स्वतन्त्र पत्रकार संघ भक्तपुरको सातौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा त्वानाबासु निर्वाचित

0
96


भक्तपुर । “पत्रकार बन्नु त स्वतन्त्र बन्नु, स्वतन्त्र नै हो पत्रकार भन्नु” भन्ने मूल नाराका साथ स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन उद्घाटन समारोह बुधबार भक्तपुरको कमलविनायकस्थित जनसञ्चार गृह (पाइपलाइन) मा केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको प्रमुख आतिथ्यता सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले नेपालको पत्रकारिता सिद्धान्तअनुसार नचलेको टिप्पणी गर्दै स्वतन्त्र पत्रकारले विकृति–विसंगति उजागर गर्नु र सकारात्मक पक्षको प्रवर्द्धन गर्नु आफ्नो धर्म भएको बताए। उनले सबै राजनीतिक दललाई सम्मान गर्नुपर्ने धारणा राख्दै पत्रकार स्वतन्त्र बन्न आत्मनिर्भर हुन आवश्यक रहेको उल्लेख गरे। सञ्चार गृह बलियो भए मात्र पत्रकारको आधार मजबुत हुने बताउँदै उद्योग, व्यापार तथा व्यवसायको विकासमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गरे। पछिल्लो समय पत्रकारप्रति हेर्ने दृष्टिकोण अपमानजनक बन्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।
ललितपुर अध्यक्ष उपेश नौबागले भक्तपुर आत्मनिर्भर क्षेत्रको रुपमा अगाडि बढिरहेको उल्लेख गर्दै देशको आमूल परिवर्तनमा भक्तपुरको भूमिका महत्वपूर्ण रहेको बताए। उनले टिमवर्कमा आधारित नयाँ कार्यक्रम तथा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै काठमाडौं उपत्यकाका सम्पूर्ण स्वतन्त्र पत्रकार संगठित भई आपसी सहयोग र आत्मियता बढाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमका सभापति सुरेश प्रसाद सैजुले पत्रकारिता गर्न पद नै आवश्यक नपर्ने बताउँदै पछिल्लो समय पत्रकारितामा चुनौती थपिँदै गएको धारणा राखे। संख्यामा कमी भए पनि छलफल र साझा कार्यक्रममार्फत संगठनलाई सुदृढ बनाउनुपर्ने तथा संगठित हुनुपर्नेमा उनले जोड दिए।
कास्कीका पूर्व अध्यक्ष कृष्ण रानाभाटले पत्रकार दलीय कार्यकर्ताजस्तो बन्न नहुने स्पष्ट पार्दै पत्रकारिता सम्मानित पेशा भएको बताए। कास्कीमा १४ वर्ष पत्रकारिता गरेको अनुभव सुनाउँदै उनले अभियानलाई संख्यात्मक भन्दा पनि गुणात्मक रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
संघका सल्लाहकार कृष्ण किसीले पत्रकार पेशागत र संस्थागत रुपमा स्वतन्त्र हुन कठिन हुने यथार्थ औँल्याउँदै नयाँ कार्यसमितिले उत्साहका साथ काम गर्नुपर्ने शुभेच्छा व्यक्त गरे।
कार्यक्रममा संघका सचिव प्रेम प्रजापतिले पत्रकारितामा सामाजिक दायित्व बहन गर्नुपर्नेमा जोड दिँदै दलगत स्वार्थ अन्त्य गरी सन्तुलित समाचार सम्प्रेषण गर्न सके मात्र समाज सुसज्जित हुने बताए।
साधारण सभा तथा अधिवेशनले रेणु त्वानाबासुको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ। नवगठित कार्यसमितिले स्वतन्त्र पत्रकारिताको प्रवर्द्धन, संगठन सुदृढीकरण तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू अघि बढाउने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here