भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा बक्सर खेलाडीहरूको भेला

0
428
भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा बक्सर खेलाडीहरूको भेला

भक्तपुर, पुस २०
भक्तपुर जिल्ला बक्सिङ्ग संघको आयोजनामा बक्सर खेलाडीहरूको भेला नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा आइतबार एक समारोहबीच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि उकेश कवाँले स्वाधीन तथा स्वतन्त्र देश भेनेजुएलामाथि साम्राज्यवादी अमेरिकाले गरेको सैन्य आक्रमण नाङ्गो हस्तक्षेप भएको बताउनुभयो । उहाँले सार्वभौम राष्ट्रमाथि हुने यस्ता आक्रमणविरुद्ध खेलाडीहरूले पनि स्पष्ट रूपमा विरोध जनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । पानामा, इराक, अफगानिस्तान, लिविया र प्यालेष्टाइनमा अमेरिकी साम्राज्यवादका कारण लाखौँ देशभक्त जनताको हत्या भएको उल्लेख गर्दै अपहरण गरिएका भेनेजुएलाका राष्ट्रपति मादुरो तथा उहाँकी पत्नीको रिहाइको माग गर्नुभयो ।

उहाँले नेपालमा पनि अमेरिकी प्रभावमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) तथा विभिन्न संस्थामार्फत जेनजीको नाममा उपद्रोह मच्चाई अमेरिकी कठपुतली सरकार गठन गरिएको आरोप लगाउनुभयो । एमसिसीको विरोध गर्न नसक्ने नेताहरू अमेरिकी दलाल भएको टिप्पणी गर्दै नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थ सेवा बाहेक अन्य कुनै स्वार्थ नराखेको बताउनुभयो । आगामी निर्वाचनको सम्भावना बढेकाले देशभक्ति, देश र जनताको सेवामा समर्पित पार्टीलाई जिताउन युवा, विद्यार्थी तथा खेलाडीहरूले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ्ग संघका अध्यक्ष रामकृष्ण प्रजापतिले अमेरिकाको प्रजातन्त्रका लागि राष्ट्रिय सशक्तीकरण (नेड) सन् १९८३ मा स्थापना भई विभिन्न देशमा सरकार परिवर्तनका लागि गोप्य रूपमा हस्तक्षेप गर्दै आएको बताउनुभयो । उहाँले नेडले लाखौँ अमेरिकी डलर खर्च गरी नेपालका युवालाई जुलुस तथा विरोध प्रदर्शन आयोजना गर्ने सीप र रणनीतिबारे तालिम दिएको र अन्तर्राष्ट्रिय रिपब्लिकन संस्थानमार्फत भूमिगत अभियान सञ्चालन भएको खुल्न आएको जानकारी दिनुभयो । विश्वभर यस्तै गतिविधिमार्फत सरकार सत्ताच्युत गर्ने प्रयास भइरहेको र नेपालमा समेत हिन्द–प्रशान्त रणनीतिअनुकूल राजनीतिक नेतृत्व तयार पार्ने वासिङ्टनको प्रयासबारे विभिन्न लेख प्रकाशित भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाल बक्सिङ्ग महासंघका कोषाध्यक्ष गौतम सुजखुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here