भक्तपुरका बहाबहिहरु विशेष जानकारी

0
103

अखण्डशील महाविहार (बुलुचा), जेतवर्ण (तेखाचो), बौद्ध समंकृत (कुथुबही), जयकिर्ति (थथुबही), जेष्ठवर्ण (इताछेँ), लोकेश्वर (कुश्क्व), चर्तुब्रम्ह (साकोथा), यालाछेँ बही (यालाछेँ), सुवर्ण (सुकुलढोका), मन्जुवर्ण (बेखाल), प्रशन्नशील महाविहार (क्वाठण्डौं), दिपंकर (क्वाठण्डौं), कुलरत्न (क्वाठण्डौं), धर्मकिर्ति (क्वाठण्डौं), आदिपद्य (सूर्यमढी), खुसीबह (खोह्रे), मुनिबिहार (खँचा), इन्द्रवर्ण (इनाचो) र झौरबही (गोल्मढी)

१. अखण्डशील महाविहार


परिचय : भक्तपुर नगरको विभिन्न विहारहरूमध्ये अखण्डशील महाविहार एक हो । भक्तपुर वडा नं. ४ मा रहेको यस प्राचीन महाविहारमा प्रवज्या सम्बर (भिक्षु बनाइने कार्य) गरिने कार्य निरन्तररूपमा भइरहेको छ । ‘आदि बाहाः’ भनेर पनि परिचित यो बाहाःलाई स्थानीय जनताले अखः बाहाः पनि भनिन्छ । बाहाः वास्तुस्वरूप अनुसार वर्गाकार चोक भएको यस अखःबाहाको पूर्वमा राममन्दिर जाने बाटो र गाःहिटि, दक्षिणमा तालाको, पश्चिममा तालाको थुम्को (डम्प्mव) र उत्तरमा बुलुचा हिटि रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि : नेपालमा प्रचलित विभिन्न वंशावलीहरूमध्ये एक मछिन्द्रनाथ (बुंगद्यो) को वंशावलीमा उल्लेख भएअनुसार गोरखनाथ योगीको कारणले काठमाडौँ उपत्यकामा १२ वर्षसम्म पानी नपरेर हाहाकार भइरहेको बखतमा जलवृष्टि गराउन लोकनाथ (करुणामय) लाई कामारुकामाक्षबाट ल्याउनको लागि भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका बज्राचार्य बन्धुदत्त र पाटनको ललित किसान सहितको टोली जानुभएको उल्लेख छ । त्यहाँबाट उहाँलाई ल्याई भक्तपुरमा विराजमान गराउनको लागि यो अखण्डशील विहार निर्माण गरेको हो भन्ने जनविश्वास छ । त्यसैले पाटनमा आज पनि रथ तान्नु अघि अखःबाहाः भनेर एकचोटी भन्ने चलन अहिलेसम्म पनि रहेको सुनिन्छ । अखण्डशील विहारमा रहेको सबैभन्दा पुरानो अभिलेख विहारको क्वापाद्यो (अक्षोभ्य बुद्ध) विराजमान गराइएको गर्भगृहमा रहेको ने.सं. ७७७ को शिलापत्र हो । उक्त शिलापत्रमा बज्राचार्य देवज्योतिले ने.सं.७७५ मा जिर्णोद्धार गर्ने काम सुरु गरेर ने.सं. ७७७ मा पूरा गरेको उल्लेख भएको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : यस अखःबाहाःमा करिब २० बज्राचार्य परिवार सङ्घ सदस्यहरू रहेका छन् । बाहाःमा सङ्घमार्फत पालैपालो दिनहुँ बिहान नित्यपूजा र साँझ (सन्ध्याकाल) मा सन्या गर्ने (मता बियेगु÷बत्ति चढाउने) कार्य गर्दै आएका छन् । वर्षैपिच्छे चैत शुक्ल पूर्णिमाको दिन यस अखः बाहाःको मूल चैत्यलाई योमारी चढाएर पर्व पूजा गर्दै आइरहेको छ । यो बाहाःको प्रमुख सम्पदाहरूमा क्वापाद्यो (अक्षोभ्य बुद्ध), मूल बज्रधातु चैत्य, आँगम देवता हेरुक चक्रसंवर रहेका छन् ।

२. जेतवर्ण महाविहार


परिचय : भक्तपुर नगरको वडा नं ३, तेखाचो टोलमा जेतवर्ण महाविहार रहेको छ । निवा बुद्धाचार्य (शाक्य) हरू प्रवज्जित गर्ने यो विहारलाई पाटनको हिरण्यवर्ण महाविहारको सिद्धहस्त र प्रख्यात धातुकलाको काम गर्ने निवाःशाक्यहरूको बाहाः भएकोले स्थानीय जनताले ‘निवाः बाहाः’ पनि भनिन्छ । बाहाःको वास्तुस्वरूप अनुसार वर्गाकार चोक भएको यस निवाः बाहाःको पूर्वमा बाराही मन्दिर, दक्षिणमा तेखाचो टोलको मूलबाटो, पश्चिममा तँचाकोने र उत्तरमा लस्कः देवताको मन्दिर रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : जेतवर्ण महाविहार स्थापनाका बारेमा स्पष्ट उल्लेख भएको अभिलेख हालसम्म प्राप्त भएको छैन । त्यसो भएतापनि गुणासिंह आजूले वर्तमान जेतवर्ण महाविहार क्षेत्रमा ने.सं. ७५१ देखि ७५४ तिर जग्गा खरिद गरेको देखिएकोले त्यस समयभित्र जेतवर्ण महाविहार स्थापना भएको अनुमान गरिएको छ । यस महाविहारको क्वापाद्योको बायाँ भित्तामा अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो अभिलेख राखिएको छ । राजा रणजित मल्लको समयमा भक्तपुर दरबारको प्रसिद्ध ‘लुँ ध्वाका’ (स्वर्णद्वार) बनाउने यस महाविहारका गुणाकर, रतिकर र प्रभाकरहरूले विश्वकर्मालाई ने.सं. ८७१ मा ‘हेलफ्वः’ चढाएको विवरण त्यस अभिलेखमा उल्लेख छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : निवा बाहाःमा करिब १०० घर निवा बुद्धाचार्य (शाक्य) परिवार सङ्घ सदस्यहरू रहेका छन् । यस बाहाःमा सङ्घको सदस्यबाट दिनहुँ पालैपालो बिहान नित्यपूजा गर्ने कार्य भइरहेको छ । प्रत्येक वर्ष यस निवाः बाहाःको मूल चैत्यलाई सिठी नखःको समयमा पूजा गर्दै आइरहेका छन् । त्यसैगरी, कुथुबहीमा पनि यस बाहाःका सङ्घले वर्षको ६ महिना नित्यपूजा गर्ने र त्यहाँको दीपङ्कर बुद्धको जात्रा सञ्चालन गर्दै आइरहेको छ । यो बाहाःको मूल सम्पदाहरूमा क्वापाद्योको रूपमा मैत्रेय बोधिसत्व, दिपङ्कर बुद्ध र मूल बज्रधातु चैत्य हुन् ।

