घरमा आमा चिन्तित हुनुहुन्छ । थाहा छैन, किन चिन्तित भइन् । आफू बिहान उठ्दा आमा बुबासँग मेरो बारे गुनासो गर्दै हुनुहुन्थ्यो । सायद घरमा अस्ति राति ढिला आएकाले हो कि, आमा अलि रिसाउनुभए झै लाग्छ । बुबाले मेरो कोठामा आएर सोध्नुभयो, बाबु सञ्चै त छौ नि? मैले सञ्चै रहेको बताएँ । कलेज पढ्दै गरेको छोराको दैनिकी परिवर्तित देखेर हो कि, बुबाले चाहिँ सञ्चो मान्नु भएन ।
चिया खाँदै गर्दा फेरि आमाले सोध्नुभयो, बाबु, तँ डुब्लाउँदै गा’छस् । के भयो भन् । बिदेश जान नपाएर हो कि अरु कुनै कारणले ?
मैले भनेँ, होइन आमा म ठिकै छु । मलाई अब विदेश जानु छैन ।
मेरो जवाफ सुनेर आमा छक्क पर्नुभयो । कलेज ड्रेस लगाएर बाहिर निस्किएँ । विहान ६ः१५ बजे भइसकेको थियो । कलेज पुग्दा ढिला भइसकेछ । कलेजको गेटभित्र छिर्न नि पाइएन । गेट बाहिर एउटा पाटी थियो । त्यस पाटीमा बस्दै गर्दा पाटीको अर्को छेउमा एउटी १९/२० वर्षकी केटीलाई देखेँ । मलाई अस्ति ढोका बन्द गर्न आउने बहिनीजस्तै लाग्यो । नजिक जाँदा चाल पाएँ, हो रहेछ । उनी पनि मुसुक्क हाँसिन् । मैले नाम त सोध्नै पाएको थिइनँ । तापनि बोल्न मन लाग्यो र सोधेँ, तपाई हर्षिकाको बहिनी हो ।उनले हो भनिन् । म पनि उनलाई बोल्न पाउँदा खुशी भएँ । कलेज ढिला आउने अरु साथीहरु आफ्नै धूनमा थिए । अर्को कक्षा सुरु हुन अझै ४५ मिनेट बाँकी थियो । उनीसँग गफिन नै उचित लाग्यो।
त्यसैले मैले भनेँ, म अरुण श्रेष्ठ, तपाईकै छिमेकी । म बि.एस्.डब्लु प्रथम वर्ष पढ्दै छु । अनि तपाई नि?
उनले मुख खोलिन्, म सुम्निमा । बि.बि.एस पढ्छु । मलाई तिमी नै भन न । तपाई भन्दा कस्तो कस्तो लाग्छ । म तपाईलाई पहिलेदेखि नै चिन्थेँ । तपाई अनामिका कथाको लेखक होइन र ? मैले तपाईको कथा पढेकी छु ।
उनको कुरा सुनेर मलाई लाज लाग्यो । किनकी मलाई अनामिकाको जीवनबारे खासै जानकारी नै छैन । म कसरी लेखक हुन सक्छु ? मलाई अहम् देखाउने मन छैन । त्यसैले आफू सामान्य विद्यार्थी मात्र भएको र लेखक नभएको बताएँ । अनि मलाई पनि तिमी भनेर सम्बोधन गर्न आग्रह गरेँ । मेरो कुराले उनी खुशी भइन् । अनि म पनि खुशी भएँ । मलाई त अनामिकाबारे धेरै कुरा जान्न मन थियो । तर सकिरहेको थिइनँ । अब भने सजिलो हुने महसुस भयो । किनकी एकजना महिलाको पिडा महिलाले मात्र बुझ्न सक्छ । कुरा गरिहँदा कलेजको दोस्रो घण्टी बज्यो । हामी कलेज भित्र छिर्यौ । उनी आप्mनो कक्षातिर लागिन्, म आफ्नो कक्षातिर ।
साँझ सुर्यविनायक चोकमा तरकारी किन्न जाँदा फेरि मैले सुम्निमालाई भेटेँ । उनी पनि तरकारी किन्दै थिइन् । नजिक गएर सोधेँ, तिमी पनि तरकारी किन्न आएकी?उनी फिसिक्क हाँसे । काउली किन्न लागेकी रहिछिन् । कुरा गर्ने मेसो मिल्यो ।
काउली किलोको कति हो, साहुनी? मैले तरकारी बेचिरहेकी साहुनीलाई सोधेँ । मैले प्रश्न तेस्र्याइरहँदा उनी काउली झोलामा राख्दै आलु छान्नतिर लागिन् । तरकारीको भाउले आकाश छोइसकेछ, उनी गुनासो पोख्दै थिइन् ।
मैले सोधेँ, तिमी कति बजे कलेजका लागि निस्कने गछ्यौ?
