भक्तपुर, १६ साउन । देशमा शान्ति, सुरक्षा, सामाजिक सद्भाव तथा जातीय–धार्मिक सहिष्णुता कायम गर्न आह्वान गर्दै स्वतन्त्र पत्रकार संघ नेपाल, भक्तपुरले शुक्रबार भक्तपुरको कमलविनायक क्षेत्रमा सन्देशमूलक कार्यक्रम आयोजना गरेको छ।
कमलपोखरी परिसरमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरूले शान्ति, सामाजिक एकता तथा धार्मिक सहिष्णुताको पक्षमा विभिन्न सन्देश अंकित प्लेकार्ड प्रदर्शन गर्दै पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका जातीय तथा धार्मिक तनाव तथा हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले हिंसा र विभाजनले समाज तथा राष्ट्रको हित नगर्ने उल्लेख गर्दै सबै नागरिक र सरोकारवाला पक्षलाई संयमता अपनाई शान्ति, सहिष्णुता र भाइचाराको वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
सहभागीहरूले “जातीय सद्भाव कायम राखौँ, हिमाल, पहाड, तराई, कोही छैन पराई”, “जातीय, धार्मिक विविधता, हाम्रो साझा सभ्यता”, “हिंसा होइन, शान्तिको बाटो रोजौँ”, “जात होइन, मानवता ठूलो मानौँ” तथा “विविधतामा एकता, नेपालको विशेषता” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
उक्त अवसरमा वक्ताहरूले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको साझा मुलुक भएकाले यहाँका सबै समुदायबीचको एकता, पारस्परिक सम्मान र विश्वास नै राष्ट्रिय शक्तिको आधार भएको बताए। घृणा, विभाजन र असहिष्णुताभन्दा सद्भाव, सहकार्य र सामाजिक एकतालाई सुदृढ गर्दै अघि बढेमा मात्रै समृद्ध र शान्त नेपाल निर्माण सम्भव हुने सन्देश कार्यक्रममार्फत प्रवाह गरिएको संघले जनाएको छ।
