३. बौद्ध समकृत विहार (कुथुबही)


परिचय : भक्तपुर नगरको वडा नं. १ भार्वाचो टोलमा बौद्ध समकृत विहार रहेको छ । स्थानीय जनताले ‘कुथुबही’ भनेर चिनिने यस विहार बही वास्तुकलास्वरूप चतुष्कोणाकारको रूपमा रहेको छ । पञ्जरां दान पर्व एवं सम्यक महादान पर्वमा ल्याइने दीपङ्कर बुद्धको मूर्ति यस विहारमा रहेको छ । यस विहारको पूर्वदिशामा इताछेँ/भार्वाचो टोल, दक्षिण दिशामा भार्वाचो ढोकाबाट काठमाडौँ जाने मोटरबाटो, पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा थथुबही रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि : बौद्ध समकृत विहार स्थापना भएको समय उल्लेख भएको अभिलेख अहिलेसम्म भेटिएको छैन । तर पनि यस विहार र अलि माथि रहेको जयकिर्ति महाविहार (थथुबही) को क्षेत्रफल, बहीको वास्तुस्वरूप आदि समान देखिएको हुनाले यो विहार थथुबही निर्माण गरिएको समयमै निर्माण भएको अनुमान गर्न सकिन्छ । अहिलेसम्म प्राप्त पुरानो अभिलेख ने.सं. ७४३ को ताडपत्रअनुसार राजा जगज्योति मल्लले क्वाठन्डू टोलका गुणसिंह नेवा बाडेलाई क्वथूखेलको घर, खेत दिएको कुरा उल्लेख गरिएका पाइन्छन् ।
बाहाःको सङ्घ, गतिविधि व सम्पदा : यस बौद्ध समकृत महाविहारका सङ्घ सदस्यहरूमा, चतुर्ब्रह्म महाविहारका बज्राचार्य (चिवागाःखलः, घ्याङ्गखलः, मायेके खलः) र जेतवर्ण महाविहारका बुद्धाचार्य (शाक्य) हरू रहेका छन् । उहाँहरू दुवै खलकहरूमध्ये प्रत्येक खलकले छ – ६ महिनामा आलोपालो गरी दिनदिनै प्रत्येक बिहान नित्यपूजा र सन्ध्याकालमा सन्यापूजा (दीप पूजा) गर्ने कार्य हुँदै आएका छन् । त्यसरी नै प्रत्येक वर्ष सम्पन्न हुँदै आएको पञ्जरां दानपर्व र सम्यक महादान पर्वमा पनि दीपङ्कर बुद्धको जात्रा सम्पन्न गर्दै आएका छन् । यस बहीका मूल सम्पदाहरूमा बहीको गन्धूरी देवता शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, बहीको मूल चैत्य, महाँकाल, आगं देवता बज्रदेवी आदि हुन् ।

४. जयकीर्ति महाविहार (थथु बही)


परिचय : भक्तपुर नगरको वडा नं. १ इताछेँ टोलमा जयकीर्ति महाविहार रहेको छ । स्थानीय जनताले थथुबही भनेर चिनिने यस बही, वास्तुकला स्वरूप अनुसार चतुष्कोण चोक भई चारैतिर बहीघरले घेरिएको छ । भक्तपुर नगरको बही वास्तुकलाअनुसार एकमात्र मूल स्वरूपमा बाँकी रहेको बही भएको कारणले गर्दा यसको महत्वपूर्ण स्थान छ । यस बहीको बाहिरी परिसर (भूइँख्यः) मा ने.सं. ७८७ सालदेखि प्रत्येक वर्ष सम्यक महादान पर्व मनाउँदै आइरहेको छ । पञ्जरां दान पर्व एवं सम्यक महादान पर्वमा ल्याइने दीपङ्कर बुद्धको मूर्ति यस विहारमा रहेको छ । यस विहारको पूर्वदिशामा नकपोखरी (नःपुखु) तथा इताछेँ टोल, दक्षिण दिशामा कुथुबही तथा काठमाडौँ भक्तपुर बसस्टप, पश्चिम दिशामा सिद्धपोखरी र उत्तर दिशामा नगरकोट जाने सडक छन् ।
ऐतिहासिक पृष्ठभूमि : जयकीर्ति महाविहार थथुबही कुन समयमा स्थापना भएको हो भन्ने उल्लेख भएका अभिलेख अहिलेसम्म भेटिएको पाइँदैन । तर पनि यस बहीसँग आबद्ध एक भारदारले ने.सं. २८९ मा यस बहीको अगाडि एक ‘नःपुखु’ निर्माण गरेका थिए भन्ने कुरा गोपालराज वंशावलीमा उल्लेख भएका हुनाले सो समत्न्दा अगाडि नै यस बही निर्माण भएको देखिन्छ । यस वहीको क्वापाद्योको पादपिठमा रहेको ने.सं. ६६६ को अभिलेख नै सबैभन्दा पुरानो अभिलेख हो । राजा जितामित्र मल्लको पालामा जयरत्न बज्राचार्यले थथुवही जिर्णोद्वार गरिएको ने.सं. ७९४ को अभिलेख क्वापाद्योको मूलद्धारको दायाँबायाँ रहेको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : जयकीर्ति महाविहारमा चतुर्ब्रह्म महाविहारको बज्राचार्य (चिवागाःखलः, घ्याङ्गखलः, मायेके खलः) र ज्येष्ठवर्ण महाविहारको बुद्धाचार्य (शाक्य) हरू सङ्घका सदस्य रूपमा रहेका छन् । यी दुई महाविहारका सङ्घ सदस्यहरूबाट आलोपालो गरी दैनिकरूपमा बिहान नित्यपूजा र सन्ध्याकालीन समयमा सन्यापूजा (दीपपूजा) गर्ने कार्य हुँदै आएका छन् । त्यसरी नै भक्तपुरको प्रसिद्ध पञ्जरां दान पर्व र सम्यक महादान पर्वमा दीपङ्कर बुद्धको जात्रा गर्दै आइरहेका छन् । यस बहीका मूल सम्पदाहरू बहीको गन्धूरी देवता (पद्मपाणी बोधिसत्व), दीपङ्कर बुद्ध, मूल चैत्य, मुचलिन्द बुद्ध, आगं देवता चक्रसम्वर हुन् ।