उनले भनिन्, विहान ६ः०० बजे । निस्कदा कल गर्छु नि हुन्न?
मेरो नम्बर त छ नि? मैले जिस्किदै थपेँ । मेरो हातको मोबाइल खोसी आफ्नो नम्बरमा डायल गरिन् । अनि फेरि भनिन्, मसँग कलेज जाने भए मेरो एउटा सर्त छ । मान्नुहुन्छ भने मात्र म तपाईलाई कल गर्छु, नत्र गर्दिनँ ।
मैले सोधेँ, कस्तो सर्त? तिनले अनामिकाको बारेमा कथा सुनाउनुपर्ने बताइन् । म छक्क परेँ । मेरो अनामिका नामको अपूरो कथाले तिनी पनि प्रभावित भएकी रहिछिन् । मैले आफूले थाहा भएको कुरा बताउने कुरा बताएँ । तिनी खुशी भइन् । सिल्की कपाललाई मिलाउँदै तिनी बिदा भइन् । मैले नजानिदो तरिकाले उनलाई पछाडिबाट हेरिरहेँ । एकक्षणमा बजारबाट अलप भइन् । म पनि आफ्नो बाटो लागेँ ।
भोलिपल्ट आफू व्यूझेकै थिएन, मोबाइलमा घण्टी बज्यो । वास्ता गरिनँ । निन्द्राजति प्यारो संसारमा अरु के हुन सक्छ र? फेरि मोबाइलमा अर्को घण्टी बज्यो । यसो मोबाइलमा हेरेको विहानको ६ः ०० बजिसकेको रहेछ । सुम्निमाको नम्बरबाट १० मिसकल आइसकेको रहेछ । म हस्याङ फस्याङ गर्दै कलेज जान तम्सिएँ । बाहिर बाटोमा सुम्निमा मलाई कुरिरहेकी थिइन् । मलाई देख्ने बितिकै फनक्क फन्किन् । उनी मसँग रिसाएकी थिइन् ।
मैले उनी भएनेर पुगेर भनेँ, हाइ । उनले जवाफ फर्काइनन् । फेरि थपेँ, सरी, आइम लेट टुडे ।
उनी खित्का छाडेर हाँसिन् । उनको हाँसो मिठास थियो । हामी गफिदै कलेज जाँदै थियौँ । बाटाभरि उनी मात्र बोलिरहिन् । उनले आफू र हर्षिका दिदी बारे बताउँदै थिइन् । हर्षिका दिदी मलेसियामा हुँदाताका कथाहरु मलाई बताउन थालिन् । मलाई लागेको थिएन, भर्खरको चिनजान घनिस्ट साथीमा परिणत हुँदै जान्छ भन्ने । मलाई पनि उनको सामिप्यमा आनन्द लाग्न थाल्यो । कलेज पुग्दा आज पनि ढिला भइसकेछ । तिनी मतिर हेर्दै रिस मुर्मुरिन् । आखिर ढिला हुनुको कारण त म नै थिएँ । मैले त्यसको बदलामा चिया खुवाउने बाचा गरेँ । हर्षिका दिदीसँग मेरो राम्रो चिनजान भएर हो कि, सुम्निमाले सहर्ष स्विकार गरिन् ।
नजिकको क्याफेमा अरु केटाहरु चुरोटको धूवाँ आकाशमा उडाउँदै थिए । मलाई पहिलो पटक केटिसँग देखेर हो कि मतिरै हेर्दै थिए । मलाई अप्थेरो महसुस भयो । तापनि बेवास्ता गर्दै दुई गिलास चिया मगाएँ । हामी चिया खाँदै थियौँ । मैले सोधेँ, अनामिका दिदी घर फर्कनुभो त? उनले फर्किसकेको बताइन्। मलाई लाग्यो, अनामिकाको जिन्दगी राम्ररी बितिरहेछ । तर होइन रहेछ । अनामिकाको श्रीमान्ले नानूलाई मन नपराउने कुरा बताइन् । नानूकै कारण श्रीमान्ले रक्सी खाएर आउने र कुट्ने गरेको सुनाइन् । सुन्दा पनि नमज्जा लाग्यो ।
