भाइटिका सकेको पनि धेरै दिन भयो । म सुम्निमासँग कलेज जान थालेको पनि धेरै दिन भइसक्यो । हामीबाट हाँसी मजाक गर्दै धेरै दिन सँगसँगै कलेज जाने आउने भइरहेको थियो । कहिलेकाँही म सुम्निमाको घरमा जान्थेँ । कहिलेकाँही उनी आउँथिन् । हर्षिका दिदीले यसलाई राम्ररी नै लिइरहनुभएको थियो । तर किन किन मैले अनामिकाको बारेमा प्रश्न सोध्न सकिरहेको थिएन । न त सुम्निमाले नै विषयको उत्थान गर्न चाहिन् ।
मलाई लाग्यो, मेरो कथा त अपूरो नै हुने भयो । त्यसैले एक दिन मैले हर्षिका दिदीलाई नै भेटेर कुरा गर्ने निधो गरेँ । म र सुम्निमा सदाझैँ उनको घरमा पुग्यौँ । सुम्निमा चिया पकाउन गइन् । मैले भने, कफी खानुपर्ला आज । म त थाहै नपाई परिवारको सदस्यले झै बोल्ने भइसकेछु । सुम्निमाको कोठामा चुरोटको गन्ध महसुस भयो । ढोकाको छेउमा चुरोटको ठुटा देखेँ । मलाई अचम्म लाग्यो । सुम्निमाले चुरोट खाएकी त पक्कै होइन । हर्षिका दिदी कोठामा आइन् । मैले तिनको हातमा राम्ररी कहिल्यै हेरेको थिइनँ । आज मैले चुरोटको दाग देख्न पुगेँ । उनी अगाडि आउँदा ह्वास्स गन्हाएझै लाग्यो ।
अरुबेला पतर पतर बोलिरहने हर्षिका दिदी मौन थिइन् । कोठामा छिरेर बोल्दै नबोली झ्यालतिर गइन् र बाहिर हेर्न थालिन् । मलाई असहज महसुस भयो । मैले मौनतालाई चिर्दै सोधेँ, हर्षिका दिदी के भयो? उनी बोल्दै बोलिनन् । एकक्षणमा सुम्निमा तल झरिन् । तीन कप कफी टेबुलमा राखिन् । कफी विशेष थियो । आफ्नै हातले कफीको पेस्ट बनाएर दुध कफी तयार गरेकी थिइन्, सुम्निमाले । कफी हेर्दैमा खाऊँ खाऊँ लाग्यो । तर हर्षिका दिदीको भावभंगी देख्दा घर जाऊँ जाऊँ लाग्यो ।
एकक्षणमा सुम्निमाले शान्त वातावरण भंग गर्दै भनिन्, भोलि दिदी मलेशिया उड्दै हुनुहुन्छ । त्यसैले अलि भावुक हुनुभएको हो ।
मैले सोधेँ, एक महिना सकियो र? बल्ल हर्षिका दिदीले मुख खोलिन्, सकियो । सुम्निमाको ख्याल राख्नू । उनी भोलिदेखि कोठामा एक्लै हुन्छे । म पनि विदेशमा पुगिसक्छु ।
मसँग बोल्ने शब्द थिएन । तापनि भनेँ, उनी बच्चा होइनन् । आफ्नो ख्याल आफैँ गर्न सक्छिन् । भन्ने मन त थियो। हुन्छ, परेको बेला म छु नि । तर भन्न सकिनँ । हर्षिका दिदीले सुम्निमालाई आफूसँगै राखिन् र भनिन्, केहि आपत आइलागे अरुणलाई सम्झनू । मैले त उनलाई आफ्नै भाइ मानेको छु ।
म थाहै नपाई दिदी बहिनीको बीचमा उभिन पुगेँ । अनामिकाको कथा लेख्दै गर्दा अरु कसैको जीवनमा म आज जति नजिक कहिल्यै भएको थिएन । हर्षिका दिदीको कुरा सुनेर सुम्निमा निशब्द भइन् ।
मैले बीचमै भनेँ, विदेश नजाँदा हुन्न र? यतै पनि त केहि गर्न सकिन्छ नि? मैले पनि अष्ट्रेलिया जाने सपना छाडिसकेँ । सुम्निमा मेरो कुरा सुनेर छक्क परिन् । मैले आफ्नो अष्टे्रलिया जाने योजनाबारे कहिल्यै भनेको थिएन र बताउने मौका पनि पाएको थिइनँ ।
