इमान्दारीताको राजनीति कमजोर हुँदै गएको हो कि ?

0
256

चुनाव सम्पन्न भइसकेको छ र अधिकांश स्थानको परिणाम पनि सार्वजनिक भइसकेको छ। मतगणना सम्पन्न भएसँगै देशभर नयाँ जनप्रतिनिधिहरू चयन भएका छन्।

यसबीच कतिपय बुद्धिजीवीहरूले नेपालमा अब असल र इमान्दार राजनीतिको खेल कमजोर हुँदै गइरहेको हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्। वर्तमान परिस्थितिले जनताले सुन र पित्तल छुट्याउन सकेनन् भन्ने टिप्पणी पनि सुनिन थालेको छ।

सचेत नागरिकहरू देशको भविष्य कता जाँदैछ, अब कसले जनताको काम गर्ने, कसले ऐन–कानुन र नीति निर्माण गर्ने भन्ने चिन्तामा छन्। चुनावी परिणामले देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ। धेरै ठाउँमा मतदाताले घण्टी चुनाव चिह्नमा मतदान गरेर जिताएका छन्। तर कतिपय ठाउँमा उम्मेदवारको परिचय राम्रोसँग नबुझेका व्यक्तिहरूलाई जिताइएको भन्दै केही मतदाताहरू अहिले पश्चाताप गरिरहेको चर्चा पनि सुनिन्छ।

यसपटकको चुनावमा रास्वपाले देशभर उल्लेखनीय मत प्राप्त गरेको छ। लाखौं मत पाएर यो पार्टी ठूलो शक्तिका रूपमा संसदमा प्रवेश गरेको देखिन्छ। अब रास्वपाले देशको सार्वभौमिकता, राष्ट्रिय हित र जनताको अपेक्षालाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उठिरहेको छ।

तर संसद भनेको केवल हल्ला वा दादागिरी गर्ने ठाउँ होइन। संसदमा ऐन–कानुन बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे गहिरो अध्ययन गर्ने, देशको दीर्घकालीन हितका विषयमा निर्णय गर्ने जिम्मेवारी हुन्छ। त्यसका लागि अनुभव, अध्ययन र दूरदृष्टि आवश्यक हुन्छ।

जनताले स्वच्छ छवि, इमान्दारी र योग्यताको आधारमा उम्मेदवार छान्नु पर्नेमा कतिपय अवस्थामा केवल विपक्षलाई हराउने सोचले मात्र मतदान गरेको देखिन्छ।

भक्तपुरको सन्दर्भमा हेर्ने हो भने देश र जनताको हितका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवारले जित्नु पर्ने थियो भन्ने धारणा पनि धेरैले व्यक्त गरिरहेका छन्। नेमकिपाले यहाँ कला–संस्कृति संरक्षण, ख्वप अस्पताल, ख्वप कलेज, इन्जिनियरिङ कलेज, विश्वविद्यालयको पहल, सरसफाइ, स्वास्थ्य केन्द्र, मठ–मन्दिर संरक्षण, टोलटोलमा इट्टा छपाइ, कम शुल्कमा शिक्षा जस्ता कामहरू गर्दै आएको छ।

नेपाली जनताकै हितका लागि नगर, जिल्ला र संघीय संसदसम्म जनतामुखी काम हुनुपर्छ। भक्तपुरमा नेमकिपाले करिब ५० वर्षदेखि देश र जनताको सेवामा आफूलाई समर्पित गर्दै आएको इतिहास छ। यो कुरा कसैबाट लुकेको छैन।

तर अहिले नेमकिपाको मत किन घट्यो भन्ने विषयमा पनि धेरै चर्चा भइरहेको छ। कतिपयले जनताको मन दुख्ने काम भएको हुनसक्छ भन्ने टिप्पणी पनि गरेका छन्। राजनीति भनेको आत्मसमिक्षा गर्ने क्षेत्र पनि हो। परिस्थितिबाट शिक्षा लिनु आवश्यक हुन्छ।

राजनीतिमा पक्ष र विपक्ष सधैं रहन्छन्। विपक्षलाई सुन, हिरा दिएर पनि सन्तुष्ट पार्न सकिँदैन भन्ने भनाइ पनि छ। उत्तर र दक्षिण ध्रुवका चुम्बक जस्तै कतिपय अवस्थामा विचारहरू कहिल्यै एक ठाउँमा आउँदैनन्।

त्यसैले राजनीति भनेको निरन्तर संघर्ष र विचारको प्रतिस्पर्धा हो। पक्षले विपक्षलाई गाली गरेर होइन, विचार र सिद्धान्तले सम्झाएर अघि बढ्नुपर्छ। चेतनाको विकास गरेर मात्र समाज अघि बढ्छ।

राजनीति कहिल्यै सजिलो यात्रा हुँदैन। यो कहिले उकालो त कहिले ओरालो लाग्ने समुद्रको छालजस्तै हो। कहिले सोचेजस्तो परिणाम आउँछ, कहिले नसोचेको परिणाम पनि आउँछ।

यस चुनावमा कतिपय चर्चित व्यक्तित्वहरू पनि पराजित भएका छन्। यसले एउटा कुरा देखाउँछ—जनता अझै सचेत र सक्षम नभएसम्म राजनीति कहिलेकाहीँ भावना र प्रभावको आधारमा पनि चल्न सक्छ।

यही कारणले कतिपयले अहिले “इमान्दारीताको राजनीति कमजोर हुँदै गएको हो कि?” भन्ने प्रश्न उठाइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here