जे देखेँ, भोगेँ र सिकेँ ! आशा, भरोसा, के, कसको ?

0
293

डा.धन रत्न शाक्य- साइक्याट्रिष्ट.

मान्छेको आसा भरोसा सन्तानमा गएर झुन्डिरहेको हुन्छ। बुढेसकालको लाठी बनोस्, दु:खको साथी बनोस्, आवश्यक परेको बेलामा भरोसाको आशाले अक्सर सन्तानको चाहना जन्मिने गर्छ । प्रकृति, धर्म र दुनियाले पनि यस्तो अभिष्टको आडमा हुने मान्छेको कर्म र कर्तव्य निर्वाहलाई सर्वोच्च मर्यादामा राखेको देखिन्छ। सन्तानले त अक्सर आशा नै नगरी पनि अभिभावकबाट माया, ममता, शुभेच्छा, हरेक खालका आवश्यकता, सुख, सम्पत्ति, सुविधाहरु र उनीहरूको क्षमता अनुसार मार्ग निर्देशन पाएका हुन्छन् । अपवाद त जे कुराको पनि हुन्छ । तर जब उनीहरु हुर्की आफ्ना घरजम गरिसक्छन्, जुन बेला अभिभावकलाई सन्तानबाट आशा भरोसाको जरूरत हुन्छ, अब धेरै सन्तानहरुको नजरमा अरु नै धेरै कुराहरु पर्दछन् । आफ्नै अरू धेरै काम, बाध्यता, कमिकमजोरी र आवश्यकताहरुले घेरिँदा हुर्किसकेका धेरै सन्तानहरुको प्राथमिकतामा आमाबा नजर आउँदैनन् ।

‌सन्तानका लागि पनि आमाबुबा ईश्वर समान निशर्त, बिना भेदभाव, नि:स्वार्थ जन्म दिन्छन्, भरपोषण गर्छन् र हुर्काउँछन् भन्ने छ । तर यथार्थ सबैका लागि यस्तो आदर्श थोरै मात्र भएको नजर आउँछ । यद्यपि कति अभिभावक यस्तो कामकर्तव्य, दायित्व र कर्मबाट बिमुख भ‌ई आफ्ना सन्तानहरु बीच पनि काखापाखा गर्नपुग्छन् । सन्तानला‌ई बाटो देखाउने भन्ने कति अभिभावक आफैं दुनियाँको रसरंग भुलभुलैयामा हराएर बेहोसीमा आफ्नो कर्मबाट बिचलित रहन्छन्, आफ्नै कारणले सन्तानलाई बाँच्नु र मर्नुको दोसाँधमा बिना सहारा आषाढकाे बाढी भेल जस्तो यो जालिम दुनियाँमा छाडीदिन्छन् । हरपल हरक्षण जीवन र जगतसँग जुध्दाजुध्दै आफ्नो लक्ष्य त भुल्छन् नै, त्यस्ता सन्तानले जीवनयात्राको न्यूनतम् अनुभूतिसम्म पनि गर्न पाएका हुँदैनन् ।

