✍️ प्रा.डा. धनरत्न शाक्य
सवारीचालक, ड्राइभर, गुरुजी, विभिन्न नामले सम्बोधन गरिन्छ कुनै पनि यातायातका मेशिनरी साधन चालकलाई । सामान्यतया यिनीहरुलाई हेरिने दृष्टिकोण हामीकहाँ सकारात्मक देखिँदैन । सम्बन्धमा व्यभिचार, परिवारप्रति अनुत्तरदायी, यात्रुसँग खराब आचरण र दुव्र्यवहार, जाँडरक्सी गाँजा जस्ता नशालु पदार्थको दुव्र्यसन तिनिहरुसँग अटोमेटिकली जोडिने प्रसंग हुने गर्दछन् धेरैको मनमा । बाटो छेउ हिँड्ने निर्दोष बटुवाहरुलाई निर्दयी पाराले हिलो छ्याप्ने चालकहरुका कारण चित्त दुखेका धेरै कहानी जन्मे । हामी कहाँ खराब अवस्थाका बाटाहरुमा यात्रुहरुको बिना कुनै मतलब र बिचार गरी जोल्टिङ र ब्रेक लगाएर सद्दे यात्रुलाई समेत अस्वस्थ तुल्याउनमा रमाउने चालकहरुको पनि कमि छैन । पछिल्ला वर्षहरुमा देखिएका सुनिएका परिदृश्यहरुमा दुर्घटनाग्रस्त पैदल यात्रीहरुलाई निर्ममतापुर्वक आफ्ना सवारीसाधनले कुचलिदिएको भनी सञ्चारमाध्यम र आम मानिसबीच आएका समाचार जानकारीहरुले त अझ यिनीहरुको मर्यादामा धक्का लागेको देखिन्छ ।
हरेक पेशा र क्षेत्रमा राम्रा नराम्रा, असल खराब र नैतिक अनैतिक सबै खालका मानिसहरु हुन्छन् । राम्रा, असल र नैतिक व्यक्तिहरुको बाहुल्यता बढाएर हर पेशा र क्षेत्रका कर्मिहरुले आफ्नो इज्जत उठाउन आवश्यक हुन्छ । सवारी चालकहरुले यो कुरा ध्यानमा राखेर संयमित, अनुशासित र नैतिक जीवन बिताएर आफू, आफ्ना परिवारजन र अरुको पनि वास्तविक हित सुनिश्चित गर्न सकिन्छ । यसले पक्कै यिनीहरुको नाममा अटोमेटिकली मनमा बन्ने यिनीहरुको प्रतिकूल चिनारीमा पनि क्रमशः सुधार हुँदै जानेछ ।
रहरले होस्, बाध्यताले होस् या आकस्मिकताले । जुनसुकै हिसाबले ड्राइभिङ पेशामा लागेका भएपनि यी व्यक्तिहरु आफ्ना सवारीमा रहेका यात्रुहरुको आरामदायी र सफल यात्राको लागि अहम् भुमिका खेल्छन् । आफू सुती नसुती, खाई नखाई यात्रुहरुलाई गन्तव्यमा पुर्याउने ध्याउन्नमा हुन्छन् । यस्ता इमान्दार, मेहनती र कर्मयोगी चालकहरुप्रति अटोमेटिक लाग्ने अमानवीयताको छिटा एक अन्याय नै हो । यस्तो अन्याय हटाउन उनीहरु स्वयम्को पनि सचेतता, जागरुकता र दायित्व अहम् हुनेगर्छ । आफूबाट हुने ससाना कुरा वा व्यवहारमा यस्तो भुमिका आवश्यक हुनेछ ।
हरदिन सधैंजसो ड्राइभिङ गरिरहनुपर्ने कतिपयलाई र शुरुआती समयमा रमाइलो र रोचक भएपनि कतिलाई पत्यार, दिग्दार, बोर लाग्नसक्छ । एकतमास, एकोहोरो मोनोटोनस रुपमा, परिस्थितिबस् तनावग्रस्त भई ड्राइभिङ गरिरहँदा अनेक स्वस्थ अस्वस्थ उपायहरु पनि उपयोगमा आउँछन् । यात्रा सहज, आरामदायी, रोचक, रमाइलो र उत्साहजनक राख्न अपनाइने विभिन्न प्रचलित तरीकाहरुमा एक मुख्य हो यात्रामा गीत संगीत सुन्ने, सुनाउने ।
गीत संगीत आफैंमा एक सशक्त, प्रभावशाली र लोकप्रिय साधन हो । अहिले आएर यो अति शक्तिशाली बनेकोछ । हर समय, हर माहोल, हर अवसर र हर रोजाइमा यो बज्ने बजाइने, सुन्ने सुनाइने गरिन्छ । कतिपय समय, माहोल, परिस्थिति, अवसरमा मानिसहरुलाई झण्डै झण्डै निरिह बनाएरै घन्किन्छ गीत आजकल । यसरी यो यति शक्तिशाली हुनुमा ड्राइभर जस्ता यसका अविच्चिन्न प्रयोगकर्ताहरुको ठूलो हात हुन्छ । यस्तो व्यापक प्रयोग कति उनीहरुको रोजाइ, कति देखासिकि, कति आकस्मिकता, कति लापरवाह, कति गीतसंगीतको नशालु स्वभाव आदिले गर्दा प्रवृत्ति, स्वभावमा रुपान्तरण हुने गर्छ ।
गीत संगीतमा निहित भाव, प्रवृत्ति र प्रकारको बिचारै नगरीकन जथाभावी बजाइने चलनले पुग्ने असरप्रति ड सजग हुनैपर्छ । आवश्यक साबधानी अपनाउनै पर्छ । आफ्ना सवारीसाधनमा अपनाइने यस्ता सावधानी, उपयुक्त र मानवीय पहुँचका कारण सवारी चालकहरुको पहिचान पनि पक्कै राम्रो हुनेछ ।
