भक्तपुर, पुस २५। भक्तपुर नगरपालिका वडा नं ९ सुर्यमढी स्थित प्रगति पुस्तकालयको आयोजनामा ३ महिने आधारभूत चित्रकला तालिम बिहिवारबाट सुरु भएको छ ।
प्रगति पुस्तकालयका अध्यक्ष रविन्द्र प्रसाद कुसीले प्रगति पुस्तकालयले नयाँ पुस्तालाई आकर्षित गर्ने उद्देश्यले चित्रकला तालिम संचालन गरेको बताउनुहुदै विद्यार्थीमा निहित सीप उजागर गर्ने पुस्तकालयको उदेश्यको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा पुस्तकालयका सचिव श्रीराम कासिछ्वाले भक्तपुर नगरमा रहेका पुस्तकालयको तथ्यांक प्रस्तुत गर्नुहुदै प्रगति पुस्तकालयले केवल पुस्तक अध्ययन र पत्रपत्रिका अध्ययनमा मात्र सिमित नराखि पुस्तकालयले सामाजिक दायित्व पनि निर्वाह गर्दै आइरहेको र सामाजिक गतिविधिमा सकृय सहभागी हुँदै आइरहेको पनि बताउनुभयो ।
तालिमका प्रशिक्षक विकास तमखुले आधारभूत चित्रकला तालिमबारे जानकारी दिनुहुदै तालिममा नियमित रुपमा उपस्थित हुनुपर्ने र अभिभावकहरुले बालाबालिकाको पढाइ र सिर्जनशीलतामा पनि ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कक्षा ५ देखि कक्षा ७ सम्मका विद्यार्थीलक्षित उक्त तालिम आयोजना गरेको आयोजक समितिले जनाएको छ ।


















