भक्तपुर, १५ साउन — भक्तपुर नगरपालिकाले दुधपाटी क्षेत्रका विभिन्न गेष्ट हाउस तथा होटलमा अनुगमन गर्दै दर्ता, नविकरण, सरसफाइ तथा सेवाग्राहीको अभिलेख व्यवस्थापनमा देखिएका कमजोरी सुधार गर्न सम्बन्धित व्यवसायीलाई निर्देशन दिएको छ।
भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा शुक्रबार गरिएको अनुगमनका क्रममा अधिकांश गेष्ट हाउसमा दर्ता, नविकरण, सरसफाइ तथा अभिलेख व्यवस्थापनमा कमजोरी भेटिएको हो।
अनुगमनका क्रममा होटल प्रिशा एण्ड क्याफे गार्डेनमा मूल्यसूची राखिएको भए पनि दर्ता तथा नविकरणको प्रमाणपत्र नभेटिएकाले आवश्यक कागजातसहित तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।
त्यसैगरी कान्तिपुर गेष्ट हाउस एण्ड रेष्टुरेन्टलाई गेष्ट हाउसमा बस्ने प्रत्येक सेवाग्राहीको नागरिकता वा अन्य परिचयपत्रको प्रतिलिपि राखी अभिलेख व्यवस्थित गरेर मात्र आवास सेवा उपलब्ध गराउन निर्देशन दिइएको छ।
गण्डकी गेष्ट हाउसलाई व्यवसायको नविकरण गर्न तथा सेवाग्राहीको विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्न भनिएको छ।
अनुगमन टोलीले होटल रेसुङ्गा एण्ड थकाली किचेनमा गेष्ट हाउससमेत सञ्चालन भइरहेको भेटिएपछि गेष्ट हाउसको छुट्टै दर्ता गर्न, व्यवसाय नविकरण गर्न तथा भान्छामा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्न निर्देशन दिएको छ।
त्यस्तै, न्यू भक्तपुर गेष्ट हाउसले विगत तीन वर्षदेखि व्यवसाय नविकरण नगरेको पाइएकोले तीन दिनभित्र नविकरण गरी नगरपालिकामा उपस्थित हुन तथा गेष्ट हाउस परिसरको सरसफाइ गर्न निर्देशन दिइएको छ।
स्याङ्गजा पोखरा गेष्ट हाउस तीन वर्षदेखि दर्ताविना सञ्चालन भइरहेको भेटिएपछि तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ। साथै, गेष्ट हाउस तथा भान्छा फोहोर र अव्यवस्थित अवस्थामा रहेकाले तत्काल सरसफाइ तथा व्यवस्थापन सुधार गर्न भनिएको छ। अनुगमनकै क्रममा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा एक जोडीलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको नगरपालिकाले जनाएको छ।
यस्तै, बागलुङ कालिका गेष्ट हाउसलाई पनि तीन दिनभित्र व्यवसाय दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमनमा समितिका सदस्य श्यामकृष्ण खत्री, रोशनमैया सुवाल, ज्ञानबहादुर मानन्धर र रिता फसिकवा सहभागी थिए। साथै, भक्तपुर नगरपालिकाका श्यानिटेसन निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, जिल्ला प्रहरी परिसर भक्तपुरका कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला तथा भक्तपुर उद्योग वाणिज्य संघका बैकुण्ठ मानन्धरको समेत सहभागिता रहेको थियो।
















