भक्तपुर, पुष २०। नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला तथा नगर समितिको संयुक्त आयोजनामा गणेश माविमा जोसेफ स्तालिनको १४५ अाैं र माउत्से तुङको १३० अाैं जन्म दिवसको अवसरमा स्मरण प्रवचन सम्पन्न भयो ।
प्रवचन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद सुरेन्द्र राज गोसाईले बाैद्धिक सक्षमताको लागि शिक्षकहरू अध्ययन शील र व्यवहारिक हुनुपर्ने बताउँदै आफ्नो देशको विश्व समुदायमा राष्ट्रियता र देशभक्तिको भावना प्रस्तुत गर्न सक्ने तयार गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारको कमजोर वैदेशिक कुटनीतिको कारण नेपाली युवासँगै खोलानाला जस्ता प्राकृतिक स्रोत पनि भारत हुँदै विदेशिएकाे बताउँदै चिनीयाँ कम्युनिस्ट पार्टीको इतिहास र वर्तमान समयमा चीनले गरेको प्रगतिमा माउत्से तुङको जनताको सेवा गर भन्ने भावना ले साकार भएको बताउनुभयो ।
कार्यक्रमका सभापति तथा क्रान्तिकारी शिक्षक संघ भक्तपुरका अध्यक्ष एवम् गणेश माविका प्रअ गणेश थुसाले स्तालिन तथा माउत्से तुङले परिवारको त्याग सहितको बलिदान र सहयोगले विश्वमा माक्रसवादको भाैतिक पक्षले व्यवहारिकता पाएकाे बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण बहादुर दुवाल, आधारभूत विद्यालय समिति भक्तपुरका अध्यक्ष दीपक माक, बासु माविका प्रअ अम्बिका न्याइच्याई, शिक्षक विष्णुप्रसाद दुमरु लगायत काभ्रेका शिक्षक प्रतिनिधि कृष्णबहादुर तामाङले समेतले बोल्नुभयो ।


