आजकल गीत भन्ने बितिक्कै मायाप्रिति, बैंस, प्रेम, प्रणय, धोका, आकर्षण, शारीरिक सुन्दरता, फेसन, यौन, अस्लीलताको आशय अत्यधिक हुने गर्छ । कलिला मनहरुलाई भ्रमित पार्ने, एक्लै बस्न बाध्य बैशालु मनहरुलाई आवेगमा उतार्ने, जीवनको यथार्थ देखि विमुख तुल्याउने, शारीरिक आशक्तिदेखि यौन आव्हान गर्ने, नक्कली र सतहि भावपुणर् बिशाक्त गीतसंगीतहरु हिट हुने जमाना छ । बच्चा, किशोर, परिवारजन र आफन्त सँगै बसेर सुन्ने गीतभन्दा पनि पब, रेष्टुरेन्ट, डान्स बारहरुमा यौवनका बैंशालु उन्माद र सतहि आकर्षणमा प्रतिक्षामा जीवन नष्ट गर्ने, व्यसनतिर ढकेल्ने गीतहरुको बिम्बिगी छ । यस्तोमा ड्राइभर लगायत संगीतका अविच्चिन्न श्रोताहरु सजग भएनन् भने असरमा जीवन र जगत दुवै बिशाक्त हुने निश्चित छ । अहिले लगभग सारा समाज र दुनियाँ यस्तो असरका महामारीमा आहत् भर्दैछ यसको यथार्थ महसुस र कारणको बोधै बिना। मानिसहरुको यात्रामा बित्ने समय र त्यस दौरान बज्ने संगीतको बिचार गर्ने हो भने यो सारा संसारमा भुसको आगोझैँ फैलने पक्का छ । यस महामारी फैलाउनमा ड्राइभर र यातायातकर्मिहरुको बेहोसी, लापर्वाह, गैरजिम्मेवार र लम्पटपुणर् पहुँचले आगोमा घ्यू थप्ने काम गर्नेछ जसको रापमा उनीहरु आफू पनि जल्छन् र साथमा, आसपास रहेका अरुहरुलाई पनि दाम्नेछन् । समग्रमा, यिनीहरुले आफ्नो मर्यादा अझ गिराउनेछन् ।
यात्रामा निस्केको बेला सवारीमा बज्ने गीतहरु याद गरेमा वा त्यसका प्रभावले मनस्थितिमा अधिकांश समयमा अनुकूल होइन, प्रतिकूल नै असर पर्ने देखिन्छ । बिहानै किन नहोस्, अगाडि भर्खरका नानीहरू नै किन नहुन्, महिला, वृद्ध वा मानसिक रुपले अपरिपक्व मानिसहरु नै किन नहुन्, जानी नजानी बिना कुनै हिच्किचाहत् अश्लील र उत्तेजित पार्नेदेखि लिएर दिग्भ्रमित बनाउने खालका गीतहरु बज्छन् । भजन वा राष्ट्रिय गान गवारहरुको गीत हुनेगर्छ । अंग्रेजी, हिन्दी वा बुझ्दै नबुझिने आयातित संगीत चाहिँ सभ्यताको चिनो दरिन्छ । यसरी, यस्ता भाव, लय र आशयका कुरा गीत संगीतका रुपमा लिने मनमस्तिष्कमा के होला, के फल्ला र के ओकेल्ला? स्वार्थ, व्यक्तिवादिता, अनुशासनहिनता, उडन्दता, गन्तव्यहिनता . ! समग्रमा खोक्रोपन !! समाजमा हत्या, हिंसा, आतंक, मनोबिकृति, बिभृंखलता, व्यसन, लत, आत्महत्या यस्तै मनस्थितिका उपज हुने गर्छन् । आफू त फँस्छन् नै, साथमा यात्रुहरुलाई पनि बिष छर्दै हिँड्छन् यस्ता कुरामा ध्यान नदिने चालक र यातायातकर्मिहरु ।
अब, यसतर्फ अलि सोच्ने पो हो कि ? आफ्ना प्रिय सन्ततिलाई सम्झेर सहि गन्तब्य र भविष्यको कामना सहित् उचित खालका गीतहरुको संगालो पो बनाउने हो कि? बिष, अश्लीलता, भ्रम, बिसंगति फिंजाउने सस्ता गीतसंगीतलाई निरुत्साहित पार्नमा सघाउने हो कि? समय, सँस्कृति, चालचलन र संस्कार सुहाउँदा गीतहरु बजाउन थालौं । वरिपरि यात्रामा को को छन् ख्याल राखौं । गीत संगीतको मर्म, भाव, किसिम ख्याल राखी सभ्य संगीत मात्र कम्तीमा सार्वजनिक रुपमा बजाऔं । सभ्य चालकको परिचय देऔं ।
(लेखक प्रा.डा. धनरत्न शाक्य, एमडी बरिष्ठ स्नायु, दुर्व्यसन तथा मनोरोग विशेषज्ञ, प्राध्यापक हुनुहुन्छ । उहाँका मानसिक स्वास्थ्य, मनोरोग, स्वास्थ्य बिषयमा ५०० भन्दा बढी लेखरचना, १२ बढी पुस्तक, १००भन्दा बढी वैज्ञानिक जर्नल आर्टिकल, नेपालभाषा, नेपाली र अंग्रेजीमा विविध लेखरचना प्रकाशनमा रहेका छन् । )


















