पछिल्लो केही दशकमा दमका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ । हाम्रो शरीरको फोक्सोको श्वास नली खुम्चिनु र धेरै खकार निस्कने अवस्थालाई दम भनिन्छ । यसले श्वास फेर्न गाह्रो हुने, स्वाँ–स्वाँ हुने (Wheezing) तथा खोकी लाग्ने गर्दछ । दमले कसैलाई सामान्य, कसैलाई दैनिक क्रियाकलापमा असर पार्छ र थोरैलाई ज्यानको खतरा पनि हुन सक्छ ।
Global Asthma Network ले २०१७–२०१८ मा १३५ वटा देशमा गरेको अध्ययनमा विश्वमा ३३ करोड ९० लाख दमका बिरामीहरू रहेको उल्लेख थियो । उक्त अध्ययनमा दैनिक १००० जनाको मृत्यु दमको कारणले हुने गरेको उल्लेख थियो । अस्पतालमा मृत्यु हुने कारणमा दम रोग २० औँ स्थानमा रहेको छ । नेपालमा ४.२–८.१ प्रतिशत जनसङ्ख्यामा दम रहेको पाइन्छ । अध्ययनअनुसार १८ वर्षभन्दा माथिका युवाहरूमा (७.७ प्रतिशत), १८ वर्षभन्दा मुनिका बालबालिकाहरूमा (८.४ प्रतिशत), दम धेरैलाई हुने पाइएको छ । बाल्य दम (Chlidhood Asthma) बालिका (महिला) हरूमा (७.३ प्रतिशत) भन्दा बालक (पुरूष) हरूमा बढी (९.५ प्रतिशत) रहेको पाइन्छ । तर, वयस्क अवस्थामा पुरूषहरूमा (५.४ प्रतिशत) भन्दा महिलाहरूमा (९.८ प्रतिशत) बढी रहेको पाइन्छ ।
दमका जोखिमहरू
एलर्जी (allergy) ः
परिवारमा (आमा, बुबा) एलर्जीका समस्या भएमा बालबालिकाहरूमा दम हुने जोखिम ३ देखि ४ गुणासम्म बढ्ने गर्दछ । धेरै बिरामीहरूमा दम बल्झिने कारण घरमै भएका एलर्जेन (allergens) हरूको सम्पर्कले हुने गर्दछ । घरमै हुने एलर्जेनहरू कुकुर र बिरालोको दिसा अथवा भुत्ला हुन सक्छ । त्यस्तै साङलो, कीरा, धुलोका कणहरू हुनसक्छ ।
स्वच्छता ः
जर्मनमा गरिएको एक अध्ययनअनुसार कृषि तथा पशुपालन क्षेत्रमा हुर्केका बालबालिकामा स्वच्छ वातावरणमा हुर्केका बालबालिकाको तुलनामा कम भएको पाइएको थियो । ५ वर्षको उमेरसम्म कृषि क्षेत्रमा हुर्केका बालबालिकामा कम एलर्जी देखिएको साथै दम पनि कम पाइएको थियो ।
भाइरल (Viral रोग ः
श्वास प्रणालीमा लाग्ने भाइरल सङ्क्रमणले दम हुने सम्भावना बढ्ने गर्दछ । बालबालिकामा श्वास प्रणालीमा भाइरल रोग लागेमा दम हुने सम्भावना ३–४ गुणाले बढ्ने गर्दछ ।
निमोनिया (Pneumonia) ः
निमोनिया भएका केही बिरामीहरूमा दम हुने सम्भावना बढ्ने गर्दछ । विशेष प्रकारका किटाणुहरूले
(Chlamydia + Mycoplasma) निमोनिया भएमा दम हुने सम्भावना बढ्ने गर्दछ ।
प्रदूषण ः
दम रोगको एउटा मुख्य कारण वायु प्रदूषण हो । निरन्तर प्रदूषित हावा श्वासमार्पmत फोक्सोमा जाँदा फोक्सो तथा श्वासनलीमा चोट लाग्ने गर्दछ । निरन्तर श्वास नलीमा चोट लाग्ने र निको हुने क्रममा दमको विकास हुने गर्दछ । सहरी क्षेत्रमा गाडीको धुवाँले दमका बिरामीहरू बढेको पाइन्छ ।
कार्यक्षेत्रमा जोखिम ः
कार्यक्षेत्रको प्रतिकूल असरका कारणले हुने दमलाई Occupational Asthma भनिन्छ । धुलोको कण, धातुको कण, चिसो वातावरणलगायत २५० भन्दा बढी तत्वले दम बढाउन सक्छ । कार्यक्षेत्रमा एलर्जेनको सम्पर्कमा हुँदा दमका लक्षणहरू बढ्ने र कार्यक्षेत्रबाट टाढा हुँदा लक्षणहरू कम हुने गर्दछ । त्यस्तो अवस्थामा कार्यक्षेत्र परिवर्तन गरी दमबाट जोगिन सकिन्छ ।