अनामिका आजभोलि के गर्छिन् नि? मैले सोधेँ । आमाको बच्चाको स्याहार त हो नि, उनले भनिन् । हर्षिका दिदीको उमेर मेरो भन्दा बढी भएकोले कुराकानी गर्न असहज हुन्थ्यो, सुम्निमाले भेटेपछि सजिलो हुने ठानेँ । दिदी एक महिनामा उडिसक्ने बताइन् । एक महिनाभित्र अनामिकाको बारेमा कुराहरु कसरी खोतल्ने होला, म गम्न थालेँ । म टोलाएको देखेर सुम्निमाले ठट्टा गर्न भ्याइ हालिन्, बहिनीसँग बसिरहँदा नचाहिने कुरा नसोच्नुस् नि । मलाई साथीहरुले जिस्काउँछन् ।
मैले भनेँ, हुन्छ तर बहिनी भने भन्दिनँ के? बरु साथी भन्छु नि हुन्न? सुम्निमा साथी बन्न राजी भइन् ।
हामीबीच लामो गन्थन चलेको देखेर कलेजका अरु केटाहरु थाहा नपाएझै गरी हामीलाई हेर्दै थिए । मलाई त्यस कुराको मतलब थिएन । मैले साहुनीलाई दुई वटा दुनोट ल्याउन भनेँ । भर्खर पाकेका ताता दुनोटहरु टेबलमा आइपुग्यो ।
दुनोट खाँदै गर्दा कलेजमा घण्टी बजेको बाहिरसम्म सुनियो । हामी हतार हतार कलेज छिर्र्यौँ । छिर्दै गर्दा सँगै फर्कने कुरा गरेँ । उनले सुन्दै नसुनी कक्षाकोठामा गइन् ।
कक्षामा अनिवार्य अंग्रजी पढाउने सरले आत्मपरक निबन्ध लेख्न सिकाइरहनु भएको थियो । घटनाहरुलाई सिलसिलाबद्ध रुपमा प्रथम पुरुष अर्थात म सर्वनाम प्रयोग गरेर लेख्नुपर्ने बताउँदै हुनुहुन्थ्यो । यता म भने सुनेको अभिनय गर्दै थिएँ । जिन्दगीको नाटक दमदार थियो । किनकी म आत्मामा अनामिका र सुम्निमासँग भलाकुसारी गरिरहेको थिएँ । मैले अनामिका पात्रभित्र यति डुब्छु भन्ने कहिल्यै सोचेकै थिएन । सरले सोध्नुभयो, बुझ्नुभो त, अरुण । मैले बुझेको झुठो जवाफ दिएँ । बास्तवमा मेरो मन पसलमेै रुमलिरहेको थियो ।
टिफिन टाइम सुरु भयो । म आफ्ना साथीहरुसँग कलेजको क्यान्टिनमा छिर्दै थिएँ । सुम्निमा पनि उनकी साथीहरुसँग भित्र आइन् । उनी क्यान्टेनको पछिल्लो टेबुलमा गइन् । म अघिल्लो टेबुलमै अड्किएँ । खाजा खाइरहँदा मेरो आँखा बेलाबेला सुम्निमातिरै पुगिरहन्थ्यो । तिनी पनि मतिर चाल नपाएझै हेर्ने गर्थिन् । झुक्किएर कहिलेकाँही आँखाहरु जुत्थे । अनि उनी ङिच्च हाँस्थिन् । अनि आफ्नो कपाल मिलाएझै गर्थिन् । मैले अगाडिबाटै हात हल्लाएर हाइ भनेँ । तिनले देखेर पनि नदेखेझै गरिन् ।
कलेजबाट फर्कदा उनी गेटभन्दा अलि पर मलाई नै कुरिरहेकी थिइन् । म छिटो छिटो हिडेर उनी नजिक पुगेँ । उनी मसक्क मस्किन् । मेरो मनमा चसक्क पस्यो । उनको हाँसोमा जादू थियो । म आफू पनि उनको हाँसोमा हराएँ ।
हाँसोले हाँसो सार्छ,
आँसुले आँसु ।
नबुझ्ने आँखामा हर्ष न आँसु
। मान्छे बाँच्न खोज्ने नै हाँस्नका लागि त हो, रुनु त छँदै छ ।
हामी घर फर्कदै थियौँ । मैले आफूलाई अनामिकाबारे दिदी मार्फत थुप्रै कुराहरु जान्ने इच्छा रहेको बताएँ । उनले त्यसमा सहयोग रहने तर हस्तक्षेपकारी भूमिका आफूले नसहने बताइन् । मैले हुन्छ भनेँ।
फेरि उनले भनिन्, तिम्रो अरु केटी साथी छ कि छैन?
