पञ्चकन्या माध्यमिक विद्यालयमा जापानी अध्ययन टोलीद्वारा शिक्षा तथा सांस्कृतिक आदानप्रदान

0
616

भक्तपुर, कात्तिक १८ । जाइकाको संयोजनमा टोकियो नगरपालिका, जापानका शिक्षा शाखा प्रमुख मिता नोरिकोको नेतृत्वमा आएको अध्ययन टोलीलाई भक्तपुरस्थित श्री पञ्चकन्या माध्यमिक विद्यालय, सुडालमा आज विशेष स्वागतसहित शिक्षा तथा संस्कृति आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रम तीन चरणमा सम्पन्न भएको विद्यालयले जनाएको छ । पहिलो चरणमा विद्यार्थी आकाश तामाङ र सुदिना दुलालले जापानी भाषामा स्वागत मन्तव्य राख्दै अतिथिप्रति कृतज्ञता व्यक्त गरेका थिए । साथै, प्रमुख अतिथि नोरिकोले शिक्षा र सांस्कृतिक आदानप्रदानले दुवै मुलुकबीच आत्मीय सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

दोस्रो चरणमा टोकियोका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत ४० जना जापानी तथा अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरू ८ समूहमा विभाजित भई कक्षा ३ देखि १० सम्मका कक्षाहरूमा प्रवेश गरी शिक्षण–अभ्यासमा सहभागी भए । यस क्रममा विद्यार्थीबीच आपसी परिचय, मित्रता र संस्कृतिप्रति सम्मानको भावना थप मजबुत भएको विद्यालयले जनाएको छ ।

तेस्रो तथा समापन चरणमा विद्यालय प्राङ्गणमा विशेष सांस्कृतिक प्रस्तुति गरिएको थियो । पञ्चकन्या नानीहरूको पञ्चकन्या गानमा आधारित नृत्य तथा आकर्षक नेवारी मौलिक लाखे नृत्यले कार्यक्रमको उत्साह बढाएको थियो । लाखे प्रस्तुति विद्यार्थी आयुष रञ्जितकार, धिमेबादक अनिश रञ्जितकार, भुच्याँबादक सोहन नाखन तथा वाद्यवादन सामग्री उपलब्ध गराउने ठूली ब्रह्मायणी धिमे खल:लाई विद्यालयले धन्यवाद व्यक्त गरेको थियो ।

प्रतिनिधिमण्डलका विद्यार्थीहरूले विद्यालयद्वारा गरिएको आतिथ्याबापत आभार व्यक्त गर्दै स्मृतिचिन्ह हस्तान्तरण गरेका थिए । कार्यक्रमका अन्त्यमा प्रधानाध्यापक नारायणप्रसाद दुलालले दुवै मुलुकबीचको मैत्रीपूर्ण सम्बन्धजस्तै शैक्षिक आदानप्रदान पनि दीगो रहिरहने विश्वास व्यक्त गर्दै जापानी टोलीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा वि.व्य.स. अध्यक्ष नारायणप्रसाद घिमिरे, पूर्वअध्यक्ष केशवप्रसाद तिमिल्सिना, शिक्षक–अभिभावक संघकी अध्यक्ष राममाया रञ्जितकार, विद्यालयका शिक्षक तथा पञ्चकन्या नानीहरूले पुष्पगुच्छा र माल्यार्पणद्वारा अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रम विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश तजले सञ्चालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here