ए कुर्सी !
हेर्दा तिमी निर्जीव छौ
तर सजीव नै हौ ।
हात अनि खुट्टा छन् तिम्रा
कान अनि आँखा पनि ॥
बोली तिम्रो मीठो
मुस्कान छ मधूर ।
गर्छन यहाँ सबै तिम्रो कदर
अनि गर्छन तिम्रै सदर ॥
गुनासो पोख्ने केन्द्र हौ तिमी
सुनीदेऊ सबका समान सरी ।
भन्थ्यौ तिमी समेट्छु सबैलाई
नजर मेरो सबमा बराबर भनी ॥
कान छन् सग्ला तिम्रा
कतै कपोल–कल्पित सुन्यौ कि ?
नयन छन् सुन्दर तिम्रा
कतै दृष्टि पो ढल्मलियो कि ??
मन्द–मन्द मीठो मुस्कान छर्दै
आफ्नो जालभित्र पार्यौ ।
मीठा– मिठा शब्दभित्र
काँडा घुसाई बोल्यौ ॥
ए कुर्सी !
दिएको खाऊ भन्यौ
नखाएमा जाऊ भन्यौ ।
सतही विश्वास गर्यौ
गहिराई दबाई दियौ ॥
गुनाह के थियो र उसको ?
तिमीले सजाए पो दिएछौ ।
अनाहकमै उसलाई तिमीले
आफ्नो बैरी पो ठानेछौ ॥
आकासलाई छुने सपना तिम्रो
धरातललाई चटक्कै भुलेछौ ॥।
कुर्सी –कुर्सीबीच नयन जुधायौ
ङिच्च हाँस्यौ, दाँत देखायौ
गिल्ला गर्यौ।
देखेर अश्रु धरातलको त्यो
दायाँ र बाँया कुर्सी हँसायौ ॥
ऊ र उनी एउटै परिधिभित्र
नियम तोक्यौ बायाँतिर
फुक्का छोड्यौ दायाँतिर ।
देखेर मुहार धरातलको त्यो
तिमीले आँखा पो चिम्लियौ ।
सुनेर बिन्ती उसको तिमीले
कान पो बन्द गर्यौ ॥
ए कुर्सी !
नबुझ्ने कहाँ छौ र तिमी !
अग्लिएर तिमी गगनलाई चुम्यौ होला ।
फक्रिएर कोपिला
ढक्कमक्क फुल्यो होला ॥
तर हेर !
ती तिम्रा पाउहरू अझै
धरातलमै छन् ।
गगन चुम्न हतारिन्छौ भने
धर्ती छोडी उड्छौ भने
खस्लाऊ है तिमी ॥
तर
नखस्नु है तिमी
नझर्नु है तिमी
आशाका केन्द्र हौ तिमी
भरोसाका त्यान्द्रो हौ तिमी
शुभकामना तिमीलाई
शुभकामना तिमीलाई ॥
–आभा


















