भक्तपुर । भक्तपुर नगरपालिका–९ च्याम्हासिंहस्थित ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको छ। बिहीबार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन्।
शुभारम्भ समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विजुक्छेले ख्वप अस्पताल नगरवासीका लागि मात्र नभई देशभरका नागरिकको उपचारका लागि पनि तयार अवस्थामा रहनुपर्ने बताए। उनले ख्वप अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले गुणस्तरीय सेवालाई निरन्तरता दिँदै आवश्यक परे देशभित्र मात्र नभई विदेशसम्म पनि स्वास्थ्य सेवा पुर्याउन सक्ने क्षमता विकास गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिटी स्क्यान मेसिन खरिदका लागि करिब ११ करोड रुपैयाँ खर्च भएको जानकारी गराए। उनका अनुसार बागमती प्रदेश सरकारको ५ करोड रुपैयाँ अनुदान र भक्तपुर नगरपालिकाको करिब ६ करोड रुपैयाँ बजेटबाट उक्त मेसिन खरिद गरिएको हो।
नगरप्रमुख प्रजापतिले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ख्वप अस्पताल सञ्चालनमा ल्याइएको उल्लेख गर्दै आवश्यकता अनुसार अस्पतालमा थप विशेष सेवाहरू क्रमशः विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।
सिटी स्क्यान सेवा सुरु भएसँगै भक्तपुरसहित आसपासका जिल्लाका नागरिकहरूले सुलभ रूपमा आधुनिक स्वास्थ्य परीक्षण सेवा पाउने अपेक्षा गरिएको छ।
ख्वप अस्पतालमा सिटी स्क्यान सेवा सुरु, करिब ११ करोड लगानीमा अत्याधुनिक मेसिन जडान
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