मैले छैन भन्दा सुम्निमाले विश्वासै गरिनन् । अनि उनले आफ्ना सबै साथीहरुको नाम बताइन् । पल्पसा उनको नजिकको साथी रहेछ ।
आजकल दिउँसो के गछ्यौ नि? मैले जान्न चाहेँ । उनले आफू बेरोजगार रहेको बताइन् । कुरा गर्दै हामी घर पुग्नै लागेथ्यौँ । तिनले भनिन्, मेरो घर जाओेैँ न । मेरो पनि घरमा खासै काम थिएन । मैले हुन्छ भनेँ । हामी घर पुग्दा हर्षिका दिदी लुगा धुँदै थिइन् । तिनले माथि बस्दै गर्न भनिन् । छिमेकका केटाहरु क्यारम खेल्दै थिए । तिनीहरुले मलाई कर्के नजरले हेरे । म वास्ता नगरी हर्षिका दिदीको कोठामा लागेँ । सुम्निमाले चिया पकाइन् । म टेबुलमा रहेको एल्बम् पल्टाउन थालेँ । मैले कोठाबाटै सोधेँ, वाइफाइको पासवर्ड छैन?
सुम्निमाले छैन भनिन् । एकक्षणमा चिया लिएर आइन् र फेरि भनिन्, पासवर्ड नै छैन हो क्या । यति भन्दै तिनले मेरो मोबाइलमा पासवर्ड टाइप गरिन्। मलाई हर्षिका दिदीको परिवार रमाइलो लाग्यो ।
मैले आमाबाबुबारे सोध्दा गाउँमा रहेको बताइन् । मलाई गाउँ कहिले लान्छ्यौ त? मैेले सोधेँ । सुम्निमाले भनिन्, तपाई अनामिकाबारे बुझ्न आउनुभएको हो कि मलाई बुझ्न आउनुभएको? म जवाफविहिन भएँ ।यति भन्दै सुम्निमा पसलतिर कुदिन् । अनि हर्षिका दिदी हाँस्दै कोठाभित्र छिरिन् र भनिन्, के हो बहिनीले जिस्काइ कि क्या हो? बहिनी यस्तै छे । जसलाई पनि जिस्किएर कुरा गर्छे । के भन्न हुने नहुने विचार नै गर्दिनन् ।
मैले उनी मिजासिलो रहेको बताएँ । अनि अनामिकाबारे जान्न चाहेको बताएँ । तिनले अनामिकाको श्रीमानसँगको सम्बन्ध सोचेजस्तो नभएको बताइन् र धेरै यसबारे नसोच्न पनि आग्रह गरिन् । मैले हुन्छ, भनेँ ।गफ चल्दै थियो । कुरैकुरामा सुम्निमा मबाट प्रभाविरहेको बताइन् । म झसंग भएँ । मैले आफूले साथीजस्तो मात्र सोचेको बताएँ । तर उमेरको दोष हो कि साथीभन्दा बढी सोच्न थालिसकेको थिएँ । हर्षिकाले सुम्निमाको पढाइपछि मजस्तै नारीको भावना बुझ्ने पति पाओस् भन्ने इच्छा रहेको बताइन् । अब भने मलाई सहन गार्हो भयो ।
मैले भनेँ , म केटा हुँ । मलाई देवता नबनाउनूस् । पुरुषले कहिल्यै महिलालाई बुझ्न सक्दैन । मैले बुझेको पनि छैन ।मेरो भावनामा डुब्ने बानी छ । तर यसको मतलब म सधैँ सही नै हुन्छु भन्ने नभएको बताएँ । तिनले भनिन्, बिहे नगर्दा त अनामिकाप्रति यस्तो सम्मान गछ्यौ भने बिहेपछि आफ्नो श्रीमतीलाई भाइले नबुझ्ने त हुनै सक्दैन।
मैले भनेँ, जिस्काएको भए ठिकै हो, तर साँच्चिकै भन्नुभएको हो भने ठिक लागेन दिदी । मान्छेको भविष्य मोबाइलको राशीफलजस्तो हुँदैन । डाँकू सज्जन बन्छ, सज्जन डाँकू । भविष्यलाई रहस्यकै गर्भमा राख्दा उचित होला ।
हर्षिका दिदीले ठट्टा गरेको बताइन् । म भने दार्शनिक जवाफ दिने हुन थालेछु । अर्को दिन पनि सुम्निमासँगै कलेज गएँ । तिनको व्यवहार अरु केटीहरुको जस्तो छँदै थिएन । मैले अनामिकाको बारे सोध्दा तार्न खोज्थिन् र भन्थिन्, अर्काको जीवनमा धेरै चासो दिनू राम्रो होइन । तिनी जस्तो अवस्थामा छिन्, तिनलाई तिनकै अवस्थामा जिउन दिनुपर्छ । अण्डालाई आगामा सेकेर कोरल्नू राम्रो होइन?