इमानदार शिक्षक कर्तव्य ठानेर आफैंलाई समेत भुलेर विद्यार्थीलाई बाटो देखाउँछन् । असल शिक्षक, गुरु वा धम्मद्रष्टा पाउनु भनेको विद्यार्थी, चेलाको लागि अहोभाग्य नै हुने गर्छ । धेरै गुरुहरु पछि विद्यार्थीहरुले आफ्नो बिगत र शिक्षकको गुण बिर्सेको तीतो यथार्थ ओकल्नसम्म सक्दैनन्; मनमा पाली अन्तिम सास फेर्छन् । बाटो पकडिसकेपछि र गन्तव्यमुखी भएपछि अब ती विद्यार्थीहरु बाटो र लक्ष्य अर्थात् जीवन र दैनिकीमा यति अभ्यस्त हुनपुग्छन् कि सरदरमा अक्सरले फर्केर आफ्नो पृष्ठभूमि, धरातल, बिगत, सहयोगी हातहरु, मनकारी साथहरु र शुभेच्छुक आत्मजनहरु सम्झँदैनन्। हुन त शिष्यको औंलै दक्षिणा माग्ने, शरणागत शिष्यलाई उम्लेको लोहा पिउन सल्लाह दिने वा मन पर्ने चेलालाई काखा, मन नपर्नेलाई पाखा पनि पर्न नदिने शिक्षक गुरुहरुको दृष्तान्तले हाम्रा लोक, धर्म, दर्शन साहित्य रंगिएका छन् । अहिलेको अवस्थामा त झन् शिक्षा ब्यापारभन्दा पनि तल गिरेको अनि यसमा संलग्न शिक्षकहरुका लागि विद्यार्थीको हितभन्दा ज्यादा स्वार्थको राजनीति र अरु नै कुरा प्राथमिकतामा परेको आम यथार्थ छ । शिक्षाको नाउँमा शिक्ष‌‍‌‌ण कम र ब्यापार वा अरू कुरा नै बढी गर्छन् शिक्षक भनाउँदाहरु पनि ।

दाजुभाइ, दिदीबहिनी, घर परिवार र इष्ट मित्रहरू दुःखका बेला काम आउँछन् भनेर भनिन्छ र त्यसै अनुसार अप्ठ्यारो, गाह्रो साह्रो सहेरै पनि सम्बन्ध निभाउन खोजिरहेको हुन्छ । कतिपय त यो सम्बन्ध निभाउने ध्याउन्नमा आफ्नो जीवन र साधनश्रोत रित्याइरहेका हुन्छन् । समाज, दुनियाँ र वास्तविकता ठण्डा दिमागले नियाल्ने हो भने मनमुटु नराम्ररी निमोठिन्छ । अक्सर नातेदारहरु दु:खमा साथ त हुँदैनन् नै; उल्टो दुःख, पीडा, घाउमा नुनचुक छर्कने, खेदो खन्ने हुन्छन् । सुखकै बेला पनि पाएसम्म थाहा नदिई निचोर्ने, हुँदै भएन भने निर्लज्ज रुपमा थाहा दिई दिई खुलेआम चुस्ने सोस्ने गर्छन् । रोएर, दु:ख देखाएर वा धम्काएर, लुटेर वा धोका दिएर जसरी हुन्छ; आफ्नै दुनो सोझ्याउने हुन् सब । मुखमा राम राम गर्यो, भित्र बगलीमा छुरी राख्छन् दुनियाँ ।

साथीभाइ, बन्धुबान्धव, सहकर्मी, संगीहरु हर मोड र घुम्तीमा साथ रहने भन्ने स्व:स्फूर्त बुझाइ एकातिर पाइन्छ भने अर्कोतिर तिनीहरु साथ दिनुको अभिनय नाटक गर्छन्, आफ्नो अभिष्ट र स्वार्थ सिद्ध गर्ने दाउ खोजिरहन्छन् भन्ने वस्तुगत यथार्थ भेटिन्छ । स्वभावत: आफैं अगाडि रहन देखिन अनेकन् दृश्य अदृश्य दाउपेच, चाल र प्रपञ्च चलिरहन्छन् । त्यसैले, संगतमा होशियार रहनुपर्ने बुझक्कडहरुको एकरत रट्याइँ नै रहने गर्दछ ।