५. ज्येष्ठवर्ण महाविहार


परिचय : भक्तपुर नगरको वडा नं. १ मा नै रहेका अर्को विहार ज्येष्ठवर्ण महाविहार हो । तँचाकोने स्थानमा स्थापना भएको महाविहार भएकोले स्थानीय जनताले यस महाविहारलाई ‘तँचाकोने बाहाः’ भनिन्छ । बाहाःको वास्तुकला स्वरूपअनुसार यो बाहाःमा वर्गाकार चोक छ । यस विहारमा रहेका सङ्घ सदस्यहरू बुद्धाचार्य (शाक्य) को प्रवज्जित (भिक्षु) गर्ने कार्य निरन्तररूपमा गरिँदै आएको छ । यस बाहाःको पूर्वमा इताछेँबाट तेखाचो जाने बाटो, दक्षिणमा भार्वाचो जाने बाटो, पश्चिममा नःपुखु र उत्तरमा इताछेँ रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : ज्येष्ठवर्ण महाविहार स्थापना भएको उल्लेख गरिएको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । त्यसो भए तापनि हालसम्मको प्राप्त भएको सबैभन्दा पुरानो यस बाहाःको अभिलेख यसै बाहाःको मूल चैत्यमा ने.सं. ८२० उल्लेख गरिएको छ । अक्षर सबै खिइसकेको एउटा शिलापत्र क्वापाद्यो घरको भित्तामा रहेको छ । यस विहारमा रहेका सङ्घ सदस्य बुद्धाचार्य (शाक्य) हरू काठमाडौँको तक्षबाहाबाट आएको भन्ने चलन छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : तँचाकोने बाहाःको बुद्धाचार्य (शाक्य) हरू करिब १५ परिवार सङ्घ सदस्यहरू रहेका छन् । यहाँको बुद्धाचार्य (शाक्य) हरू पहिला थथुबहीमा प्रवज्जित गर्ने कार्य गरिँदै आएको थियो । पछि यो बाहाः निर्माण गरिसकेपछि सम्पूर्ण परम्परा यही बाहाःमा सञ्चालन गर्दै आइरहेका छन् । आजभोलि बाहाःमा प्रत्येक दिन पालैपालो यहाँका सङ्घमार्फत बिहान नित्यपूजा गर्ने र साँझ सन्या गर्ने कार्य भइरहेको छ । प्रत्येक वर्ष यस बाहाःमा प्रत्येक महिनाको १ गते (सङ्क्रान्ति) र ग्रहणको समयमा बाहाःको आगंमा पूजा गर्दै आएका छन् । बाहाःको मूल सम्पदाहरूमा क्वापाद्यो शाक्यमुनि बुद्ध र मूल बज्रधातु चैत्य रहेको छ ।

६. लोकेश्वर महाविहार


परिचय : भक्तपुर नगरको वडा नं. २ मा रहेको लोकेश्वर महाविहार एक प्रसिद्ध महाविहार हो । स्थानीय भाषामा ‘लश्क बाहाः’ भनेर पनि चिनिएको यस विहारमा प्रवज्जित कार्य हुने गरेको छ । विहारको वास्तुस्वरूप अनुसारको चोक, यस विहारमा रहेको छैन । यस विहारको पूर्वमा खमाःबहाल, दक्षिणमा तापालाछिं, पश्चिममा इताछेँ र उत्तरमा कुस्कः टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : नेपालको विभिन्न वंशावलीहरूमध्ये एक बुंगद्यःको वंशावलीअनुसार काठमाडौँ उपत्यकामा गोरखनाथ योगीको कारण १२ वर्षसम्म पानी नपरेर हाहाकार भइरहेको समयमा जलवृष्टिको लागि सहकालका देवता श्री लोकनाथ (करुणामय) ल्याउनको लागि भक्तपुरको राजा नरेन्द्रदेव, काठमाडौँको बज्राचार्य बन्धुदत्त र पाटनको ललित किसानको टोली कलिगत संवत् ३७०० मा कामरुकामाक्ष जानुभएको कुरा उल्लेख गरिएको छ । लोकनाथलाई काठमाडौँ उपत्यकामा ल्याइसकेपछि सहकालको सुरुवात भएको मानिन्छ । यसरी ल्याइएको सहकालका देवतालाई पाटनमा स्थापना गरिएको भए तापनि त्यहाँ स्थापना गरिएको जस्तै करुणामयको मूर्ति भक्तपुरमा पनि स्थापना गर्न स्थानीयको सपनामा आज्ञा भए अनुरूप कलिगत संवत् ३७०१ मा यो लोकेश्वर महाविहार निर्माण गरिएको कुरा स्थानीय मानिसहरूले दाफा भजन गरिने सफूको पुष्पिका वाक्यमा उल्लेख भएको छ । भक्तपुरको एकमात्र प्रसिद्ध लोकेश्वरको मन्दिरको रूपमा रहेको यस विहारमा बिहानैदेखि नै भक्तजनहरूको उपस्थिति रहने गरेको छ । ने.सं. ९५० को ताम्रपत्र यस महाविहारको अहिलेसम्म प्राप्त पुरानो अभिलेखको रूपमा रहेको छ ।
विहारको सङ्घ, गतिविधि र सम्पदा : यस लोकेश्वर विहारमा करिब २० बज्राचार्य परिवारका सदस्यहरूको एक सङ्घ रहेको छ । सो सङ्घमार्फत पालैपालो दिनदिनै बिहान नित्य पूजा गर्ने र साँझ सन्या गर्ने (बत्ती बालेर चढाउने) कार्य निरन्तररूपमा भइरहेको छ । यस वाहाको मूल लोकेश्वरको मूर्तिलाई हरेक वर्ष गुंलागाः द्वितीया तिथिमा खतमा राखी नगर परिक्रमा गर्ने परम्परा रहेको छ । यस विहारको प्रमुख सम्पदामा क्वापाद्यः स्वरूप लोकेश्वरको मूर्ति, मूल बज्रधातु चत्ैय, धर्मधातु मण्डल र विभिन्न चैत्यहरू रहेको छ । यस विहारको आगं देवताको रूपमा चण्डमहारोषण रहेको छ ।