मैले सुम्निमाको कुरा बुझ्न सकिनँ । मैले भर्ने, मलाई यसमा लेनादेना छैन । तर अनामिकाको पिडा त सबैले बुझ््नुपर्ने हो नि । सुम्निमाले रिसाउँदै भनिन्, तिनकी आमाले त तिनलाई बुझेकी छैनन् भने तपाई कसरी बुझ्नुहुन्छ ? मैले सुम्निमासँग बहस गर्न सकिनँ । म चुप लागेँ ।
म रिसाएको ठानेर सुम्निमाले भनिन्, आगो बाल्नेले निभाउने ल्याकत पनि राख्नुपर्छ । यो अर्ती अलि बढि नै भयो जस्तो लाग्यो र सोधेँ, मैले कुन चैँ आगो बालेँ र निभाउने कुरा गर्दैछ्यौ?
सुम्निमाले सोधिन्, तपाईको कथाका अनामिकाको बारेमा तिनका श्रीमानले थाहा पाए अनामिकाको जीवनमा के होला? तिनको असर के पर्ला, कहिल्यै सोच्नु भएको छ? जति लेख्नुभयो, लेख्नुभयो, अब लेख्न बन्द गर्नूस् । म अनामिकाले थप दुःख पाएको हेर्न चाहन्नँ । सुम्निमाको कुरा सुनेर म छाँगाबाट खसेँझै भएँ । मैले अझै मेरो समाजलाई बुझेको रहेनछु । मभन्दा क्रान्तिकारी त सुम्निमा पो रहेछन् ।
मैले सोधेँ, मैले के गर्नुपथ्र्यो? तिनले भनिन्, थाहा छैन । तपाई अन्जान पुरुषले अन्जान रहेको नै अभिनय गर्नुस् । अनामिकाले त्यसैमा सुख पाउँछिन् । आलो घाउमा नुन छर्केर राम्रो कथा उनिदैन, बुझ्नु भो के?आँसुलाई लेखनको हतियार नबनाउनुस् । सक्नुहुन्छ भने त्यो पुरुष पात्रबारे चर्चा गर्नुस् र कठघरामा ल्याउने प्रयास गर्नूस्, जसले अनामिकाको जीवनमा बज्रपात ल्याएका छन् । ती नामर्द बलात्कारी पुरुषको कथा लेख्नुस् । ती पुरुषको कमजोरीबारे लेख्नुस्, जसले महिलालाई ओछ्यानको खेलानौ ठान्छ, महिलाको मन बुझ्न सक्दैन, नारी इज्जतको सम्मान गर्न सक्दैन र आफ्नो वासना मेट्न बाघले मृगको सिकार गरेझै महिलाको सिकार गर्छ? लेख्नुहोस्, कथाकारज्यू, लेख्नुहोस्, म तपाईको पछाडि उभिन तयार छु ।
लेख्नैपरे त्यो व्यवस्थाको बारेमा लेख्नुस्, जहाँ एक महिला आफ्नो देशमा काम नपाएर आफ्नो देश छाडी पराइ देशमा जान बाध्य हुन्छ । आफ्नै देशमा असुरक्षित महिला अन्यत्र कसरी सुरक्षित भइन्छ?
म सोचेको सोच्यै भएँ । सुम्निमाले चिमोट्दै एक झट्का दिइन् । म त मानसिक अन्रद्धन्दमा पो हराएको रहेछु । सुम्निमा ट्वाल्ल परेर मलाइ नै हेरिरहेकी थिइन् । मैले सही लेखेँ या गलत, आफैँलाई थाहा भएन । अनि सुम्निमासँग बिदा मागी म आफ्नो घर लागेँ ।
हर्षिकाकी बहिनी (भाग-७)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















