नेपालभाषा प्रतिको प्रेम र आजको यथार्थ

0
850


आज छोरीले पचपन्न झ्याले दरबारबारे गृहकार्य गर्दै गर्दा अन्जानमै सोधिहालिन्, बाबा, पचपन्न भनेको फिप्टी फाइभ हो? भन्नु न बाबा, कति हो ? म जवाफ विहिन भएर बसेँ । नेपालमा जन्मेकी मेरी छोरीलाई नेपाली गिन्टी संख्या नआउने रहेछ । मैले पचपन्न झ्याले दरबारलाई नेपाल भाषामा ङेङापा झ्यः भन्दा त झन् तीनछक्क परिन् । नहोस् पनि कसरी छोरीले पढ्ने विद्यालयमा दुई विषय नेपालीमा पढाइ हुन्छ, बाँकी अंग्रेजीमा । नेपाल भाषा त परै जाओस् । अनि पछिल्लो समयमा स्थानिय पाठ्यक्रम अन्र्तगत ख्वपको पहिचान विषय थपिएकाले गर्दा नेपाल भाषाका थोरेै शब्दहरु सिकेकी छिन् ।तर ख्वपको पहिचान विषय पनि कहाँ मातृभाषामा पढाइ हुन्छ र? नेपाल भाषामा जर्बजस्ती केहि शब्दहरु कण्ठ पारेकी न हुन्? अनि हामी भाषिक पहिचानकोे कुरा गर्छौं ।
गल्ती विद्यालयको मात्र होइन, म जस्ता अभिभावकको पनि हो । घरमा छोरीलाई मातृभाषा बोल्न नसिकाउने अनि विद्यालयलाई मात्र दोष थोपरेर हुन्छ? हुन त म घरमा नेपाल भाषामा नै कुरा गर्छु । छोरी पनि नेपाल भाषामा नै कुरा गर्न प्रयास गर्छिन् । तर उनलाई अमा—अब्वा भन्न भन्दा बाबा र मामु भन्न सहज लाग्छ । अनि कनिकनि नेपाल भाषामा कुरा गर्दा कता कता पर्यटकले बोलेजस्तो सुनिन्छ । छोरीको लवज सुनेर परिवारका सदस्यहरुमा हाँसोको फोहोरा छुट्छ ।
भन्नेहरु भन्छन्, यो त सरासर परिवारको गल्ती हो । होइन म भन्दिनँ । सानोदेखि नेपाल भाषामा बोल्न सिकाएको भए यस्तो दुर्दशा हुने थिएन । मेरो छोरीको भाषामा मेरो जस्तो त र टमा समस्या छैन । धोका र ढोकामा भेद छुट्याउन सक्छिन् । तर त्यसरी भेद छुट्याउन सक्ने हुँदा पनि मेरो मन खुशी छैन । कारण मेरी छोरीले बोल्ने लवज मेरो जस्तो छैन ।
हिजो मैले लेख्न नजान्दा पनि बोल्न त प्रष्ट नेवारी भाषा बोल्ने गर्थेँ । नेवारी भाषा बोलेको कारण मेरो नेपाली भाषा कहिल्यै शुद्ध भएन । यसको मतलब नेवारले नेपाली शुद्ध बोल्न सक्दैन भन्ने होइन । शुद्ध बोल्न गार्‍हो हुँदोरहेछ । मेरो जिब्रोले त र ट छुट्याउनै सक्दैन । परिणाममा मैले प्रशासनिक तथा व्यवसायिक जिवनमा थुप्रै झमेला व्यहारेँ । मलाई जान्नु छ , मैेले नेपाल भाषालाई पहिलो भाषाको रुपमा अँगिकार गरेको थाहा हुँदा हुँदै दोस्रो खस भाषा बोल्दा भएका स -साना गल्तीहरुलाई मेरो व्यक्तिगत जिवनमा किन कमजोरीको रुपमा लिइयो?
अझ रमाइलो तथ्य त हाम्रा नजिकका विद्यालयमा नेपाली भाषाको शिक्षक सकभर ब्राम्हण वा क्षेत्री खोजेर राख्ने गरिन्छ । यसबाट पनि के सिद्ध हुन पुग्यो भने नेवारहरुले शुद्ध नेपाली प्राध्यापन गराउन सक्दैनन् । अपवादका रुपमा केहि नेवारहरु नेपाली शिक्षक भएका पनि पाइन्छन् ।
तर यो त अतिवाद भएन र? मैले म जन्मेको देशमा आफ्नो भाषालाई आत्मसात गर्दा म किन व्यंग्यको सिकार हुन्छु ?
