भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ अन्तर्गत ताथली–तैकाबु क्षेत्रमा स्थानीय किसान उत्तम साखकर्मीले आफ्नै मेहनत र परिश्रमद्वारा आफ्नै बारीमा उत्पादन गरेको विशुद्ध अर्गानिक तरुलको उत्खनन् कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
लामो समयदेखि जैविक खेतीमा संलग्न साखकर्मीले रासायनिक मल तथा विषादी प्रयोग नगरी प्राकृतिक विधिबाट तरुल उत्पादन गर्दै आएका छन्। हाल सम्पन्न उत्खनन् कार्यबाट करिब १५ किलो तरुल उत्पादन भई एकै दिन बिक्री भएको किसानले जानकारी दिएका छन्।
स्थानीय बजारमै राम्रो माग रहेको उक्त अर्गानिक तरुल बिक्रीबाट साखकर्मीले रु १२०० बराबरकाे आम्दानी गर्न सफल भएका छन्। उनले आगामी दिनमा तरुलसँगै अन्य अर्गानिक बालीको क्षेत्र विस्तार गर्ने योजना समेत रहेको बताए।
स्थानीय स्तरमै अर्गानिक उत्पादन र बजार सुनिश्चित हुँदा किसानको आम्दानी वृद्धि हुनुका साथै उपभोक्ताले स्वस्थकर खाद्य सामग्री पाउन थालेका छन्। यस किसिमका पहलले कृषि पेशाप्रति युवाको आकर्षण बढ्ने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।


















