाटोमा नर्कट बाँस तथा पराल वा छ्वालीको तीन खुट्टे मानव आकृती जस्तै बनाई ठड्याइन्छ। यसरी बनाइएका गठेमंगलको दुवै कानमा घण्टा झुण्ड्याइएकको भयानक अनुहार लेखिएको मुखाकृतिको मुकुण्डो झुण्ड्याउने गरिन्छ । प्रत्येक टोलमा विभिन्न रुप र आकारका गठेमंगल अजङ्गगको आकृति बनाई साँझतिर राँकोबाली जलाउन लाने परम्परा रहेको छ । विभिन्न ठाउँहरुमा विभिन्न तरिकाले यस पर्व मनाउने गरिन्छ । कतै पुत्ला घिसार्दै लगिन्छ भने कतै तानेर लगिन्छ । कतै कतै पिट्ने गरिन्छ भने कतै जलाउने पनि गरिन्छ ।
गठेमंगललाई घिसारिदै गरेकाे भिडियाे हेर्नुहाेस् ।

भूतप्रेत पन्छाउने पर्व भनिए पनि सरसफाइको प्रतीकका रूपमा मनाइने यो पर्व विशिष्ट रहेको संस्कृतिविद्हरूको भनाइ छ। यस दिन राक्षसको पुत्ला बनाई जलाइनुका साथै भूत, प्रेत र पिशाच आदिलाई तन्त्रोक्त विधिले बिदा गर्ने गरिन्छ। यस दिन भूतप्रेतको पूजा पनि गरिन्छ।

यस दिनमा फलाम वा तामाबाट बनेको औँठी लगाउने चलन पनि रहेको छ गथांमुगः लाई छुवाएर तामा तथा फलामको औँठी लगाएमा भूतप्रेतले दुःख नदिने जनविश्वास रहि आएको छ । साथै गठेमंगललाई जलाइसकेपछि गाइजात्रामा प्रयोग हुने बोल घिंताङघिसीको तालमा बाजा बजाएर परिक्रमा गर्ने चलन पनि रहदै आएको छ ।
सोही दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरु गरिन्छ। नेवारी समुदायले गाईजात्राका बेला प्रदर्शन गर्ने विभिन्न नाच, व्यङ्ग्यले भरिपूणर् नाटकको प्रशिक्षणसमेत यस पर्वपछि सुरु गरिन्छ। भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्यको शुभारम्भ गरिन्छ। साथै बोक्सी आदी कुविद्या सिक्नेहरुले पनि पीठ र मसानघाट गई आ आफ्नो विद्या साधना गर्ने प्रचलन रहेको छ ।
नेवारी समुदायमा सिठी नखःलाई वर्षको अन्तिम पर्वका रूपमा लिइन्छ भने गथांमुगः पर्वलाई पहिलो पर्वको रुपमा लिइन्छ ।


















