– कुमार लघु, ख्वप, नेपाल
भाइबहिनीहरू, नमस्कार।
हालै सम्पन्न भएको चुनावले एउटा रोचक उदाहरण सम्झाएको छ। कहिलेकाहीँ राम्रोसँग परीक्षा दिएका विद्यार्थीले पनि अपेक्षित नतिजा पाउँदैनन्, ठीक त्यसैगरी यसपटकको चुनावले पनि धेरैलाई अचम्ममा पारेको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले यसपटक अपेक्षित सफलता हासिल गर्न सकेन। अब पार्टीले एक पाइला पछाडि सर्ने होइन, बरु तीन पाइला अगाडि बढ्ने गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्नुपर्ने देखिन्छ।
राजनीतिमा जति राम्रो काम गरे पनि विपक्षको मन सन्तुष्ट हुँदैन भन्ने कुरा हामीले बारम्बार देखिरहेका छौँ। विपक्षले पक्षको राम्रो कामलाई स्वीकार गरे भने उसलाई आफ्नै पक्षले नै आलोचना गर्ने डर हुन्छ। त्यसैले कतिपय अवस्थामा राम्रो कामको पनि विरोध हुने गरेको देखिन्छ।
भक्तपुर नगरको विकासलाई नजिकबाट हेर्दा नेपाल मजदुर किसान पार्टीले यहाँ योजनाबद्ध रूपमा धेरै काम गरेको देखिन्छ। शहरलाई व्यवस्थित बनाउन प्लानिङ्ग गरियो, सडक विस्तार गरियो, आवास निर्माण सहज बनाइयो र धेरै परिवारलाई बसोबासको सुविधा उपलब्ध गराइयो। कतिपय टोलमा चारकिल्ला र पुराना संरचनाका कारण घर निर्माणमा समस्या भए पनि समग्र रूपमा प्लानिङ्गले नगरलाई व्यवस्थित बनाउन सहयोग गरेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि भक्तपुरमा उल्लेखनीय काम भएको देखिन्छ। सस्तो शुल्कमा पढ्न पाइने स्कूल, कलेज र प्राविधिक शिक्षाका संस्थाहरू स्थापना भए। इन्जिनियरिङ, आर्किटेक्चर, कम्प्युटर, मानविकी, कानुन तथा राजनीति जस्ता विषय अध्ययन गर्ने अवसर धेरै विद्यार्थीले पाए। यसले भक्तपुरका विद्यार्थीलाई भविष्य निर्माण गर्ने ढोका खोलिदिएको छ।
समाजका कतिपय व्यक्तिहरूले अहिले स्वार्थका कारण नेमकिपाले गरेका कामलाई बेठिक भन्दै आलोचना गरिरहेका छन्। तर विगतका चार दशकमा भक्तपुरको चेतनास्तर विकास गर्न पार्टीले गरेको प्रयास धेरै भक्तपुरवासीको मनमा अझै स्मरणीय छ।
भूकम्पपछिको समयमा घर निर्माणका लागि आर्थिक सहयोग जुटाउने काम पनि भएको थियो। महिलाहरूका लागि सिलाई, खाना पकाउने, काष्ठकला, भाषा, गाइड तालिम, बुनाइ, प्रस्तर कला तथा मोटरसाइकल मर्मत जस्ता तालिम सञ्चालन गरिएका थिए। यसले धेरैलाई सीप र रोजगारीको अवसर दिएको थियो।
यदि योजनाबद्ध विकास नगरेको भए जग्गा दलाली र अव्यवस्थित निर्माणले आज भक्तपुरको अवस्था फरक हुन सक्थ्यो। साँघुरा बाटा, अव्यवस्थित बस्ती र जनतालाई पर्ने कठिनाइ अझ बढ्न सक्थ्यो। तर अहिले पनि कतिपय स्वार्थी तत्वहरूले जनतालाई भ्रमित पार्ने प्रयास गरिरहेका छन् भन्ने आरोप सुनिन्छ।
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले संसद र सडक दुवै ठाउँमा सिद्धान्तमा अडिग रहेर भूमिका निर्वाह गरेको धेरैले स्वीकार गरेका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा उनले संसदमा प्रखर आवाज उठाउँदै आएका छन्।
हामी जहाँ गए पनि बाटो बिना गन्तव्यमा पुग्न सक्दैनौँ। त्यसैगरी विकासका आधारहरू कसैले न कसैले निर्माण गरेको हुन्छ। स्कूल–कलेज खोल्नेहरूले आधार तयार पारिदिन्छन्, त्यसपछि विद्यार्थीले आफ्नै प्रयासले पढेर सफलता हासिल गर्छन्।
यस्ता विषयहरूलाई गम्भीर रूपमा विचार गरेर मतदान भएको भए सम्भवतः नेमकिपाले यसपटक फरक परिणाम प्राप्त गर्ने थियो भन्ने धारणा पनि केही नागरिकहरूले व्यक्त गरिरहेका छन्।


















