सत्य राम कासिछ्वा
पद र पैसाको शक्ति देखाई
निमुखाको सम्पत्ति कब्जा गर्ने
आज जनताको सेवाको नाउँमा
बनेका छन् जनताको उम्मेदवार
गरिब र निमुखा जनतालाई
डर त्रास देखाई खुल्ला आकाश र बाटो
कानुनको आधारमा कब्जा गरेर
बनेका छन् जनताको उम्मेदवार
सडक खोला मापदण्डकाे नाउँमा
आदिवासी जनजाति रैथानेलाई
कानुनका आधारमा विस्थापित गर्ने
बनेका छन् देशभक्त उम्मेदवार
विदेशी ऋण र सहयोग लिई
देशको विकास र समृद्धि देख्ने
दलाल विचारका नेताकार्यकर्ता नि
बनेका छन् देशभक्त उम्मेदवार
सामान्य जनताको जीवनचर्या
व्यवस्थाअनुसार सेवा पाउन
कष्टकर भए तापनि लाजै नमानी
बनेका छन् जनताको उम्मेदवार
एकपटकको नियुक्तिले
आजीवन सेवासुविधा उपभोगको
ऐनकानुन आफैं बनाउन
बनेका छन् जनताको उम्मेदवार
मेहनत लगनशील व्यक्ति
भन्दा पनि कार्यकर्ता आफन्त
आफ्नै सेवामा खटाउन
बनेका छन् जनताको उम्मेदवार
देशको स्रोत साधन
विदेशीको हातमा सुम्पिएर
देशको विकास गर्ने दलाली सोचले
बनेका छन् देशभक्त उम्मेदवार
जनताको श्रम र पसिना
सहकार्यको नाउँमा ठगेर
अपराध र भ्रष्टाचार गरे तापनि
बनेका छन् जनताको उम्मेदवार
जनताको आवाजलाई बुलन्द
बनाउने पत्रकार महोदय
आफैं शक्ति संचयको लागि
बनेका छन् जनताको उम्मेदवार


















