भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित माथिल्लो खड्का टोलको बिन्दवासिनी मन्दिर प्रांगणमा रहेको सर्वेश्वर महादेवको मूर्ति हराएको घटनाले स्थानीय बासिन्दामा चिन्ता उत्पन्न भएको छ।
स्थानीयका अनुसार मन्दिर परिसरमा राखिएको उक्त महादेवको मूर्ति करिब तीन दिनअघि रहस्यमय रूपमा हराएको हो। दुई–चार दिनअघिसम्म मन्दिर परिसरमा रहेको मूर्ति अहिले नभेटिएपछि स्थानीयवासीले चोरी भएको आशंका गरेका छन्।
स्थानीय बासिन्दाले उक्त मूर्ति आफ्नो धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएको बताउँदै यसको खोजी तथा संरक्षणका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्। “यो मूर्ति हाम्रो आस्था र पहिचानको महत्वपूर्ण हिस्सा हो। यसरी हराउनु अत्यन्त दुःखद् र चिन्ताजनक विषय हो,” स्थानीय श्रीजन खड्काले सामाजिक सञ्जालमार्फत् भने ।
मूर्ति हराएपछि स्थानीयले सुरक्षाको अभावप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार मन्दिरहरूमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा यस्ता घटनाहरू दोहोरिन सक्ने जोखिम बढेको छ।
स्थानीयले चाँगुनारायण नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षलाई मन्दिरहरूमा सीसी क्यामेरा जडान गरी सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न आग्रह गरेका छन्। उनीहरूले नगर क्षेत्रमा रहेका पुरातात्त्विक तथा धार्मिक सम्पदाको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।
स्थानीयवासीले हराएको मूर्तिबारे कसैलाई जानकारी भए तुरुन्त सम्बन्धित निकाय वा स्थानीयसँग सम्पर्क गर्न पनि अपिल गरेका छन्।
यस घटनाले ताथली क्षेत्रका मन्दिर तथा सांस्कृतिक सम्पदाको सुरक्षाबारे पुनः प्रश्न उठाएको छ। स्थानीयले अब ढिलाइ नगरी सम्पदा संरक्षणका लागि ठोस पहल गर्नुपर्नेमा जोड दिएका छन्।

