७. चतुर्ब्रह्म महाविहार


परिचय : भक्तपुरको दरबार क्षेत्र रहेको वडा नं. ५ मा यस चतुर्ब्रह्म महाविहार रहेको छ । तधिछेँ बाहाः भनेर पनि चिनिएको यस बाहाःलाई स्थानीय जनताले ‘बाहाः छेँ’ भनेर पनि भनिन्छ । उपत्यकाभित्र कै वेजोड बहाः वास्तुकलाको अनुपम नमुनाको रूपमा खडा भएको वर्गाकार चोक र चारैतिर बाहाःछेँ भएको यस तधिछेँ बाहाःमा प्रवज्या सम्वर (भिक्षु वनाउने) कार्य निरन्तररूपमा गर्दै आएको छ । पञ्जरां दान पर्व एवं सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर बुद्धको मूर्ति यस विहारमा रहेको छ । यस विहारको पूर्वमा साकोठा, दक्षिणमा टौमढी, पश्चिममा पच्पन्न झ्याले दरबार र उत्तरमा बालाखु टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : चतुर्ब्रह्म महाविहार ने.सं. ६११ सालमा राजा राय मल्लको शासनकालमा निर्माण भएको हो । कुमारीको विधिवत्रूपमा दरबारमा पूजा गर्न, काठमाडौँ तक्षबाहाःका प्रसिद्घ बज्राचार्य सुरतबज्रका माहिलो छोरा जीवचन्द्रलाई बोलाएर उहाँलाई स्थायीरूपमा बसोबास गराउनको लागि नै यस बाहाःको निर्माण गरिएको हो । चतुर्ब्रह्म महाविहारमा रहेकोे प्राप्त सबैभन्दा पुरानो अभिलेख राजा विश्व मल्लको शासनकाल ने.सं. ६७१ को एउटा तमसुक पत्रमा ‘तलमन्देत्वाः बहालछेँ’ उल्लेख भएको छ । यस बाहाःको विषय घटनावली टिपोटमा, दीपङ्कर बुद्घको गहनामा, बाहाःको तोरणमा, टुँडालमा, हस्तलिखित ग्रन्थको पुष्पिका वाक्य आदिमा विभिन्न अभिलेखहरू रहेका छन् ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : चतुर्ब्रह्म महाविहारमा चिवाग, घ्याङ्ग खलः, माय्केँ खलः, छुमा खलः, देगचा ल्युने खलः र तधिछेँ खलः गरी ६ खलका करिब १५० बज्राचार्य परिवार सङ्घ सदस्यहरू रहेका छन् । तधिछेँ बाहाःमा सङ्घमार्फत पालैपालो दिनदिनै विहान नित्यपूजा र साँझपख सन्या यायेगु (बत्ती चढाउने) कार्य भइरहेको छ । त्यसैगरी, दसैँ (मोहनी) र बिस्का जात्रामा सबै सङ्घ सदस्यहरूले आगंमा अनिवार्यरूपमा पूजा गरिन्छ । यस बाहाःका सङ्घ सदस्यहरूले भक्तपुरमा रहेका अरु बहाबहीहरूमा पनि बौद्ध परम्पराअनुसार पूजा र संस्कृति संस्कार गर्दै आइरहेको छ । त्यसमध्ये चिवागः, घ्याङ्ग खलः र माय्केँ खलःले थथुवहीमा ज्येष्ठवर्ण महाविहारका सङ्घ सदस्यहरूसँग र कुथुवहीमा जेतवर्ण महाविहारका सङ्घ सदस्यहरूसँग मिली नित्य पूजा, पर्व पूजा र दिपङ्कर बुद्घ जात्रा गर्दै आइरहेका छन् । विगतमा यस चतुर्ब्रह्म महाविहारका छुमा खलःले यालाछेँ बहीको नित्य पूजा, पर्व पूजा गर्दथ्यो । तधिछेँ खलःले झौरवहीको नित्य पूजा, पर्वपूजा र दीपङ्कर बुद्घ जात्रा गर्दै आइरहेका छन् । त्यसैगरी, यस खलःका बज्राचार्य, जयरत्नले ने.सं. ७८७ मा सम्यक महादान गरेको र पछि उहाँका सन्ततिहरूले पनि सम्यक महादान पर्वलाई निरन्तरता दिँदै आजसम्म पनि अविरलरूपमा निरन्तर यो दानपर्व चलि आइरहेको छ । हरेक वर्ष योमरी पूर्णिमाको चौथौँ दिनमा यस तधिछेँ बाहाःका सङ्घ सदस्यहरू जम्मा भएर सङ्घ भोजन गर्दै आइरहेका छन् । क्वापाद्योको रूपमा रहेको पद्मपाणी लोकेश्वर, दीपङ्कर बुद्घ, वास्तुकला युक्त बाहाःछेँ, मूल बज्रधातु चैत्य, आगं द्योः को रूपमा रहेको बज्रदेवीको मुर्ति यस विहारका प्रमुख सम्पदाका रूपमा रहेका छन् ।

८. यालाछेँ बही


वयोवृद्ध बौद्ध विद्वान्हरूको भनाइअनुसार भक्तपुर नगरको वडा नं. २ मा यालाछेँ बही रहेको अनुमान गरिएको छ । यस बहीसम्बन्धी कुनै पनि हस्तलिखित ग्रन्थ, अभिलेख प्राप्त भएको छैन । यद्यपि, वर्तमान अवस्थामा यालाछेँ भएको स्थान वरपरको भन्दा अग्लो स्थान, पुरानो शैलीको चैत्य र वि.सं. २०५६ सालसम्म पनि त्यहाँ सिद्ध पुरुषहरूको शिलामूर्ति कुदि राखेको ढुङ्गा रहेको आदि बही वास्तुकलाका विशेषतासँग मिल्ने सामग्रीहरू रहनुले धेरै मात्रामा यस स्थानमा यालाछेँ बही रहेको अनुमान गर्न सकिन्छ । चतुर्ब्रह्म महाविहारका छुंमा खलः बाट हेरविचार र रेखदेख गरिँदै आएको भनिए तापनि उक्त कार्य कहिलेबाट सुरु गरियो र कहिलेसम्म गरियो भन्ने कुनै जानकारी नभएकोले यसै भन्न सकिने अवस्था छैन । राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा यस विहारलाई पूर्णरूपमा ध्वस्त गरिएको भनाइ रहेको छ ।

९. सुवर्ण विहार


परिचय : भक्तपुर नगरको वडा नं. ५ मा यस सुवर्ण विहार रहेको छ । स्थानीय भाषामा ‘सुकूध्वाका बही’ भनेर पनि चिनिएको यस बाहामा भिमसेनको पनि मूर्ति रहेको छ । विहारको वास्तुस्वरूप अनुसारको चतुष्कोण आकारको चोक रहे तापनि हाल यसको आकार अलि बिग्रिएको देखिन्छ । यस विहारको पूर्वमा गोल्मढी, दक्षिणमा चासुखेलं, पश्चिममा सुकुलध्वाका र उत्तरमा याछेँ टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : यस विहारको प्रारम्भिक इतिहासलाई प्रकाश पार्ने कुनै प्रकारको अभिलेख प्राप्त भएको छैन । यहाँको भौतिक स्वरूपलाई नियाल्दा भक्तपुरको एक पुरानो विहार हो भनी अनुमान गर्न सकिन्छ । यहाँ सुरक्षित ‘पञ्चरक्षा’ नामक एक किताबमा ज्योति मल्ल देवको नाम स्पष्टसँग उल्लेख भएकोले यस विहारको प्राचीनताबारे अनुमान गर्न सकिन्छ । यस पञ्चरक्षा नामक किताबको अन्तिम पेजमा उल्लेखित वाक्यांशमा यस किताब, पशुपति महाविहारका बज्राचार्य थपालजुबाट सुकुध्वाखा वहिका हलि भारोलाई लेखी (उतार गरी) हस्तान्तरण गरेको देखिन्छ । यस विहार टिबुक्छेँ र सुकुलध्वाका टोलमा पर्ने भएकोले यस पञ्चरक्षा किताबमा यस विहारलाई सुकुध्वाका वही भनेर भनिएको हो । आजसम्म पनि पशुपति (प्रशन्नशील) महाविहारका बज्राचार्य थपालजुबाट नै यस विहारमा परम्परा कार्य गरी आएको पाइन्छ । यस सुवर्ण विहारको उत्तरी दलानमा रहेको शिलापत्रमा यहाँ गर्नुपर्ने कार्यहरू (विधि विधान) का वारेमा बारेमा स्पष्ट उल्लेख गरिएको पाइन्छ ।
विहारको स्वरूप, सम्पदा र गतिविधि : भक्तपुरको एक जीर्ण अवस्थामा रहेको प्राचीन विहार भएकोले यस विहारका सङ्घ सदस्यको (शाक्य, बज्राचार्य वा शुद्धकार) हो भनी किटानका साथ भन्न नसकिए तापनि यहाँ शुद्धकारहरूको एक सङ्घ रहेको छ । उनीहरू त्यहाँ स्थापना गरिएको भिमसेन (भिसिंद्यो) को पुजारीहरू पनि हुन् । आजभोलि परम्परा चलाइराखेका शुद्धकारहरूको परिवारको सङ्ख्या पनि अत्यन्त न्यून रहेको छ । उनीहरूले वर्तमान प्रशन्नशील महाविहारको बज्राचार्य थपालजुबाट परम्परा गरी आएको पाइन्छ । गुँला महिनामा आठ रात नौ दिन वहिद्यो प्रदर्शन गर्ने चलन अद्यपि रहेको देखिन्छ । टेराकोटाको बुद्धको मूर्ति, बज्रधातु मण्डल चैत्य, बज्रसत्वको मूर्ति आदि यहाँका सम्पदाहरू हुन् ।

