पुष २०, भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा ९ नं वडा कार्यालयमा नगर स्वास्थ केन्द्र शुभारम्भ भएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्नुहुदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले नेपालको संविधानमा आधारभुत स्वास्थ सेवा निशुल्क गर्ने उल्लेख गरे तापनि सरकारले त्यसो गर्न नसकेको बताउनुभयो । भक्तपुर नगरपालिकाले स्वास्थलाई प्राथमिकता राखि घरदैलो नर्सिङ सेवा दिदै जनताको सेवा गर्दै आएको र स्वास्थ बिमा बोर्डले ख्वप अस्पताललाई दिनुपर्ने रकम अझै उपलब्ध नगराएको समेत बताउनुभयो ।

कार्यक्रममा अतिथि ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेस प्रताप मल्लले ख्वप अस्पतालम दैनिक ८०० देखि ९०० जना विरामी आउने गरेको जानकारी दिनुहुदै नगर स्वास्थ केन्द्रको स्थापनाले आधारभुत स्वास्थ्य सेवा लिन टाढा जानुपर्ने परिपाटी अन्त्य भएको बताउनुभयो ।

वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले वडामा संचालित नगर स्वास्थ केन्द्रले दिने सेवा तथा सुविधाबारे जानकारी दिनुहुदै व्यक्तिगत घटना दर्ता समयमै गर्न हुन समेत वडावासीहरुलाई आग्रह गर्नुभयो ।

वडा न ९ का वडा सदस्य इन्द्रबहादुर प्याथले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कार्यपालिका सदस्य छोरीमैया सुजखु प्रजापति, कृष्णशोभा लवजुले पनि बोल्नुभएको थियो ।



स्वास्थ्य केन्द्र बिहान १० बजेदेखि २ बजेसम्म सन्चालन हुनेछ ।

स्वास्थ्य जाँच गर्दै वडावासीहरु




