हर पेशा र क्षेत्रका कर्मीहरु, व्यवसायी, राजनीति कर्मी, पार्टी, कार्यकर्ताहरुप्रति उपभोक्ता, ग्राहक, सेवाग्राही र नागरिकहरुको ठुलो भरोसा र विश्वास हुन्छ । यस्तो भरोसा कतिपय त पहिलेदेखिको चल्दैआएको भनेर बिना विवेचना पुर्वाग्रही खालले निरन्तर रहिआएको पनि पाइन्छ । बेइमान र अनुचित रुपमा चाँडो मुनाफा खोज्ने वा सेवाग्राहीको मतलब नराख्ने खराब पेशाकर्मीहरुका कारण पहिले इज्जत गरिने काम, कर्म सहित् धेरैजसो पेशा र कर्मीहरु बदनाम हुँदै गैरहेका छन् । विश्वासको खडेरी नै लागेको भान हुन्छ सबैतिर ।

समाज, नेतृत्व, सरकार, राज्य व्यवस्था र विश्वजनिन मानवता मान्छे मात्र होइन, सिंगो संसार र दुनियाँको आडभरोसा र सहाराको सबभन्दा व्यापक र अन्तिम श्रोत भनिन्छ । आदर्श जे जस्तो भएपनि यथार्थ भने नेपाल जस्तो देशको शासन व्यवस्था, समाज र विश्वकै कतिपय घटना विवेचनाले यस्तो आशा आधारहिन वा दिवा स्वप्न मात्रै भएको र हुने कुरा प्रष्ट देखिन्छ, हुँदैछ। धर्म, पद, ऐश्वर्य, मानसम्मान, ईज्जत्, शासन, व्यवस्था, सेवा, शिक्षा, पेशाकर्म आदि जस्ता आदर्शको पगरी लगाएर नाटकै ज्यादा गरेको भेट्टिन्छ । परोपकार र समाज कल्याणको नाउँमा स्व-कल्याणै गरेको बुझिन्छ । नेपाल जस्तो देशको सरकारले जनताको आफ्नो शक्ति, साधनश्रोत, धनसम्पत्ति, पद, नितिनियम, कानुन, पार्टी र सत्ताको आडमा जनता र राज्यको दोहन नै गरेको भेट्टिन्छ । महाभुकम्प, कोभिड महामारी जस्ता विपद्का बेलामा समेत सरकार चलाउने ठेकेदारहरुका लागि राज्यको कोष सहित आफैंमा निरीह जस्तै भएका जनतालाई सबैतिरबाट सोस्ने र आफूलाई पोस्ने दशैं नै बनेको देखियो । बलिया, बांगाटिंगा, परपिडक र शोसकहरुको गोलो निर्मित यस्ता सञ्चालक शक्ति नै आम विश्व, समाज र वर्तमानको अधिकांश वास्तविकता भएको देखिन्छ । फेरि यस्तै भुलभुलैयामा जनता, दुनियाँ, सेवाग्राही र कमजोर मानिसहरु मुख बाएर आशान्वित रहन्छन् । ठण्डा दिमागले सोच्ने हो भने, आधारहिन यस्तो भरोसाले संसारमा वास्तवमा दु:ख, पीडा, धोकाधरी, शोसन र बेदनाको व्यापार गर्ने असंख्य अथाह चक्रब्युह चलिरहेको बुझिन्छ । समग्रमा के भन्न सकिन्छ भने अरुमा आधारित आडभरोसा र साथसहयोग दिगो र भरपर्दो नहुने रहेछ ।