१०. मञ्जुवर्ण महाविहार


परिचय : भक्तपुर नगरको वडा नं १० बेखाल टोलमा मञ्जुवर्ण महाविहार रहेको छ । स्थानीय भाषामा ‘वाउँ बाहाः’ भनेर पनि चिनिएको यस बाहाः मा प्रवज्या सम्वर (भिक्षु बनाउने) कार्य निरन्तररूपमा गर्दै आएको छ । बाहाः वास्तु स्वरूपअनुसार वर्गाकार चोक भएको बाहाःको पूर्वमा प्रशन्नशील महाविहार दक्षिणमा थालाछेँ नागपोखरी, पश्चिममा महालक्ष्मी र उत्तरमा बेखाल पोखरी रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : मञ्जुवर्ण महाविहार स्थापना समय उल्लेखित अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । त्यसो त मध्यकालको अन्तिम समयतिर यस विहारको स्थापना भएको हो भनि अनुमान गरिएको छ । पशुपति महाविहारमा प्रवज्जित हुनेहरूमध्ये पाटनबाट आएर बसेका बुद्धाचार्य (शाक्य) हरूले यस विहार स्थापना गरी बज्राचार्य अभिषेक लिई बज्राचार्य भएको हो । यस विहारको अहिलेसम्म प्राप्त भएको सबैभन्दा पुरानो अभिलेख ने.सं. ९८६ रहेको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : मञ्जुवर्ण महाविहारका सङ्घ सदस्य बज्राचार्यहरू हुन् । पाटनबाट आइरहेको बुद्घाचार्य (शाक्य) हरूले यस विहार स्थापना गरी बज्राचार्य अभिषेक लिई बज्राचार्य भएको हुनाले बलं गुभाजु (बलपूर्वक गुभाजु) बज्राचार्य भएको भनि भन्ने गरिन्छ । उहाँहरूको सङ्घ सदस्य करिब १५ परिवार रहेको छ । उहाँहरूमध्ये एउटा परिवारले वाहालमा दिनदिनै बिहान नित्य पूजा र साँझपख सन्या यायेगु (बत्ती चढाउने) कार्य गरी आएको छ । त्यसैगरी, पर्व पूजाअनुसार बाहाःको चैत्यमा हरेक वर्ष बुसाधं (विशेष पूजा) गर्दै आइरहेको छ । यस बाहाःको प्रमुख सम्पदाहरूमा अत्यन्त आकर्षक दुरुलोँह (मार्बल) को क्वाःपाद्यो (महाबैरोचन) को मूर्ति, बाहाःको मूल चैत्य र आगं देवताको रूपमा हेरूक चक्रसम्वर हुन् ।

११. प्रशन्नशील महाविहार


परिचय : भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोलस्थित प्रशन्नशील महाविहार भक्तपुरको प्राचीन विहारहरूमध्ये एक हो । पुरानो अभिलेखहरूमा यस विहारको नाम पशुपति महाविहार भनि उल्लेख गरिएको पाइन्छ । त्यसैले, यो विहारलाई स्थानीय जनताले पशु बाहाः पनि भनिन्छ । बाहाःको वास्तुकला अनरूप यसको चोक वर्गाकार रहेको छ । यस विहारमा प्रवज्या सम्वर (भिक्षु बनाउने) कार्य निरन्तररूपमा गर्दै आएको छ । यस पशुबाहाःको पूर्व दिशामा क्वाठण्डौ टोल, दक्षिण दिशामा विश्वकर्मा छेँ (घर), पश्चिम दिशामा नागपोखरी बेखाल टोल र उत्तर दिशामा दीपङ्कर विहार रहेका छन् ।
ऐतिहासिक पृष्ठभूमि : प्रशन्नशील महाविहारको स्थापना भएको समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । यस महाविहारको भण्डारमा भएको ने.सं. ५२७ को भूजिंमोल लिपिमा लेखिएको राजा धर्ममल्लको समयमा जग्गा किनबेच गरेको तमसुकमा साक्षि बस्ने श्री भुवन धर्म संस्कारित श्री पशुपति महाविहारको बज्राचार्य अभयजू भनी उल्लेख गरिएको पाइन्छ । त्यस्तै, ने.सं. ६६८ सालमा हिरण्यवर्ण महाविहारको दानपति कसराज भारोले यस विहारलाई पठाएको सङ्घ भोजनको निमन्त्रणा पत्रमा पनि श्री भूवनाकर संस्कारित पशुपति महाविहार भनी सम्बोधन गरीएको छ भने सम्बत ६९४ सालमा श्री पद्मकाष्ट गिरि गूं विहारको दानपति क्वाथनायक जयकीर्तिराजजूले पठाएको निमन्त्रणा पत्रमा पनि श्री भूवनाकर धर्म संस्कारित श्री धर्मकीर्ति विहार, श्री पशुपति विहार भनेर उल्लेख भएको पाइन्छ । यस आधारमा पशुपति महाविहारको संस्थापक भूवनाकर रहेको मान्न सकिन्छ । ने.सं. १९८ सालको एउटा ‘बोधिचर्यावतार’ हस्तलिखित ग्रन्थमा भुवनाकर नाम उल्लेख भइरहेको देखिएकोले पशुपति महाविहारको स्थापना ने.सं. १९८ को आसपासमा भएको देखिन्छ ।
बाहाको सङ्घ, गतिविधि र सम्पदा : प्रशन्नशील महाविहारमा बजाचार्य र बुद्धाचार्य (शाक्यहरू) को संयुक्त सङ्घ रहेको छ । यस महाविहारको सङ्घमा उहाँहरूको दुई खलक बजाचार्य र बुद्धाचार्य (शाक्य) खलक गरि करिब ७० परिवार रहेका छन् । यस महाविहारको सङ्घमा दस स्थविर परम्पराको व्यवस्था भएको पाइन्छ । उहाँहरू सङ्घमा प्रवेश गरेको ज्येष्ठता क्रमअनुसार नै सङ्घमा दस स्थविर पदमा आसिन हुने व्यवस्था गरिने परम्परा रहेको छ । उहाँहरूमध्ये बज्राचार्य सङ्घले प्रशन्नशील महाविहारको क्वापाद्यो आगमदेवताको दैनिकरूपमा आलोपालो गरी बिहान नित्यपूजा सन्ध्याकालमा सन्यायायेगु (बत्ती पूजा) गर्ने कार्य सुचारु गर्दै आएका छन् । त्यसैगरी, बुद्धाचार्य शाक्यहरू सङ्घले, आदिपद्म महाविहारको क्वापाद्यो, आगमदेवता बिहान नित्यपूजा साथै सन्ध्याकालमा सन्या गर्ने गर्दै आएका छन् । त्यसैगरी, महाविहारको थपाजूले दीपङ्कर बुद्धलाई बिहान नित्यपूजा र बेलुका दीपावली पूजा गर्दै आएका छन् । यस महाविहारमा वर्षको एकचोटी दीपङ्कर बुद्धअगाडि विराजमान गराई सदस्यहरू भेला भएर देवाली पूजा मनाउने गरिन्छ भने वर्षको दुईपटक स्थाविर आजूहरू भेला भएर नायोगुठी पर्वपूजा मनाइन्छ । त्यसैगरी, सबै सङ्घहरू भेला भएर पालैपालो सम्यक दानपर्व (पञ्जरा पर्व) को बेलामा दीपङ्कर बुद्धको जात्रा गरिन्छ । यस विहारको प्रमुख सम्पदाहरूमा क्वापाद्यो देवता लोकेश्वर, बाहाःको मूल चैत्य दुईवटा आगमघर भित्रको आगम देवता हेरुक चक्रसम्बर आदि रहेका छन् ।

