हरि प्रसाद ढकाल
छन्द : शार्दूलविक्रीडित
नारी प्रेम र त्यागकी स्वरुप हुन् संसारकी पालक
नारीकै भरमा तथा सुबलमा हुर्कन्छ एक् बालक
नारीको महिमा अपार छ यहाँ दु:साध्य वर्णन् कन
यो नारी दिवसै महोत्सव भनौं श्रद्धा गरी सम्झना ।१।
नारीको ममता र प्रेम नभए मर्ने छ संसार यो
पीडा दु:ख र कष्टका जलनमा पर्ने छ संसार यो
सारा वृद्ध, युवा तथा शिशुहरू भोकै रुने छन् यहाँ
पूरा विश्वभरा यि स्त्री सबमा श्रद्धा रुपी सम्झना ।२।
नारी शक्ति र भक्तिकी प्रतिरुपा संसारकी स्वामिनी
नारी हुन् सब देहपालक तथा माया रुपी कामिनी
यी नारी सबका परी चरणमा राखेर माथै पनि
जोडी हात दुई पुकार म गरूँ देवी तिमी हौ भनी ।३।
हाम्रो देह र आत्मको वचनको हौ मान राख्ने तिमी
हाम्रो सास र आशको समयको हौ ख्याल राख्ने तिमी
हाम्रो कष्ट र दु:खका बखतमा हौ ज्यान थाप्ने तिमी
हाम्रो भोक र रोगका बखतमा उद्धार गर्ने तिमी ।४।
पैँचो तिर्न म सक्तिनँ यो ऋणको लेख्नै म के सक्छु र ?
यो सेवा जति हो सबै नजरले देख्नै म के सक्छु र ?
पक्कै भन्छु अवश्य शब्द दुइटा नारी बराबर् गरी
कोही छैन, अवश्य खोज दुनियाँ संसार सारा भरी ।५।
२०८२ फागुन २४ गते, आइतबार (अन्तर्राष्ट्रिय महिला दिवस)


















