क. धानको स्वस्थ बीउ छान्ने विधि:
👉️
१. एउटा बाल्टी वा बीउको परिमाणअनुसारको भाँडामा पानी भर्नुहोस् ( बीउ राख्दा नपोखिने जति)
२. त्यसमा एउटा नबिग्रेको कुखुराको अण्डा (बिग्रेको अण्डा शुद्द पानीमा तैरिन्छ) राख्नुहोस्।
३. पानीमा अब धुलो नुन राख्दै जानुहोस् र जबसम्म अण्डाको अाधा भाग जति नुनपानीमा तैरिँदैन, नुन थप्दै जानुहोस्। अण्डा तैरिएपछि भने नुन पुग्यो भन्ने बुझ्नुपर्दछ र अण्डालाई हटाउन सकिन्छ ।
४. अब उक्त नुनपानीमा धानको बीउ राखी (बीउ पानीको माथिल्लो सतहभन्दा १० से.मी. तल भएको राम्रो) मजाले चलाई २/३ मिनेट यतिकै छोडिदिनुहोस्।
५. उत्रिएका अस्वस्थ बीउहरूलाई हटाईदिनुहोस् र भाँडाको तल स्वस्थ बीउहरू थिग्रिनेछन्।
६. थिग्रिएका स्वस्थ बीउलाई तुरुन्तै शुद्द पानीमा २-३ पटक सफा गर्नुहोस् ( बीउलाई धेरैबेर नुनपानीमा राख्नु हुँदैन) र छायाँमा लगी सुकाउनुहोस्।
एकैपटकमा बीउ छान्न नसकिएको खण्डमा नुनपानीको घोल पटकपटक तयार गरिरहनु पर्दैन, एउटै घोल ५/६ पटकसम्म प्रयोग गर्न सकिन्छ।
यसरी नुनपानीमा उपचार गरिएको बीउको तोैल तैरिएकाकोभन्दा १५-२५ प्रतिशतले बढी उत्पादन दिन्छ भने रोगको आक्रमण पनि ४०-६० प्रतिशतले कम हुने पाईएको छ।
- बीउको उपचार:
बीउलाई मरुवा रोगबाट बचाउन प्रति किलो बीउमा २ देखि २.५ ग्राम बेभिष्टिन (Bavistin) वा थिराम( Thiram) वा डाइथेन (Dithane) वा सेरासन (Cerasan) नामक ढुसीनासक विषादी ल्याई बीउसँग मिसाई सबैतिर समान हुने गरी चलाउने र बीउलाई कम्तिमा १२ घण्टा, बढिमा ५ दिन राख्न सकिन्छ। त्यसपछि मात्र बीउलाई भिजाउने वा ढड्याउने गर्नुपर्दछ र २४-४८ घण्टासम्म ढड्याइएको बीउ राम्ररी अङ्कुरण हुनासाथ ब्याड राख्न सकिन्छ।
ख. जग्गाको छनौट तथा नर्सरीको तयारी :
👉️मलिलो, सिंचाई तथा निकासको व्यवस्था भएको जग्गामा नर्सरी तयार गर्नुपर्छ । धान खेतीको लागि मलिलो, समतल एवं राम्रो जलधारण क्षमता भएको दोमट चिम्टाईलो माटो सर्वोत्तम हुन्छ । सिंचाईको राम्रो सुविधा भएको खण्डमा हलुका माटो भएको जग्गामा पनि धानको खेती सफलतापूर्वक गर्न सकिन्छ ।
धानको व्याड राख्ने उपयुक्त समय त्यसो त धानको जातहरुमा निर्भर गर्छ तर जेठको दोस्रो हप्ता देखि असारको पहिलो हप्ता सम्म धानको व्याड राख्न सकिन्छ । एक हेक्टर जमीनमा रोपाईको लागि ५००-६०० वर्ग मीटर क्षेत्रफल भएको व्याड पर्याप्त हुन्छ एस. आर. आई. पद्धतिबाट धान खेती गर्ने हो भने ५०-१०० वर्ग मीटर क्षेत्रफल भएको व्याड भए पुग्छ । धानको व्याड दुई किसिमले तयार गर्न सकिन्छ ।