१२. मूल दीपङ्कर विहार


परिचय : मूल दीपङ्कर विहार भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोलमा अवस्थित छ । देवननी भनेर पनि चिनिएको यस विहारमा पञ्जरांदान पर्व एवं सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर बुद्धको मूर्ति रहेको छ । भक्तपुरको मूलमा आजू (मुख्य दिपङ्कर) रहेको यो विहारको पूर्वदिशामा क्वाठण्डौ पोखरी, दक्षिण दिशामा प्रशन्नशील महाविहार, पश्चिम दिशामा बेखाल टोल र उत्तर दिशामा बेखाल पोखरी रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : प्रशन्नशील महाविहार÷पशुपति महाविहारको द्योननी भनेर चिनिएको दीपङ्कर विहारमा नै प्रशन्नशील महाविहारको सबै पर्व पूजाहरूअन्तर्गतको साङ्घिक परम्पराहरू सम्पन्न गरिन्छन् । यस विहारमा प्रशन्नशील महाविहारको/पशुपति महाविहारको मूल आजु (थपाजू) भइसकेपछि बाँकी जीवन यही विहारमै बसेर बिताउनुपर्ने परम्परा रहेको छ । मूल दीपङ्कर विहारमा विराजमान गराइएको मूल दीपङ्कर बुद्धको हातमा सम्बत २०२ उत्कीर्ण गरिराखेको छ भन्ने यहाँको सङ्घ सदस्य एकजनाको भनाइअनुसार उक्त दीपङ्कर बुद्धको स्थापना करिब नौ सय बयालिस वर्ष जति अगाडि भएको देखिन्छ । यही दीपङ्कर बुद्धलाई ललितपुरमा हुने नियमित सम्यक महादान र ऐच्छिक सम्यक महादान पर्वहरू गर्दा पठाइएका निमन्त्रणा पत्रहरू सबैभन्दा पुरानो ने.सं. ६६८ सालको रहेको छ । ललितपुरमा प्रत्येक चारवर्षमा सम्पन्न हुँदै आएको सम्यक महादानमा अहिलेसम्म पनि यहाँको दीपङ्कर बुद्धलाई निमन्त्रणा पत्र आइरहेको पाइन्छ । दीपङ्कर बुद्ध विराजमान गराइएको मन्दिर वर्तमान काठमाडौँ रत्नपार्कमा रहेको महाँकाल देवताको मन्दिरजस्तै दुईतले मात्रै रहेको र वि.सं. १९८० सालतिर ठूलो मन्दिर बनाइएको भन्ने यहाँका सङ्घ सदस्यहरूको भनाइ रहेका छन् । त्यसपछि अन्तिम पटक वि.सं. २०३३ सालमा जर्मन प्रोजेक्टले जिर्णोद्धार गरेका थिए ।
विहारको सङ्घ, गतिविधि र सम्पदा : प्रशन्नशील महाविहार/पशुपति महाविहारको ननी दीपङ्कर विहार भएकोले यहाँ अलग्ग सङ्घ छैन । तर, प्रशन्नशील महाविहारको सबै सङ्घले गर्नुपर्ने कामहरू यही विहारमै गरिन्छन् । यस विहारको दीपङ्कर बुद्धको दैनिक बिहान नित्यपूजा र साँझ सन्या गर्ने कार्य भइरहेको छ । यस विहारको प्रमुख सम्पदाहरू मूल दीपङ्कर बुद्ध, कलात्मक देवताघर, नाम सङ्गीति, बज्रसत्व, विभिन्न शैलीका चैत्यहरू आदि रहेका छन् ।

१३. कुलरत्न महाविहार


परिचय : भक्तपुर नगरको वडा नं. १० क्वाठण्डौ टोलमा रहेको अर्को विहार कूलरत्न महाविहार हो । प्रवज्या सम्वर कार्यसमेत गरिँदै आएको सानो आकारको यस विहारलाई बिखु विहार भन्ने पनि चलन रहेको छ । यस विहारको पूर्वमा नगाञ्चा, दक्षिणमा क्वाठण्डौ पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा धर्मकृति महाविहार (याँबाहाः) रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : यस महाविहारमा रहेको एक स्तम्भ चैत्य रहेको छ । यस चैत्य ने.सं. ९९१ मा प्रशन्नशील महाविहार/पशुपति महाविहारया सदस्य क्वाठण्डौ टोलका श्री जुजुधन बुद्धाचार्यको परिवारले तत्कालीन राजा सुरेन्द्रवीर विक्रम शाहदेवको पालामा स्थापना गरिएको हो । यसैगरी, यस अभिलेखमा दाताको वंशावली र क्वापाद्यो बुसाधँ सम्बन्धी विवरण पनि उल्लेख गरिएको छ ।
बाहाःको सङ्घ, गतिविधि व सम्पदा : यस महाविहार सङ्घ सदस्यहरू बुद्धाचार्य (शाक्य) हुन् । तर, आजभोलि यहाँको सङ्घ परम्परा लोप भइसकेको अवस्था छ । केही वर्षसम्म यस विहार नजिकका सानुकाजी शाक्यले क्वापाद्योको नित्य पूजा गरिँदै आएको थियो । बाहाःको क्वापाद्यो, साढे तीन फिटको पद्मपाणी लोकेश्वर, स्तम्भ चैत्य, गणेश, महाँकाल र हनुमानको मूर्ति यस महाविहारका सम्पदाहरू हुन् ।

