भक्तपुर, मंसिर १३।
ख्वप बचत तथा ऋण सहकारी संस्था (ख्वप साकोस) ले ५५ वर्षमाथिका सदस्यहरूको लागि आयोजना गरेको दाप्चा क्षेत्रको सांस्कृतिक तथा भौगोलिक अध्ययन–अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। काभ्रे पलान्चोक जिल्लास्थित नमोबुद्ध नगरपालिका–८ मा पर्ने दाप्चा भिमसेन, पंचबुद्ध र नमोबुद्ध क्षेत्र अवलोकनमा ९५ जना सदस्य सहभागी थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मजदूर किसान पार्टीका सचिव एवं पूर्व सांसद प्रेम सुवालले दाप्चा क्षेत्रको ऐतिहासिक महत्त्व, नेवार बस्तीको सांस्कृतिक गहिराइ, र पुरानो व्यापारिक मार्गको पृष्ठभूमिबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरे। उहाँले पूर्वी नेपालबाट काठमाडौं प्रवेश गर्ने मुख्य मार्गका रूपमा दाप्चाको भूमिका, पुरानो पाती–पौवा र दुङ्गे धाराको उपयोग, तथा राजमार्ग निर्माणपछि स्थानीय व्यापारमा आएको गिरावटबारे स्थानीयसँगको संवादमा सिकेका अनुभव साझा गरे।
भक्तपुर नगरपालिका–४ का वडाअध्यक्ष उपेन्द्र सुवाल, नेमकिपा जिल्ला उपाध्यक्ष न्हुछे भक्त फोजु, दाप्चा उपाध्यक्ष तथा स्थानीय विष्णुभक्त श्रेष्ठ, र पंचलाल श्रेष्ठले दाप्चाको सांस्कृतिक सम्पदा, स्थानीय जीवनशैली, मन्दिर सरसफाइ, स्थान व्यवस्थापन तथा मंसिर १८ गते हुने भिमसेन मन्दिरको खट जात्राबारे जानकारी प्रदान गरे। उनीहरूले नेवार समुदायको एकता, कला–संस्कृति संरक्षण र स्थानीय सहभागिताको आवश्यकता जोड दिए।
ख्वप साकोसका अध्यक्ष राजकुमार लघुले सहकारीक्षेत्रमा बढ्दो ब्याज लोभका कारण बजारिया सहकारीतर्फ आकर्षण बढिरहेको बताउँदै, सुरक्षित बचत तथा परिचालनका लागि स्थानीय सहकारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। स्वास्थ्य उपसमितिका लक्ष्मीनारायण सुवालले भ्रमणले सदस्यहरूमा सांस्कृतिक समझ, ऐतिहासिक ज्ञान र सामाजिक अन्तरक्रियामा योगदान पुर्याएको बताएका छन्।
संस्थाले भ्रमणलाई शैक्षिक, सूचनात्मक र सांस्कृतिक संरचना तथा इतिहास बुझ्ने महत्वपूर्ण अवसरका रूपमा सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।


















