भक्तपुर, ८ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको नेतृत्वमा बेखालदेखि लान्चाफल्चा हुँदै ब्यारेकसम्मको नगरकोट सडक खण्डमा धुलाम्मे र पानी परे हिलाम्मे हुने साथै सडक खाल्डाखुल्डीले गर्दा दुर्घटना र सडक जामसमेत हुने भएकोले स्थानीयवासीहरूसहितको प्रतिनिधिमण्डलले बाटो छिट्टै बनाउनुपर्ने माग राख्दै सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको ध्यानाकर्षण गरेको छ ।
वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले उक्त क्षेत्रको बाटोमा पेटी र ढलसहित निर्माण गर्न स्थानीय वडावासीहरूको सहयोगमा विभिन्न सरोकारवाला सङ्घसंस्थामा पहल गरिरहेको बताउनुभयो ।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले मङ्सिर ९ गतेदेखि अलकत्रासहितको टालटुल गर्ने र थप स्तरोन्नति गर्न मङ्सिर १७ सम्ममा ठेक्का प्रक्रिया अगाडि बढाउन टेन्डर गर्ने र माघ मसान्तदेखि पीचको काम सुरु गरेर फागुन १५ गतेसम्ममा सम्पन्न गर्ने आश्वासन दिनुभयो ।
उक्त डेलिगेसनमा नेमकिपा भजिसका प्रतिनिधि न्हुन्छेभक्त फोँजूले अहिलेसम्मको प्रगतिबारे जानकारी सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुखले बताउनुपर्ने बताउनुभयो ।
दैनिक हजारौँ सवारी आवतजावत गर्ने सडकमा दिनहुँजस्तो सडक दुर्घटना भइरहेको, सर्वसाधारण बटुवाहरूलाई समेत पैदल यात्रा गर्न जोखिम बढेको र धुलो, हिलो र खाल्डाखुल्डीले गर्दा स्थानीयलाई समस्या परेको कुरा वडा सदस्य कृष्णनारायण दुमरु, स्थानीय सरोज सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिलगायतले बोल्नुभएको थियो ।
धुलाम्मे नगरकोट सडक खण्ड फागुन १५ भित्र पीच कार्य सम्पन्न गर्ने सडक डिभिजनको आश्वासन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