१४. धर्मकीर्ति विहार

परिचय : भक्तपुर नगरको वडा नं. १०, क्वाठण्डौ टोलमा रहेको अर्को विहार धर्मकीर्ति विहार हो । स्थानीय जनताबिच याँबही (यंबि विहार) को रूपमा परिचित यस विहार वास्तुस्वरूपअनुसार चतुष्कोणाकारको रहेको छ । बिचमा चैत्य रहेको यस विहारको पूर्वमा नगांचा, दक्षिणमा क्वाठण्डौ पोखरी, पश्चिममा बेखाल टोल र उत्तरमा नगरकोट जाने बाटो रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : यस विहारको स्थापनाको बारेमा अहिलेसम्म कुनै अभिलेख प्राप्त भएको छैन । तर, यस विहारको नाममा ने.सं. ६९४ मा कीर्तिपुरका क्वाथःनायक जयकीर्ति भारोजुले आफ्नो विहारमा गर्ने सङ्घ महाभोजको निमन्त्रणा पत्रमा यस विहारको नाम श्री धर्मकीर्ति विहार भन्ने उल्लेख गरिएबाट यस विहार भक्तपुरको पुरानो विहार/बहीहरूमध्ये एक हो भन्न सकिन्छ । यस विहारमा ने.सं. ९०४ को शिलापत्र अद्यापि रहेको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : धर्मकीर्ति विहार सङ्घका सदस्यहरू को हुन् भनी किटानका साथ भन्न नसकिए तापनि आजभन्दा ६०—७० वर्षसम्म यस विहारमा प्रशन्नशील महाविहारका विश्वकर्मा छेँ खलःले बही द्योः प्रदर्शन गर्ने गरेको यहाँका ज्येष्ठहरूको भनाइ रहेको छ । दुई तीनवटा चैत्यहरूबाहेक अरु सम्पदा यस विहारमा देखिँदैन । हाल यहाँ धर्मकीर्ति नाम रहेको तीनतले गुम्बा रहेको छ ।

१५. आदिपद्म महाविहार

परिचय : आदिपद्म महाविहार भक्तपुर नगरको वडा नं ९ को तौलाछेँ टोलमा रहेको छ । यस विहार प्रवज्जित (भिक्षु) गरिने पुराना महाविहारहरूमध्ये एक हो । यस आदिपद्म महाविहारलाई स्थानीय बासिन्दाहरूले ‘तोँ बाहाः’ भनेर पनि चिन्ने गर्दछन् । बाहाःको वास्तुकला अनुरूप यस बाहाःको चोक चतुष्कोणाकार रहेको छ । यो बहाःको पूर्वमा च्याम्हासिंह, पश्चिममा वाकुपति नारायणको मन्दिर दक्षिण पश्चिममा जेलाँ टोल र उत्तरमा सूर्यमढी डबली रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : आदिपद्म महाविहार स्थापना गर्ने दाता र स्थापना समय स्पष्ट उल्लेख भएको अभिलेख अहिलेसम्म प्राप्त भएको पाइँदैन । यस महाविहारको सबैभन्दा पुरानो स्पष्ट प्रमाणको रूपमा ने. सं. १०३ को अभिलेख रहेको छ । त्यसैगरी, ५०३ ताकाको गोपालराज वंशावलीअनुसार यस महाविहारलाई ‘यम्ब तुनुं विहार’ भनेर उल्लेख गरिएको छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : आदिपद्म महाविहारमा बुद्धाचार्य (शाक्य) सङ्घ रहेको छ । यस महाविहारको सङ्घमा करिब २५ परिवार रहेका छन् । यस महाविहारको सङ्घ सदस्यहरूमध्येबाट मनोनीत भई प्रशन्नशील महाविहारमा ‘चिनंजु’ (भण्डारी) भएर परम्परा चलाइआएका छन् । यस बाहाःका कुलपुत्रहरू यही विहारमा प्रवज्या गरे पनि हुन्छ र प्रशन्नशील महाविहारमा प्रवज्जित गरे पनि हुने प्रावधान रहेको छ । यहाँका सङ्घ सदस्यहरूले आलोपालो गरी बाहाःको क्वापाद्यो शाक्यमुनि बुद्ध, आगंदेवता चण्डमाहारोषणको बिहानको नित्यपूजा र बेलुका सन्या (दीप बाल्ने पूजा) आलोपालो गरी पूजा सञ्चालन गर्दै आइरहेका छन् । त्यसैगरी, सबै सङ्घ सदस्यहरू मिलेर सम्यक महादान पर्व र पञ्चदान पर्वमा प्रशन्नशील महाविहारको दीपङ्कर बुद्धको जात्रा गरी परम्परालाई निरन्तरता दिँदै आएका छन् ।


१६. खुशीबाहाः (शक्रवर्त विहार)

परिचय : भक्तपुर नगरको वडा नं.७, हनुमानघाटको पश्चिम प्राङ्गणमा खुसी बाहा रहेको छ । यस विहार परिसरमा लिच्छविकालीन शैलीको चैत्य, पद्यपाणी लोकेश्वर, चौधौँ पन्ध्रौँ शताब्दीको बज्रधातु चैत्य, महाङ्काल चैत्य र मूर्ति आदि सम्पदाहरू छरिएर रहेका छन् । राष्ट्रिय अभिलेखालयबाट प्रकाशित ने.सं.४९६ कार्तिक शुदि उल्लेख भएको एक तमसुक पत्रमा यस विहारको नाम रहेको छ । साथै कोथो विहार र याथूर विहारको नाम पनि उक्त तमसुक पत्रमा उल्लेख गरिएको छ ।

१७. धर्मउत्तर महाविहार (मुनि विहार)