अहिले नाम चलेका टेलिसिरियलमा समाबेशीताको नाममा जर्बजस्ती नेवार पात्र प्रस्तुत गर्ने गरेको पाइन्छ । तर तिनीहरुलाई यसरी होच्याइन्छ कि मानौँ उनीहरु नेवार भएर गल्ती गरेका छन् । होच्याइएको भाषामा गैर नेवारलाई जबरजस्ती नेवारी लवज निकाल्न लगाइएको धेरैले महसुस गरेका छन् । हामी अंग्रेजी भाषाले हाम्रो भाषिक अतिक्रमण भयो भन्छौँ। अंग्रेजी मात्र होइन खस राष्ट्रबादी चिन्तनले अन्य भाषाभाषीलाई थिचोमिचो गरेको आजको यथार्थ हो ।
हामीले मान्ने जात्रा तथा पर्वमा पनि भाषिक अतिक्रमण भएको स्पष्ट देख्न सकिन्छ । सापारुलाई गाइजात्रा भन्न लगाइएको छ । जबकि खसहरुले सापारु नै मान्दैनन् भने गाइजात्रा किन भन्ने?त्यसैगरी बिस्का जात्रालाई बिस्केट जात्रा भनेर हामीले पढ्ने पाठ्यपुस्तकमा लेखिएका छन् ।
हामीले मान्ने स्वन्ति नखः र तिहारमा ठूलो भिन्नता छ । खसहरु गोरु पूजा मान्छन् । हामी म्हपूजा गर्छौँ । मोनी नखः लाई जर्बजस्ती दसैँ भन्न लगाइएको छ । जबकी मोनीःको महिमा बारे खसलाई थाहा पनि छैन होला ।
हामी बस्ने टोलको नाम समेत खस भाषामा उल्था गरिएको छ । मूल नेवार बस्ती भित्रका टोलहरु गोमारीलाई गोल्मढी, सुजमारीलाई सुर्यमढि, बारे पुखुलाई कमलविनायक, इनरेलाई सुर्यविनायक, टमारीलाई टौमढी आदि ।
हुँदा हुँदा पाटी भत्केको देखेर लाञ्चा फल्चालाई भत्क्या पाटी भन्न थालियो । ङातापोल्हँलाई पाँचतल्ले मन्दिर भन्न सिकाइयो । कहिलेकाँही याद गर्छु, हाम्रा मन्दिरका दायाँ बायाँ सुर्य र चन्द्र अंकित झन्डाले मन्दिर स्वभायमान छन् । तर ती झन्डाहरु हामीले प्रयोगमा ल्याउन सकेका छैनौँ । म आफैँ पनि नेवारी बोल्न रमाउँछु तर नेपाल भाषामा लेख्न असजिलो महसुस गर्छु । हिजोका दिनमा मैले लेख्ने सिक्ने मौका नै पाइनँ । आज लेख्न मन लाग्छ, तर मेरा हातहरुले अन्य भाषा नै सहज मान्छ ।
मेरो पहिचान त धुजा धुजा भएको छ ।
यसो भनिरहँदा भाषिक जागरणका लागि ठूला ठूला कार्यक्रमहरु नभएको होइनन् । जसै दसैँ आउँछ, नेपाल भाषा साहित्य तःमुज्या र विराट नेपाल भाषा सम्मेलनको सुगन्ध आउँछ । तःमुज्याले गरी खाने कामदार जनताको पक्षमा नेपाल भाषामा प्रगतिशील साहित्य वाचन गराउँछ । विराट नेपाल भाषा साहित्य सम्मेलनले प्रगतिशील भन्दा पनि नेपाल भाषामा पहिचानबादी साहित्य वाचन गराउँछ । । विद्धान तथा साहित्यकारबाट नेपाल भाषामा साहित्यको चर्चा चल्छ ।
साथीहरु ब्राम्हणले वार्षिक सोर्‍ह श्राद्ध गरेजस्तो भयो भन्ने गुनासो पोख्छन्
स्वन्ति नखः अगाडि नेपाल संवत्का संस्थापक शंखधर शाख्वाको खुब सम्झना गरिन्छ र भिन्तुना र्‍याली निकालिन्छ । जसै स्वन्ति सिद्धिन्छ, सबै बिर्सिन्छ । नेपाल भाषाको महत्वबारे चर्चा त पात्रोमा मात्र हुने गरिन्छ । कमसेकम पात्रोमा त तिथिमितिहरु राम्रोसँग लेखिएका हुन्छन् । हुँदा हुँदा काठमाण्डौँ, भक्तपुर र ललितपुरमा मनाइने मोनी नखः र स्वन्ति नखःको तिथिमिति विवादले त सापारुको ख्याल अरु बेला पनि देख्न सकिने भएको छ ।
हाम्रा विद्यालयहरु पनि कम क्रान्तिकारी एवम् पहिचानवादी छैनन् । स्वन्ति नखः अगाडि नै विद्यालयमा म्हपूजा र किजापूजा मनाउन लगाउँछन् । किजापुजामा भाग लिएका भाइबहिनीहरु फेब्रुवरी चौध तारेखमा विद्यालयमै भ्यालेन्टाइन डे मनाउँछन् । वार्षिक कार्यक्रममा युगल जोडी भई छमछम नाच्छन् । कुनै कुनै विद्यालयले त चैत्रमा ताँहामचाँ निकालेको पनि जगजाहेर छ । मलाई त डर छ, विद्यालयमै श्राद्ध गराउँछन् भन्ने । नेपालभाषालाई जगेर्ना गर्ने नाममा ससाना भाइबहिनीलाई तन्नेरीलाई सुहाउने रोमान्टिक गीतहरुमा नाच्न लगाउँछन् । नेपाल भाषाका बालगीतहरुको हाँसी मजाक भएको छ ।
यसरी भाषा र संस्कृतिबारे चिन्तित भइरहँदा छोरी विद्यालयबाट घर फर्कन्छिन् । अनि भन्छिन्, ममी भोक लाग्यो । मेरो नेपाल भाषाप्रतिको प्रेम र पहिचानवाद स्वाहा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
1
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here