नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा भक्तपुरमा कार्यकर्ता भेला सम्पन्न

0
181


भक्तपुर, २० माघ
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ५२औँ स्थापना दिवसका अवसरमा नेमकिपा भक्तपुर नगरपालिका–९ दत्तात्रय समितिको आयोजनामा कार्यकर्ता भेला केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व प्रमुख आतिथ्यतामा सम्पन्न भयो


कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्याख्वले नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको संशोधनवाद, अवसरवाद र खोटा विचारका कारण नेपाल मजदुर किसान पार्टी स्थापना भएको स्पष्ट पार्नुभयो। उहाँले सोभियत संघ सामाजिक साम्राज्यवादमा पतन हुनु, भारतद्वारा बंगलादेश टुक्र्याउन मुक्ति बाहिनी पठाइनु, किसान आन्दोलन र अमेरिकी साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीविरुद्धको संघर्षमा मतभेद देखिएपछि नेमकिपा स्थापना भएको बताउनुभयो।
उहाँले मार्क्सवाद, लेनिनवाद र माओ विचारधारालाई पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा उल्लेख गर्दै तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र हुँदै समाजवाद र साम्यवादसम्म पुग्ने लक्ष्यसहित अघि बढेको जानकारी दिनुभयो। साथै लेनिनवादी सिद्धान्तअनुसार चुनावलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा नेमकिपा भनपा–९ का अध्यक्ष कृष्ण भक्त लवजुले आचारसंहिता पालनाको आवश्यकता औँल्याउँदै जनप्रतिनिधि र कर्मचारीलाई यससम्बन्धी प्रशिक्षण आवश्यक रहेको बताउनुभयो। उहाँले मतदान बुथको स्थान, मतदाता विवरण तथा घरदैलो कार्यक्रमको महत्वबारे जानकारी गराउनुभयो।
अध्यक्ष लवजुले वर्तमान निर्वाचन प्रणालीमा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित नहुने र प्रतिनिधिसभाबाट मात्र चयन हुने व्यवस्था रहेको उल्लेख गर्दै निर्वाचनअघि प्रधानमन्त्री घोषणा गर्नु संविधानविपरीत र जनतालाई भ्रममा पार्ने कार्य भएको बताउनुभयो। उहाँले पुँजीवादी व्यवस्थामा विज्ञापन शैलीको प्रचार भए पनि बहुमत नआएसम्म प्रधानमन्त्री बन्न नसकिने यथार्थ औँल्याउनुभयो।
उहाँले भ्रष्टाचारविरुद्ध उठेका नेताहरू स्वयं भ्रष्टाचारको मुद्दामा मुछिएको, पाँच करोड धरौटीको स्रोतबारे प्रश्न उठाउँदै राजनीतिक एजेन्डामा अडान छ कि छैन भन्ने कुरा जनताले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो। साथै आपतविपतका बेला राज्य संयन्त्र निष्क्रिय देखिएको घटनालाई उदाहरण दिँदै खोक्रा आश्वासनमा विश्वास नगर्न आग्रह गर्नुभयो।
कार्यक्रममा वर्गसंघर्ष विना आमूल परिवर्तन सम्भव नहुने, किसान आन्दोलनमार्फत मोहियानी हक, क्षतिपूर्ति र विस्थापनविरुद्धका संघर्षले किसानको जीवनस्तर उकास्न योगदान दिएको उल्लेख गरियो। एमसिसी पक्षधरलाई समर्थन गरे देश उपनिवेश बन्न सक्ने चेतावनी दिँदै सिद्धान्त, विचार र घोषणापत्रका आधारमा मात्र समर्थन गर्नुपर्ने धारणा व्यक्त गरियो।
कार्यक्रम नेमकिपा भनपा–९ दत्तात्रय समितिका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न भएको थियो। भेलामा इन्द्रबहादुर प्याथ र रामकृष्ण प्रजापतिले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here