परिचय : भक्तपुर नगरको वडा नं.७, खँचा टोलमा धर्मउत्तर महाविहार रहेको छ । स्थानीय जनताबिच ‘मुनि विहार’ को नामले परिचित यस विहार वास्तुस्वरूपअनुसार चतुष्कोणाकार रहेको छ । बिचमा चैत्य रहेको यस विहारको पूर्वमा महेश्वरी पीठ, दक्षिणमा हनुमानघाट, पश्चिममा गोल्मढी याता र उत्तरमा इनाचो टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : विहारमा प्राप्त शिलापत्रअनुसार यस धर्मउत्तर महाविहारको स्थापना ने.सं. ७७६ मा मुनि बुद्धाचार्यले गरेका हुन् । मुनि बुद्धाचार्यले नेपालको उत्तरमा पर्ने ल्हासा (तिब्बत) गई बौद्धधर्म अध्ययन गरी सोबाट प्रेरित भई धर्म गर्ने क्रममा स्थापना गरेको विहार भएर धर्मउत्तर भन्ने शब्द राखी विहारको नाम नै धर्मउत्तर महाविहार रहन गएको भन्ने कथन रहेको छ । विहारको सोही शिलापत्रमा ने.सं. ७८७ मा यस महाविहारमा शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध, धर्मधातु चैत्य, गणेश महाङ्काल, चक्रसम्वर देवता स्थापना गरेको उल्लेख छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : यस धर्मउत्तर महाविहारका सङ्घ सदस्यहरू इन्द्रवर्ण महाविहार बुद्धाचार्य (शाक्य) हरू नै हुन् । प्रवज्जित कार्य गर्ने महाविहार भए तापनि यहाँ प्रवज्जित कार्य गरेको भने सुनिएको छैन । यस महाविहारमा सङ्घबाट बाहाको क्वापाद्यो, आगंद्योलाई नित्यपूजा र सन्या गर्ने (बत्ती दिने) कार्य गरेको बारे कुनै जानकारी पाइँदैन । यसरी वर्षौँसम्म विहारमा पूजाआजा गर्ने कार्य बन्द भएको कारणले गर्दा आजभन्दा ७० वर्ष जति अगाडि थेरवाद भिक्षुहरूलाई यस महाविहार हस्तान्तरण गरेको देखिन्छ । आजभोलि यस विहारमा थेरवाद परम्पराअनुसार सङ्घ परम्परा चलिआएको देखिन्छ । नेपालको प्रमुख उपोसथागार (भिक्षु बनाउने स्थल) को रूपमा परिचित छ ।

१८. इन्द्रवर्ण महाविहार


परिचय : भक्तपुर नगर वडा नं. ७ को इनाचो टोलमा अवस्थित प्रवज्जित (भिक्षु) गरिने एक परम्परागत महाविहार इन्द्रवर्ण महाविहार हो । यस महाविहारलाई स्थानीय जनता ‘इना बाहाः÷इनाचो बाहाः’ भनेर पनि चिन्ने गर्दछन् । यो बाहाःको वास्तुकलाअनुसार चतुष्कोण चोक बनाइएको छ । यस बाहाःको पूर्व दिशामा वाँचु टोल, दक्षिण दिशामा मुनिविहार हनुमानघाट, पश्चिम दिशामा गोल्मढी पलिखेल र उत्तर दिशामा तचपाल दत्तात्रय जाने मूलबाटो छन् ।
ऐतिहासिक पृष्ठभूमि : इन्द्रवर्ण महाविहारको स्थापना ने.सं.७४१ मा राजा ज्योति मल्लको शासन कालमा देवसिंह बुद्धाचार्य, जयसिंह बुद्धाचार्य व मेलुसिं बुद्धाचार्यहरूको समयमा भएको देखिन्छ । त्यसबेला श्री देवसिं बुद्धाचार्यले वंदिमस्थानको युलटोलको हरि नामको व्यक्तिसँग लम्बाइ ४२ हात र चौडाइ ३६ हातको जग्गा किनेका थिए । सोही जग्गामा यो विहार बनाइएको देखिन्छ ।
बाहाःको सङ्घ, गतिविधि र सम्पदा : इन्द्रवर्ण महाविहारमा बुद्धाचार्य (शाक्य) सङ्घ छन् । यहाँका सङ्घ सदस्यहरूले आलोपालो गरी यस महाविहारमा गर्नुपर्ने बाहाःको क्वापाद्यो, आगंदेवताको बिहान गर्नुपर्ने नित्यपूजा र सन्ध्याकालमा गर्नुपर्ने सन्यापूजाहरू गरिआएका छन् । त्यस्तै नै आवश्यकताअनुसार बाहाःमा गर्दै आएका प्रवज्जित कार्यक्रमलाई समयअनुसार सामूहिकरूपले सम्पन्न गर्दै आएका छन् । यस्तै सङ्घबाट गुँला महिनामा गुँलाबाजा बजाएर भक्तपुर नगर र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्थापित बाहाः, चैत्य परिक्रमा गरिआएका छन् । यस बाहाःमा प्रत्येक वर्ष कतिं पुन्ही (कार्तिक पूर्णिमा) को दिनमा यस बाहाःको मूल चैत्यको बुसाधँ (वर्षबन्धन) गर्दै आएका छन् । यस महाविहारका प्रमुख सम्पदाहरू बाहाःको क्वापाद्यो अक्षोभ्य बुद्ध, गणेश महाङ्काल, बाहाःको मूल चैत्य, आगं देवता हेबज्र नैरात्मा हुन् ।

१९. मङ्गल धर्मद्वीप विहार (झौर बही)


परिचय : भक्तपुर नगरको वडा नं.७ स्थित गोल्मढी टोलमा मङ्गल धर्मद्वीप महाविहार रहेको छ । स्थानीय बासिन्दाहरूले झौरबहीको रूपमा चिनिएको यो बहीको वास्तुकला वर्गाकार चोक र चारैतिर चतुर्शाला पद्धतिमा घर निर्माण गरिएको छ । प्रत्येक वर्ष गुँला महिनामा पर्ने पञ्चदान पर्व र सम्यक महादान पर्वमा जात्रा गरिने दीपङ्कर मूर्ति यस विहारमा रहेको छ । यो बहीको पूर्व दिशामा पलिखेल, दक्षिण दिशामा सुकुलढोका जाने मूल बाटो, पश्चिम दिशामा गोल्मढी ढुङ्गेधारा र उत्तर दिशामा चोर्चा टोल रहेको छ ।
ऐतिहासिक पृष्ठभूमि : मङ्गल धर्मद्वीप विहार (झौरबही) स्थापना भएको समयको अभिलेख अहिलेसम्म प्राप्त भएको छैन । तर, यस बहीमा भएको एक शिलापत्रमा राजा विश्व मल्लको समयको ने.सं. ६७६ को फागुन महिनामा चतुर्ब्रह्म महाविहारको सङ्घले यस बहीको जीर्णोद्धार गरेर, बाहाः पूजा गरेको र पञ्च तथागत जात्राको व्यवस्था गरिएको उल्लेख भएको छ ।
विहारको सङ्घ, गतिविधि र सम्पदाहरू : मङ्गल धर्मद्वीप विहारका सङ्घहरू चतुर्ब्रह्म महाविहारको तधिछेँ खलक रहेको छ । सङ्घ सदस्यहरूले दिनदिनै बिहान नित्यपूजा र सन्ध्याकालमा बत्ती चढाउने कार्य गर्दै आएको छ । त्यसैगरी, पञ्चदान पर्व र सम्यक महादान पर्वमा पनि दीपङ्कर बुद्धको जात्रा गर्दै आइरहेको छ । यस बहीको मूल सम्पदाहरूमा बहीको क्वापाद्यो शाक्यमुनि बुद्ध, दीपङ्कर बुद्ध मूल चैत्य र आगमदेवताको रूपमा बज्रदेवी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here