भक्तपुरको केन्द्रमा ङातापोल मन्दिरको अगाडि एउटा दबु छ । दबुमा एकाविहानै देखि परेवाहरुको रजगज चलिरहेको छ । चारा खान पाएर परेवाहरु रमाइरहँदा म भने ङातापोलको माथिल्लो सिँढीमा बसेर प्रकृतिको सुन्दर दृश्य अवलोकन गरिेरहेको छु । बेला बेलामा भैरवको मन्दिरमा बज्ने शङ्ख र घण्टीको ध्वनिले वातावरण सुमधुर छ । अनि डमरुको आवाजले मनमा थप उर्जा मिलेको छ । दबुको एक कुनामा गाढा हरिया रंगका खर्बुजाहरु बेच्नका लागि राखिएका छन् । कुनै खर्बुजा काटेरै भित्रका राता भाग देखिने गरी सजाइएका छन् ।
म कहिले ङातापोलमा भएका मनोरम कलाकृतिप्रति मोहित हुन्छु, त कहिले परेवाहरु भुर्रर्र उडेको दृश्यले सम्मोहित हुन्छु । यसरी रमाइरहँदा अचानक मेरो ध्यान तल्लो सिँढीमा रहेको दुई पहलमानको मूर्तिमा आकर्षित भयो । पहलमान जय मल्लको शीरमा अचम्मको चरो बसिरहेको थियो । त्यो चरो हेर्दा गौँथली जस्तो देखिन्थ्यो । तर शरीरको रङ्ग गौँथलीभन्दा भिन्न थियो । तत्कालै मैले तस्बीर मोबाइलमा कैद गरेँ ।
उक्त चरा ८ देखि १२ से.मि. लामो देखिन्थ्यो । सायद पखेटा फिजाउँदा १४÷१५ से.मि.जति लामा देखिन्थ्यो । चुच्चो एकदम लामो, कालो र तल घुमेको थियो । उज्यालोमा चम्किलो निलो वा हरियो देखिन्थ्यो । स्तनको छेउमा सुन्तला रंगका टुक्राहरु छन् । मनमा खुल्दुली भयो ।मैले चरोलाई नियालेर हेर्न थालेँ । चरोको मुखमा सानो किरा थियो । मस्टिष्कलाई केन्द्रिकृत गरी हेरिरहँदा त्यो चरोमा हतास, डर र भय देखिन्थ्यो । मैले वरिपरि हेरेँ । त्यो चरो जस्तै देखिने अरु थुप्रै चराहरु ङातापोल अगाडिको दबुमा यताउति गरिरहेका थिए । परेवाहरु नयाँ चरालाई देखेर छक्क परी हेरिरहेका थिए । मनमा खुलदुुली बढ्दै गयो । ती नयाँ चराहरु पाहुना चराजस्ता लाग्न थाले ।
तर हेर्दा हेर्दै सोचे भन्दा अलग दृश्य मेरो आँखामा कैद भयो । त्यो गौथली जस्तो लाग्ने चराका प्वाँखहरु निस्केका देखिन्थे । कसैको जीउमा कुनै व्याधाले गुलेलीले ताकेझै लाग्ने खालका आला घाउहरु देखिन्थे । होइन, होइन गुलेली हुँदै होइन । गोलीका छर्राहरु थिए । कल्पनामा दुब्दै गर्दा बारुदको गन्ध पनि महसुस भयो । अहँ, यी चराहरु नेपालका रैथाने चरा हुँदै होइनन् । कुनै समुद्र पारिको देशबाट नै आएको हुनुपर्छ भन्ने लाग्यो । आफूलाई रोक्न सकिनँ । ती चराहरु भएतिर नजिकबाट हेर्न गएँ । उनीहरुका आँखामा आँसु र रगत सँगै बगिरहेको देखेँ । कसैको एउटा प्वाँख थिएन, त कसैको एउटा खुट्टा । तीमध्ये एउटा चराको खुट्टामा फलामको साँचो झुण्डिएको थियो । अर्कोको खुटामा कागजको टुक्रो थियो । टुक्रोमा नाक्बा ल्ब्प्द्यब् भनेर लेखिएको थियो । अनि कुनैको खुटामा सानो रुमालले बेरिएको थियो , जसमा लेखिएको थियो एबभिकतष्लष्बल पभााष्थभज । बुझ्न गा¥हो लागिरहेको थियो ।
