भक्तपुर नपामा अनुगमन तीव्र, दर्ता बिना सञ्चालित पसल र म्याद नाघेका सामान नष्ट

0
179

भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाको अनुगमन समितिले फलफूल तथा खाद्य पसलहरूको अनुगमन कार्य तीव्र बनाएको छ। अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा बिहीबार र शुक्रबार च्याम्हासिंह, देगइना र सल्लाघारी क्षेत्रका फलफूल तथा खाद्य पसलहरूमा अनुगमन सम्पन्न गरिएको हो।
अनुगमनका क्रममा देगइना क्षेत्रमा पेटीमा राखी सञ्चालन गरिएका केही पसलहरू दर्ता बिना सञ्चालन भइरहेको पाइएको संयोजक गोराले जानकारी दिनुभयो। न्यू ब्रम्हायणी जुस एण्ड फुड सेन्टरमा पेटी तथा पेटी बाहिर सामान राखी बिक्री नगर्न, मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिइयो। साथै म्याद नाघेका कोक २ र फाण्टा १ जफत गरी नष्ट गरिएको छ। तराजु नविकरणको कागजात नभएकाले तीन दिनभित्र कागजातसहित उपस्थित हुन र प्याकेजिङ खाद्यवस्तु खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखेर मात्र बिक्री गर्न निर्देशन दिइएको छ।
सृष्टि फुड सेन्टरलाई तराजु तीन दिनभित्र नविकरण गर्न निर्देशन दिइएको छ भने लक्ष्मी स्वीट एण्ड प्यालेसमा प्रयोग भइसकेको पुरानो पकाएको तेल ४ लिटर जफत गरी नष्ट गरिएको छ। के.ओ.डी. स्टोरमा म्याद नाघेका मखन ७ प्याकेट, चोकोस ४ प्याकेट र प्रकृति मैदा ५ प्याकेट जफत गरी नष्ट गरिएको छ। साथै पसल दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
सुनिता थापाको फलफूल पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिइएको छ। ताज फुड सेन्टरमा तराजु नविकरणको कागजात नभएकाले नापतौल विभागमा दर्ता गर्न निर्देशन दिँदै म्याद नाघेका क्याम्पा जुस ३ वटा जफत गरी नष्ट गरिएको छ।
जयकाली फ्रुट सेन्टरमा तराजु नविकरण नभएकाले जफत गरिएको छ भने म्याद नाघेका बदाम जुस ७, ड्यु (१ लिटर) ६, हाफ लिटर ५, जम्बो १, जम्बो कोक १, स्प्राइट १ र ड्रिंको जुस ४ वटा जफत गरी नष्ट गरिएको छ। रावनम फ्रुट सेन्टरलाई तीन दिनभित्र दर्ता तथा तराजु नविकरण गर्न निर्देशन दिइएको छ।
त्यसैगरी च्वङ्गा गणेश स्टोरलाई पसल दर्ता प्रमाणपत्रसहित तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिँदै म्याद नाघेका फाण्टा जम्बो २, हाफ लिटर ४, एक लिटर १ र रियल जुस ६ वटा जफत गरी नष्ट गरिएको छ।
अनुगमनमा अनुगमन समितिका सदस्य श्यामकृष्ण खत्री, रिता फसिकवा, स्यानिटेशन उपशाखा प्रमुख दिलिपकुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर उपशाखाकी मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्र.स.नि. तेजप्रसाद खतिवडा र कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य संघ भक्तपुरका राजु त्वनाबासु, घरेलु तथा साना उद्योग संघकी सुमित्रा श्रेष्ठ तथा घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुलाको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here