भक्तपुर, पुस २० ।
भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा बक्सर खेलाडीहरूको भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा आइतबार एक समारोहबीच सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि उकेश कवाँले स्वाधीन तथा स्वतन्त्र देश भेनेजुएलामाथि साम्राज्यवादी अमेरिकाले गरेको सैन्य आक्रमण नाङ्गो हस्तक्षेप भएको बताउनुभयो । उहाँले सार्वभौम राष्ट्रमाथि हुने यस्ता आक्रमणविरुद्ध खेलाडीहरूले पनि स्पष्ट रूपमा विरोध जनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पानामा, इराक, अफगानिस्तान, लिविया र प्यालेष्टाइनमा अमेरिकी साम्राज्यवादका कारण लाखौँ देशभक्त जनताको हत्या भएको उल्लेख गर्दै अपहरण गरिएका भेनेजुएलाका राष्ट्रपति मादुरो तथा उहाँकी पत्नीको रिहाइको माग गर्नुभयो ।
उहाँले नेपालमा पनि अमेरिकी प्रभावमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) तथा विभिन्न संस्थामार्फत जेनजीको नाममा उपद्रोह मच्चाई अमेरिकी कठपुतली सरकार गठन गरिएको आरोप लगाउनुभयो । एमसिसीको विरोध गर्न नसक्ने नेताहरू अमेरिकी दलाल भएको टिप्पणी गर्दै नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थ सेवा बाहेक अन्य कुनै स्वार्थ नराखेको बताउनुभयो । आगामी निर्वाचनको सम्भावना बढेकाले देशभक्ति, देश र जनताको सेवामा समर्पित पार्टीलाई जिताउन युवा, विद्यार्थी तथा खेलाडीहरूले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिले अमेरिकाको प्रजातन्त्रका लागि राष्ट्रिय सशक्तीकरण (नेड) सन् १९८३ मा स्थापना भई विभिन्न देशमा सरकार परिवर्तनका लागि गोप्य रूपमा हस्तक्षेप गर्दै आएको बताउनुभयो । उहाँले नेडले लाखौँ अमेरिकी डलर खर्च गरी नेपालका युवालाई जुलुस तथा विरोध प्रदर्शन आयोजना गर्ने सीप र रणनीतिबारे तालिम दिएको र अन्तर्राष्ट्रिय रिपब्लिकन संस्थानमार्फत भूमिगत अभियान सञ्चालन भएको खुल्न आएको जानकारी दिनुभयो । विश्वभर यस्तै गतिविधिमार्फत सरकार सत्ताच्युत गर्ने प्रयास भइरहेको र नेपालमा समेत हिन्द–प्रशान्त रणनीतिअनुकूल राजनीतिक नेतृत्व तयार पार्ने वासिङ्टनको प्रयासबारे विभिन्न लेख प्रकाशित भएको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।


















