काभ्रे, माघ १८ । धुलिखेल अस्पतालले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै बहिरंग सेवा (ओपीडी) सञ्चालन समय विस्तार गर्नुका साथै शनिबार पनि ओपीडी सेवा सुरु गरेको छ। अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउने उद्देश्यले नियमित ओपीडी सेवा समय दुई घण्टाले बढाएको जनाएको छ।
नयाँ व्यवस्था अनुसार अब अस्पतालको ओपीडी सेवा बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म सञ्चालन हुनेछ। यसअघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म मात्र सीमित थियो। बिहान तथा दिउँसोको समयमा कार्यालय तथा अन्य कामकाजमा व्यस्त रहँदा अस्पताल पुग्न नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै सेवा समय विस्तार गरिएको अस्पतालले जनाएको छ।
यसका साथै धुलिखेल अस्पतालले केही हप्तादेखि शनिबार पनि बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्दै आएको छ। शनिबार बिहान ९:०० बजेदेखि अपराह्न १:०० बजेसम्म ओपीडी सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जानकारी दिएको छ। अन्य कार्यदिवसमा समय अभावका कारण सेवा लिन नपाएका सेवाग्राहीका लागि शनिबारको सेवा विशेष रूपमा उपयोगी हुने विश्वास अस्पतालले लिएको छ।
अस्पतालका अनुसार विस्तारित ओपीडी सेवा अन्तर्गत अन्य दिनको अपराह्न ४:०० बजेदेखि ६:०० बजेसम्मको सेवा तथा शनिबार सञ्चालन हुने ओपीडी सेवामा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम लागू नहुने स्पष्ट गरिएको छ।
दैनिक जीविकोपार्जन र स्वास्थ्य सेवाबीच छनोट गर्न नपरोस् भन्ने उद्देश्यसहित ओपीडी सेवा साँझसम्म विस्तार गरिएको र शनिबारसमेत सेवा सञ्चालन गरी समुदायका आधारभूत स्वास्थ्य आवश्यकताहरू पूरा गर्न अस्पताल प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















