भाज्या पुखु परिसरमा सरसफाइ कार्यक्रम
भक्तपुर, मंसिर १५ । भक्तपुर नगरपालिका–१ स्थित ऐतिहासिक भाज्या पुखु परिसरमा आयोजित सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले सरसफाइलाई संस्कारको रूपमा विकास गर्न आवश्यक रहेको बताउँदै ऐतिहासिक सम्पदाको संरक्षण भए पर्यटन तथा आर्थिक स्तर दुवै उकासिनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो -” भक्तपुर नगरपालिकाले मंसिर २० गते हुने योमरी प्रतियोगितालाई उत्सवको रूपमा तयारी गरिरहेको छ, जहाँ स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागीता रहने अपेक्षा गरिएको छ।”
साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नपाले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गर्दै आएको समेत उहाँले बताउनुभयो ।
यसैबीच वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले सफाइ अभियानलाई नियमित र प्रभावकारी रूपमा अघि बढाउन जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दा सबैको सक्रियता अनिवार्य रहेको बताउनुभयो। उहाँले भक्तपुरलाई “सिकाइ केन्द्र” को रुपमा विकसित गर्न निरन्तरता आवश्यक रहेको उल्लेख गर्नुभयो।
वडा नं. १ का वडा अध्यक्ष श्यामकृष्ण खत्रीले २०७४ सालदेखि पाक्षिक सरसफाइ कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको जानकारी गराउँदै भक्तपुरका पोखरी, खुल्ला क्षेत्र, पिठ तथा सम्पदा क्षेत्रहरूको नियमित सरसफाइले नगरलाई थप व्यवस्थित बनाएको बताउनुभयो। प्रत्येक १ र १५ गते हुने सरसफाइ कार्यक्रममार्फत विद्यालय, टिम तथा क्लबहरूलाई पनि सचेतना फैलाउँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्थानीय व्यक्ति, जनप्रतिनिधि तथा कर्मचारी लगायत सरोकारकालाहरुको उपस्थिति रहेको थियो ।


