हर्षिका दिदीले भन्नुभयो, सकेको भए त किन बाहिर जान खोज्थेँ र? अर्काको नोकर बन्न त कसको मन हुन्छ ? नेपालीहरु कहिले रैती, कमैया र दास बने, कहिले लाहुरे बने, बहादुर थिए अनि ब्रिटिस गोर्खा बने । थाहै नपाई भाडाका सिपाही बने । अफ्रिकनहरु नचाहेर पनि अमेरिकामा दास बने । आज हामी पैसा तिरेर दास बनिरहेछौँ ।
सबै थाहा हुँदा हुँदै पनि किन विदेश जाने त? मैले सोधेँ ।
जीवन बाँच्नलाई सास भएर पुग्दैन, जीवन जीउने आश पनि चाहिन्छ । गाउँमा वृद्ध आमा बुबा छोराछोरीको आशामा छन् । हामी यहाँ काम नपाएर हल्लिरहेका छौँ । ती काँधहरुलाई भार बोकाइरहनु पापजस्तो लाग्छ । अनि त म विदेश गएको थिएँ ।
अनि विदेशमा गएर तिनीहरुको काँध हलुका भो त? मैले थप प्रतिप्रश्न गरेँ । हर्षिका दिदीको मुहारमा हर्ष हरायो ।
उनी फेरि भावनामा डुब्न थालिन्, थाहा छैन । तर नेपालमा बस्ने मन पनि छैन । किन छैन, थाहा छैन ।
मैले हर्षिका दिदीको आँखामा पिडाहरु चलमलाएको देखेँ । सुम्निमाको मुहार पनि मलिन थियो । वातावरणलाई थप मलिन बनाउन मन लागेन । अनि मैले कुरालाई मोड्न खोजेँ, दिदीको लव पर्या छैन कि कसो? परेको भए त किन विदेश जानुहुन्थ्यो ?
मेरो जिस्काइले वातावरणमा कुनै परिवर्तन ल्याएन । हर्षिका दिदीको आँखामा आँसु थिएन,तर हाँसो पनि थिएन । गम्भीर भई भनिन्, भाइ म अहिले भन्न असमर्थ छु । मलेशिया पुगेपछि मेसेज पठाउँला । हुन्न र?
सुम्निमाले बजारबाट कुखुराको मासु किनेर ल्याएकी रहेछ ।उनी भान्सामा गइन् । हर्षिका दिदी टोलाइरहेकी थिइन् ।सुम्निमाले भान्सामा बोलाइन् । तर मलाई घर जानू नै श्रेयस्कर लाग्यो । मेरो मनस्थितिलाई देखेर सुम्निमाले भान्सामा तानेर लगिन् ।
मैले भनेँ,म कुखुराको मासु खासै खाँदिन, घर जान्छु । तर सुम्निमाले मान्दै मानिनन् । उनी भान्सामा व्यस्त रहिन् । म मोबाइलमा । प्लेस्टोरबाट चेस डाउनलोड गरी खेल्न थालेँ । तर मनमा अर्कै गोटी चलिरहेको थियो । केहिबेरमा हर्षिका दिदी पनि भान्सामा आइन् । अहिले भने उनी शान्त थिइन् । उनी सुम्निमालाई सघाउन लागिन् ।
मैले लसुन छोडाएँ, सुम्निमाले प्याज काटिन् । अनि हर्षिका दिदीले मिक्सर चलाइन् । मिक्सर बिग्रिएको रहेछ, क्वार्र आवाज आयो । एकक्षणमा प्रेसर कुकरले सिठी मार्यो । खाना पाकिसकेछ । हामी सबेैले सँगै खाना खायौँ ।खाना खाँदै गर्दा सुम्निमाले भनिन्, मसला त ठिक छ नि ?
मैले जिस्काएँ, अब रेस्टुरेन्ट खोल्ने हो, कुकु चाहिँ तिमीलाई बनाउने हो । सुम्निमाले भनिन्, मैले मान्नु पर्यो नि ।
हर्षिकाले थपिन्, धन्दा मान्नु पर्दैन, पकाउने चै मैँ खोजी दिउँला । हाँसो छुट्यो । अब भने रमाइलो हुन थालेको थियो ।
खाना खाई फेरि हामी गफिन थाल्यौँ । हर्षिका दिदी फ्लाइटका लागि सामान मिलाउन थालिन् । मैले पनि थोरै सघाएँ । भोलिपल्ट दिदीलाई पुर्याउन जानुपर्ने भयो । मलाई कुनै आपति थिएन । तर अनामिकाको बारेमा जान्ने इच्छा अझै अधूरै रह्यो ।
सुम्निमा, हर्षिका र म (भाग-८)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















