भक्तपुर, श्रावण १८ ।
भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले हातमा सीप भएको व्यक्ति भोको बस्न नपर्ने बताउँदै योग्य र सक्षम व्यक्तिले सम्मानित जीवनयापन गर्न सक्ने बताउनुभयो । उक्त भनाइ भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित हाउस वायरिङ र आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा राख्नुभएको हो ।

उहाँले जीवन गौरवपूणर् र सार्थक बनाउन व्यक्तिमा कुनै न कुनै सीप हुन आवश्यक भएको बताउँदै उहाँले युवाहरुलाई देश र जनताको पक्षमा राजनीति गर्न प्रेरित गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा वर्षेनी साढे १३ अर्ब खर्ब जति रेमिट्यान्स भित्रिन्छ । नेपाली युवाहरुले खाडी मुलुकमा गएर रगत र पसिनासित साटेको पैसा हो । नेपालको अर्थतन्त्र त्यही रेमिट्यान्सकै भरमा चलिरहेको छ ।’

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराइले भक्तपुर नपाले सीपमूलक तालिमहरु सञ्चालन गरी युवाहरुलाई दक्ष बनाउने काम गर्दै आएको बताउँदै आफूमा भएको ज्ञान र सीप देश विकासमा उपयोग गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा आधारभूत हाउस वायरिङ तालिमका प्रशिक्षक पुन्यराम बासी, आधारभूत कम्प्युटर तालिमका प्रशिक्षक रमेश प्रजापति, प्रशिक्षार्थीद्वय रामकृष्ण सुवाल र कविता कवांले पनि बोल्नुभएको थियो ।

उक्त तालिममा हाउस वायरिङतर्फ २६ र आधारभूत कम्प्युटर तालिममा ६४जना प्रशिक्षार्थीले तालिम लिएका थिए ।


















