भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

0
213

भक्तपुर, कार्तिक १२ ।
प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा भएको ‘समाज परिवर्तनका लागि साहित्य’ भन्ने मूल उद्देश्यका साथ ११५ औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा प्रथम हुन सफल महेन्द्र विद्याश्रमका मानुसी बोहरा, दोस्रो हुन सफल नेपा ह्युपा खलका सिल्भिया प्रजापति, तृतीय हुन सफल बागीश्वरी माविका निशा थापा र सान्त्वना स्थान हासिल लिशा इ. स्कूलका सृजल त्यातलाई नगदसहित पुरस्कार वितरण गर्नुभयो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले साहित्य लेखन मनोरञ्जन, समाज परिवर्तन र व्यक्तित्व विकासको लागि अपरिहार्य विषय भएको बताउनुभयो । उहाँले जनताको साहित्य लेख्दा जनताले बुझ्ने सरल भाषामा साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिँदै विद्यार्थीहरु मेहेनती, परिश्रम र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
सिंगो भक्तपुरलाई सक्रिया बनाउन भक्तपुर नपाले विविध गतिविधिहरु सञ्चालन गर्दै आएको बताउँदै उहाँले साहित्य जनता र समाजको पक्षमा लेखिनुपर्छ भन्नुभयो ।


भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले विद्यार्थीहरुमा पठन संस्कृतिको विकासले उनीहरुको सर्वाङ्गीण विकासमा समेत टेवा पुग्ने बताउँदै विद्यार्थीको बौद्धिक विकासमा यस किसिमको प्रतियोगितालाई निरन्तरता दिँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति प्रगति पुस्तकालयका अध्यक्ष रविन्द्रप्रसाद कुसीले प्रतियोगितामा ३२ जना विद्यार्थीहरुले भाग लिएको अवगत गराउँदै विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर गर्न प्रगति सामुदायिक सिकाइ केन्द्रले यस किसिमको प्रतियोगिताहरु आयोजनामा जोड दिने बताउनुभयो ।
कार्यक्रममा निर्णायकको तर्फबाट कवि हरिहर तिमिल्सिनाले प्रतियोगिताबारे समग्र मूल्यांकन गर्दै विद्यार्थीहरुको साहित्य सिर्जनाबाट आफू निकै प्रभावित भएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले निर्णायकहरू हरिहर तिमिल्सिना, रुपकेशरी उलक र विष्णुगोपाल कुसीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here