गर्भ अवस्था ः
गर्भ अवस्थामा आमाको शरिरमा भिटामिन डि (Vitamin D), भिटामिन ई को कमी भएमा, आमाले धूमपान गरेमा, आमाले धेरै चिन्ता लिएमा जन्मिने बच्चामा दमको जोखिम बढ्ने गर्दछ ।
अन्य कारणहरू ः
बालक÷शिशु अवस्थामा पर्याप्त मात्रामा आमाको दूध नखाएमा, मोटोपन भएमा, बाल्य अवस्थामा अत्यधिक एन्टिबायोटिक (Antibiotics) सेवन गरेमा दम हुने सम्भावना बढ्ने गर्दछ ।
दमका लक्षणहरू
बिरामीहरूमा दमका लक्षणहरू फरक फरक हुन सक्छ । कसैलाई हिँड्दा, व्यायाम गर्दा गाह्रो हुने, कसैलाई छिटो छिटो लक्षण देखिने हुन सक्छ भने कसैलाई सिकिस्त भई अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ । दमका केही लक्षणहरू ः
१) श्वास फेर्न गाह्रो हुने
२) स्वाँस्वाँ हुने
३) छाती दुख्ने
४) राती सुत्न नसक्ने
५) रूघाखोकी लाग्ने आदि ।
दमको रोकथाम
दम बढाउने तत्वहरूको पहिचान गर्ने ः
हरेक दमका बिरामीहरूमा दम बढाउने निश्चित तत्वहरू हुन्छन् । ती तत्वहरूको पहिचान बिरामी आफैले गरी टाढा बस्नुपर्छ । सामान्यतया दम बढाउने तत्वहरूमा वायु प्रदूषण, धूमपान, एलर्जी, चिसो, हावा, भाइरल सङ्क्रमण, व्यायाम, घरपालुवा जनावर, कीराहरू, फूलका कणहरू पर्दछ । निश्चित एलर्जेन तत्वहरूबाट टाढा रहँदा पटक पटक हुने दमबाट जोगिन सकिन्छ ।
धुवाँबाट बच्ने ः
दमका बिरामीहरू कुनै प्रकारको धुवाँको सम्पर्कले दमका लक्षणहरू बढ्न सक्छ । गाडीको धुवाँ, धूमपान, दियोको धुवाँ, धुप तथा कुनै प्रकारको आगोको धुवाँबाट दमका बिरामीहरू टाढा बस्नुपर्छ ।
चिसोबाट बच्ने ः
चिसो मौसममा श्वास नलीको सङ्क्रमण छिटो हुने गर्दछ । रूघाखोकी बढेसँगै दमका लक्षणहरू बढ्नाका साथै सिकिस्त हुन सक्छ । सिकिस्त अवस्थामा दमका बिरामीलाई समयमै उपचार नगरे बिरामीको मृत्यु हुन सक्छ ।
खोप लगाउने ः
पटक पटक श्वास नलीमा भाइरल सङ्क्रमण भएमा वा निमोनिया भएमा दम बढ्न सक्छ । एन्फलूएन्जा र निमोनियाविरूद्धको खोपले यी किटाणुबाट हुने सङ्क्रमण कम गर्न सकिन्छ । वार्षिक एन्फलूएन्जाको खोप र १९–६४ वर्षका दमका बिरामीले प्रत्येक ५ वर्षमा र ६५ वर्ष माथिका दमका बिरामीले एक पटक न्युमोकोकल खोप लगाउनुपर्छ ।
नियमित औषधि सेवन ः
दमका बिरामीले चिकित्सकले दिएको औषधि नियमित र सही तरिकाले सेवन गर्नुपर्छ । दमको औषधि मुख्यतया मुखले तान्ने हुन्छ । धेरै बिरामीले मुखले तान्ने औषधि सही तरिकाले सेवन नगर्दा दमको अवस्था सुधार नभएको पाइन्छ ।
चिकित्सक परामर्श ः
दमका बिरामीहरू स्वाँस्वाँ हुँदा, रूघाखोकी लाग्दा, दमका लक्षणहरू बढ्दा चिकित्सकको परामर्शमा जानुपर्छ । समयमै रूघाखोकी, भाइरल सङ्क्रमणको उपचार भएमा दमका लक्षण सिकिस्त हुनबाट जोगिन सकिन्छ । दम समयमा उपचार गरे निको हुने रोग हो । समयमा उपचार नगरे दीर्घ रोगमा परिणत हुन सक्छ । त्यसैले दम दीर्घ रोगमा परिणत हुन नदिन एलर्जेनहरू बाट टाढा रहनुपर्छ र नियमित औषधि सेवन गर्नुपर्छ ।
साभार ः The Dawn,२०८१ पुस ।
दम रोगबारे केही कुरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