यसो बुझिरहँदा, आफूलाई आशाभरोसा गर्न पनि केहि आधार जरुरी पर्ने यथार्थबोध झन् बढी आवश्यक देखियो । विवेकी ज्ञानीहरु त झन्, कुनै पनि मान्छेलाई सबभन्दा बढी हानी त आफैंले गर्ने हो भनी आत्मज्ञान ओकल्छन् । आफू ज्ञानी, शिक्षित, सक्षम, सबल र सभ्य ठान्नेहरुको ज्ञान, शिक्षा, सिप, क्षमता र संस्कार भ्रम, मिथ्या, बसिकरण र षड्यंत्रको परिणाम हुँदा ठगिएको ग्लानिमा जीवन त्याग्छन् । बाहिरी आवरण र विज्ञापनमा छोपिएको सत्य समय घर्केपछि उजागर हुँदा आम मानिस दोसाँधमा उभिएको महसुस गर्दछन्। सबैतिरबाट आजित भएर आफैंलाई भर पर्दा आइपरेका आपदविपद र समस्याले गर्दा हतोत्साहित भएर चिन्तनमनन् गर्न सफल आत्मज्ञानीहरुले एक व्यक्तिको रुपमा आफूमा निहित रहने सिमा, कमिकमजोरी र स्वभाव देखेर बुझेर यसो भनेका हुन् । कसैलाई आफ्नै स्वास्थ्यले साथ छोडेकाे हुन्छ । कसैले आफ्नै बुद्धि, क्षमता, धनसम्पत्ति, साधनश्रोत वा अरु धेरै कुराहरुको अभावले गर्दा आफूमा निहित सम्भावनाहरु मेटिरहेका हुन्छन् । आफ्नो मनको स्वभाव चिनेर, बुझेर र त्यसै अनुसार संयम अपनाउन नसकेर गलत बाटोमा भट्किन पुग्छन् ।आफ्नो प्रवृत्ति, झुकाव र स्वभावको गुलाम बनेर सबभन्दा धेरै र ठूलो धोका पाइरहेका हुन्छन् । विद्या, धनसम्पत्ति, रुप, शरीर, बल, पद, नातासम्बन्ध जस्ता अनित्य, नासवान र असार कुराको भर पर्दा पनि अन्तमा पार नलाग्ने नै हुन्छ । आखिरमा यी कुनै कुराले मान्छेलाई आडभरोसा वा साथ दिने होइनन् ।

भनेपछि, यो संसारमा आशा गर्न, भर पर्न लायक केहि कुरा छ कि छैन त? प्रश्न आफैंमा बडो जायज, गम्भीर र भ्रमभेदी छ । आफ्नो धर्म, आफ्नो कर्म- मरणपछि पनि साथ जाने भनिन्छ । सद्जिविकाले जीवनपर्यन्त आनन्द दिन्छ कि? यथार्थपरक पहुँचले व्यावहारिक सुख मिल्ला कि? दुनियाँको विधिविधान र नियति अनुसार भित्र राम्रो बाहिर नाटक गर्दा हुन्छ कि? मैलो धुने जस्तो ध्यान भावना, योग गरेर मन टक्टकाउँदा हुन्छ कि? जीवन सुखदुःख, अँध्यारो उज्यालो, असल खराब सबै कुराको संगम भएको बुझी संयम धर्नुपर्ने हुन्छ रे । सकेसम्म अरुबाट कम आशा राख्ने, विश्वास गर्ने तर भर नपर्ने रे । आफूले अरुबाट जे जस्तो आश राख्ने हो त्यस्तै आशा आकांक्षा राख्न सिक्नू रे । आफ्नो परिश्रम र कर्ममा मात्रै भर पर्ने रे । उद्देश्य लिएर असल कर्म गर्ने तर फलको मात्रै आश राखेर कर्म नगर्नू रे। आवश्यकता घटाउनू भन्छ प्रकृति धर्म। अनावश्यक, अनुचित र धेरैसँग सम्बन्ध बनाउन नखोज्नू रे । सामुदायिक जीवन, प्रकृति मैत्री जिविका र स्वधर्म अनि मातृभाषामा आधारित गौरवले सुख र गौरवको खँदिलो जग तयार हुन्छ रे । पल पल जागरुक र सजग रहेर आफैले आफूलाई ट्र्याकमा राख्ने सत्चेष्टा सहित अरुप्रति पनि करुणा चित्त राखी अघि बढ्दा नै कल्याणको बाटो खुल्दै जानेछ। आशा भरोसाको खोजले तब गन्तव्य हासिल हुन्छ भन्छन् धम्मद्रष्टाहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here