१. धुले व्याड: वेर्ना उमार्नको लागि प्रायः धुले व्याड नै प्रचलित छ । धेरै पानी पर्ने ठाउँको लागि जमीनको सतहबाट लगभग १० – १५ से.मी. माथि उठेको व्याड उपयुक्त हुन्छ । १० मी. वा आवश्यकता अनुसारको लम्बाई र १- १.२५ मी. चौंडाई भएको व्याडहरु बनाएर मल हालीसकेपछि समान रुपले उपचारित बीउ छर्नु पर्दछ । दुई वटा व्याडको बीचमा लगभग ३० से.मी. चौंडाई भएको कुलेसो बनाउनु पर्दछ ।
२. हिले व्याडः यो विधि नेपालको पश्चिम तराईमा धेरै प्रचलित छ। यसको लागि खेतमा पानी पटाएर २-३ पटक जोतेर माटो हिल्लयाईन्छ ताकि झारपात नष्ट भएर जाओस् । अन्तिम जोताईपछि पाटा लगाएर खेतलाई सम्याएर सुक्न दिनु पर्छ । पानी सुकिसकेपछि खेतलाई १- १.२५ चौंडा तथा आवश्यकता अनुसारको लामो व्याडहरुमा विभाजन गर्ने ताकि विभिन्न कार्यहरु जस्तैः बीउ छर्ने, गोडमेल, सिंचाई आदि सजिलैसँग गर्न सकियोस् । आवश्यकता अनुसारको व्याडहरु बनाईसकेपछि अंकुरित बीउ समान रुपले छर्ने । बीउ छरेको एक हप्ता सम्म व्याडमा छिपछिपे पानी हुनुपर्दछ तर ध्यान राख्नुपर्छ कि कुनै पनि अवस्थामा वेर्ना पानीमा नडुबोस् ।
ग. व्याडको लागि मलखादको मात्रा:
👉️ स्वस्थ र गुणस्तरीय वेर्ना उत्पादनको लागि गोवर मल वा कम्पोष्ट १५-२० टन प्रति हेक्टर र ३०:३०:२० कि. ग्रा. ना. फ. पो. (N.P.K)प्रति हेक्टरको दरले प्रयोग गर्नुपर्दछ ।
घ.रोपाईको लागि वेर्नाको उमेर :
👉️५-६ पात भएको २५-३० दिनको वेर्ना रोपाईको लागि उपयुक्त हुन्छ । यदि धेरै बुढो वेर्ना रोपियो भने गाँज कम आउने भएकोले उत्पादनमा नकारात्मक असर पर्न जान्छ । ४० दिन भन्दा बढी उमेरको वेर्ना रोपाईको लागि उपयुक्त हुदैन ।
ङ. बीउको मात्रा:
👉️मध्यम वा मसिनो दाना हुने धानको जातको लागि ३०-३५ कि.ग्रा. र मोटो दाना हुने किसिमको लागि ४०-५० कि.ग्रा. बीउ एक हेक्टर जग्गामा रोपाई गर्नलाई पर्याप्त हुन्छ । पाखो जग्गामा छरुवा विधिबाट धान खेती गर्दा ४०-५० कि. ग्रा. बीज एक हेक्टरको लागि पर्याप्त हुन्छ । एस. आर. आई. पद्धतिबाट धान खेती गर्ने हो भने ६-८ कि. ग्रा. बीउ एक हेक्टर जग्गामा रोपाई गर्नलाई पर्याप्त हुन्छ ।
नोट: यसरी उन्नत प्रबिधि अपनाइ खेती गर्दा बीउ दर कम लाग्नुको साथै बिउजन्य रोगबाट पनि पछि हुने क्षेती कम गर्न सकिन्छ ।
स्रोत:नार्क डायरी
जनहितमा जारी


















