गुरु गणेश सहकारीद्वारा वार्षिक नीति तथा बजेट तर्जुमा, आगामी आर्थिक वर्षका लागि रु. १३ करोडको अनुमानित बजेट प्रस्तुत

0
54


भक्तपुर, ९ साउन। गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा बजेट तर्जुमा कार्यक्रम शनिबार भक्तपुरको सिटी गाउँ भाटेढुकुरमा सम्पन्न भएको छ। कार्यक्रममा आगामी आर्थिक वर्षका लागि संस्थाले रु. १३ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ।
कार्यक्रमका प्रमुख वक्ता तथा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले बचत तथा ऋण सहकारीको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै बजेट यथार्थपरक, जोखिम व्यवस्थापनमुखी तथा तरलता संरक्षणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले बजेट निर्माण गर्दा गत तीन वर्षको वास्तविक आय–व्ययको विश्लेषण, बचत तथा ऋणमा वार्षिक ५ देखि १० प्रतिशत वृद्धि, खराब कर्जा (एनपीएल) नियन्त्रण, तरलता अनुपात कायम राख्ने तथा सञ्चालन खर्चलाई आम्दानीको ४० देखि ५० प्रतिशतभित्र सीमित राख्ने लक्ष्य निर्धारण गर्नुपर्ने बताउनुभयो।
प्रजापतिले सहकारीको बजेट आय–व्ययको अनुमान मात्र नभई संस्थाको वार्षिक कार्ययोजना र आर्थिक मार्गदर्शनसमेत भएकाले सहकारीका सिद्धान्त, कानुनी व्यवस्था, रणनीतिक योजना, वित्तीय विश्लेषण, यथार्थपरक अनुमान, मितव्ययिता, खर्च नियन्त्रण, जोखिम व्यवस्थापन तथा कार्यसम्पादनमा आधारित बजेट प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। यस्ता सैद्धान्तिक आधारमा तयार गरिएको बजेटले आर्थिक अनुशासन, पारदर्शिता, दिगोपन र सदस्यहरूको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
संस्थाका अध्यक्ष कृष्णराम कासिछ्वाले चालु आर्थिक वर्षमा करिब रु. ३७ लाख नाफा भएको जानकारी दिँदै आगामी साधारणसभासँगै अधिवेशनसमेत हुने भएकाले निर्वाचन समिति गठन गरिने बताउनुभयो। उहाँले कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याएका समितिका पदाधिकारी तथा सदस्यलाई कदरपत्र र मायाको चिनोसहित सम्मानपूर्वक बिदाइ गरिने जानकारी दिनुभयो। साथै, सहकारी क्षेत्र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै अन्य सफल सहकारी संस्थाको अध्ययन भ्रमण गरी अनुभव आदानप्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
नीति तथा कार्यक्रम तथा बजेट तर्जुमा उपसमितिका संयोजक एवं कोषाध्यक्ष तुल्सी केशरी प्रजापतिले आर्थिक वर्ष २०८२/०८३ मा स्रोत तथा उपयोगतर्फ ९२ प्रतिशत र नाफा–नोक्सानतर्फ ६५ प्रतिशत प्रगति हासिल भएको जानकारी दिँदै आगामी आर्थिक वर्षका लागि रु. १३ करोडको अनुमानित बजेट प्रस्तुत गर्नुभयो।
कार्यक्रममा सचिव सत्यराम ज्ञामरु, लेखा समिति संयोजक हरिकृष्ण प्रजापति, संस्थापक अध्यक्ष एवं सदस्य रामकृष्ण लावजु, चम्पा ज्ञामरु, सिद्धान्त प्रजापति, राजु सिं बजिकों, लेखा समिति सदस्य सीता कोजु, राजन चित्रकार तथा प्रबन्धक गौतम कुटुवाजुले पनि सदस्यमुखी, व्यवहारिक र संस्थाको दिगो विकासमा टेवा पुग्ने बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै आ–आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here