अष्ट्रेलिया यात्रा : विकास, अनुशासन र सिकाइ

0
23

अष्ट्रेलिया यात्रा : विकास, अनुशासन र सिकाइ

छोरीको निमन्त्रणामा तेस्रोपटक अष्ट्रेलिया आउने अवसर मिल्यो। अहिले म मेलबर्नमा बस्दै यहाँको जीवनलाई नजिकबाट नियाल्ने सौभाग्य पाइरहेको छु। मेलबर्नको पहिलो छाप नै यहाँको सफा वातावरण, हरियाली, फराकिलो सडक र अनुशासित जनजीवन थियो। यहाँ विकास केवल अग्ला भवन, आधुनिक सडक, पुल वा सुविधा सम्पन्न सहरमा मात्र सीमित छैन, विकास त नागरिकको व्यवहार, समयप्रतिको जिम्मेवारी र कानुनको सम्मानमा पनि देखिन्छ।

मेलबर्न सिटी, चिडियाखाना, एक्वेरियम, डायमण्ड भ्याली मिनी रेल, स्टेट लाइब्रेरी, ऐतिहासिक स्मारक तथा रमणीय पार्कहरूको भ्रमण गर्दा प्रकृति, इतिहास र आधुनिक विकासबीच सन्तुलन कायम गर्ने प्रयास स्पष्ट रूपमा देखियो। युरेका टावरबाट तल हेर्दा विकासको सुन्दर चित्र आँखा अगाडि उभिएको जस्तो अनुभूति भयो। स्टेट लाइब्रेरी पुग्दा ज्ञान र अध्ययनप्रतिको सम्मान कति गहिरो रहेछ भन्ने महसुस भयो।

मेलबर्नस्थित Eight Hour Day Monument पनि अवलोकन गर्ने अवसर मिल्यो। यो स्मारक विश्वका मजदुर आन्दोलनको ऐतिहासिक उपलब्धिको प्रतीक हो। मजदुरहरूले “८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा व्यक्तिगत जीवन” को माग राख्दै गरेको आन्दोलन सफल भएको सम्झनामा यो स्मारक निर्माण गरिएको रहेछ। यसले श्रमिक अधिकारप्रतिको सम्मानलाई झल्काउँछ।

त्यसैगरी, सन् १७८७ तिर बेलायतका जेलहरू भरिएपछि अपराधीहरूलाई अष्ट्रेलियामा पठाइने इतिहाससँग सम्बन्धित स्थानलाई अहिले ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिएको पनि अवलोकन गर्ने अवसर मिल्यो। इतिहासलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास प्रशंसनीय लाग्यो।

यहाँका बजार, सुपरमार्केट र पार्किङ व्यवस्था अत्यन्त व्यवस्थित छन्। प्रत्येक सामानको मूल्य स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ। ग्राहक र व्यापारीबीच विश्वासको वातावरण देखिन्छ। अनावश्यक मोलमोलाइ हुँदैन, भीडभाड कम हुन्छ र आवश्यक सबै सामान एउटै स्थानमा सहज रूपमा उपलब्ध हुने व्यवस्था गरिएको हुन्छ।

स्वास्थ्य सेवाले पनि निकै प्रभावित बनायो। सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य केन्द्रहरू व्यवस्थित छन्। बिरामीको सेवा आधुनिक प्रणालीमार्फत सञ्चालन भएको देखिन्छ। स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकारका रूपमा लिइएको अनुभूति हुन्छ।

अर्को उल्लेखनीय पक्ष फोहोर व्यवस्थापन हो। प्रत्येक घरमा छुट्टाछुट्टै डस्टबिन राखिएका छन्। फोहोरलाई वर्गीकरण गरी निश्चित दिनमा सङ्कलन गरिन्छ। सरसफाइ सरकारको मात्र होइन, प्रत्येक नागरिकको साझा जिम्मेवारी हो भन्ने चेतना व्यवहारमै देखिन्छ। यसले वातावरण सफा र स्वस्थ राख्न ठूलो योगदान दिएको छ।

शान्ति सुरक्षा पनि यहाँको अर्को बलियो पक्ष हो। कानुन सबैका लागि समान छ भन्ने विश्वासले समाजलाई अनुशासित बनाएको छ। ट्राफिक नियमदेखि सार्वजनिक व्यवहारसम्म नागरिकहरू स्वअनुशासित देखिन्छन्। राज्यका निकायहरूले पारदर्शी र जिम्मेवार ढङ्गले सेवा दिएको अनुभव हुन्छ।

यी सबै कुरा देख्दा मनमा एउटा प्रश्न बारम्बार उठ्छ—हामी नेपालीमा पनि मेहनत गर्ने क्षमता, बुद्धि र संस्कारको कमी छैन। यदि अनुशासन, इमानदारी, दीर्घकालीन योजना, कानुनको सम्मान र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिन सक्यौं भने हाम्रो देशले पनि विकासको सुन्दर यात्रा तय गर्न सक्छ। तर यसका लागि नेतृत्व तहमा इमानदार सोच, दूरदृष्टि र जिम्मेवारी अपरिहार्य छ भन्ने कुरामा दुई मत छैन।

यस यात्राको सबैभन्दा अमूल्य पक्ष भने परिवारसँग बिताएका आत्मीय क्षणहरू हुन्। विदेशको समृद्धि देख्दा खुसी लागे पनि मातृभूमि नेपालप्रतिको माया झन् गहिरो भएको अनुभूति हुन्छ। देशलाई सुन्दर बनाउने काम सरकारको मात्र होइन, प्रत्येक नागरिकको पनि हो। जहाँ अनुशासन, इमानदारी, जिम्मेवारी र नागरिक चेतना हुन्छ, त्यहीँ समृद्धि सम्भव हुन्छ।

हरेक देशका आफ्नै विशेषता र चुनौती हुन्छन्। विदेशबाट फर्कँदा अरूका असल अभ्यास सिकेर आफ्नै देशलाई अझ राम्रो बनाउने प्रेरणा लिएर फर्कनु नै यात्राको वास्तविक उपलब्धि हो।

हेरा ख्याजु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here