यस्तो लाग्थ्यो, कुनै युद्ध भूमिबाट ज्यान जोगाएर नेपाल छिरेका हुन् । होइन, होइन, कुनै सन्देश लिएर आएका हुन् । म सोच्न विवश भएँ , आखिर तीखा आवाजमा गाउनमा माहिर देखिने ती चराहरु को हुन् र किन आएका हुन् ?किन हाम्रा परेवाहरुसँग मौनताको अन्र्तराष्ट्रिय भाषामा केहि भनिरहेका छन् ? तर हाम्रा परेवाहरुको ध्यान त्यो गौँथलीजस्ता देखिने चराहरुमा जाँदै गएन । किनकी यिनीहरुलाई घुरघुर मात्र गर्न आउँछ, खुला आकाशमा देश परदेश भुर्रर्र गरेका छैनन् । गरेकै भएपनि अन्र्तराष्ट्रिय पन्छी भाषाबारे अवगत छैनन् । यदि भएको भए यसरी पाहुना लागेका आगन्तुक चराको बाध्यता र विवशताको कथा नसुनी बस्ने थिएनन् ।
मन व्याकुल भयो । कल्पनाको संसारबाट बाहिर आई गुगलमा खोजेँ । त्यो त सन् २०१५ मा घोषणा गरिएको प्यालेस्टाइनको राष्ट्रिय सुनौलो चरा अर्थात प्यालेस्टाइन सनबर्ड पो रहेछ । उच्च तापक्रम र सुख्खा हावापानी भएका क्षेत्रमा समुद्री सतहदेखि ३२०० मिटरको उचाइमा प्यालेस्टाइन, इजरायल र जोर्डन मात्र नभई साउदी अरेवियादेखि यमन र ओमानमा समेत उडान भर्ने ती प्यालेस्टाइनियन सनबर्ड (Cinnyris osea) को एक सानो पासेरिन चरा परिवार मध्य पूर्वबाट कसरी नेपाल आए भन्ने मैले बुझ्नै सकिनँ । अनि मैले यो पनि बुझ्न सकिनँ कि उडान भर्दा कति संख्यामा आएका थिए र नेपालमा कति चरा आइपुगे ? किनकी आजभोलि त्यो प्यालेस्टाइन सनबर्ड उड्ने प्यालेस्टाइनी आकाशमा चराहरु उड्न निषेध छ । प्यालेस्टाइनको मुटुमा बस्ने प्राकृतिक सौन्दर्य र इजरायलविरुद्ध प्रतिरोधको प्रतीक त्यो चरा अब खुलेर उड्न सक्ने स्थिति छैन । न त प्यालेस्टाइनी भूमिमा बिरुवाहरुको प्रजननमा सघाउ पु¥याउन परागसेचन कार्य गर्न सहज छ । प्रत्येक दिन प्रत्येक रात इजरायली दुष्ट सेनाबाट परिचालित गोला, बारुद र मिसाइलले सनबर्ड चराको परिवार मात्र नभई सम्पूर्ण प्यालेस्टाइनी जनतालाई प्यालेस्टाइनबाट भगाउने वा एकै चिहानमा निमिट्यान्न पार्ने अठोट गरेको छ । त्यो प्यालेस्टाइन सन्बर्डको नामै फेरेर अरेन्ज बर्ड अर्थात सुन्तला चरा राख्न खोजेको तथ्यले प्यालेस्टाइनलाई विश्व मानचित्रबाट नै हटाउन खोजेको कुरा संसारले बुझेको थियो । तर त्यो दुष्प्रयास सफल भएन । त्यसकारण मलाई लाग्यो, ङातापोलको दबुमा आइपुगेको त्यो प्यालेस्टाइनियन सन्बर्डले इजरायल लगायतका साम्राज्यवादी दुष्ट शक्तिसँग लड्न अन्तर्राष्ट्रिय सहयोगको लागि नेपाल आइपुगेको हो । नेपाली परेवाहरुले शान्तिको सन्देश लिएर त्यो प्यालेस्टाइन चरा भएको देशमा पुग्न सक्ला नसक्ला तर निर्दोष प्यालेस्टाइनियन सन्बर्डको पक्षमा स्वतन्त्रताको आवाज नउठाएमा इतिहासले धिक्कार्ने स्पष्ट छ ।


















