फागुन ८ मा सहिद दिवस

0
161


सन्दर्भ : भक्तपुरमा सहिद दिवस

फागुन ८ भक्तपुरमा चार जनाले विरगति प्राप्त गरेका र वीर योद्धाहरू उदय भएको ऐतिहासिक दिन हो । सर्वप्रथम प्रजातन्त्र प्राप्तिको निम्ति बलिदान दिनुहुने सहिदप्रति श्रद्धाञ्जली र वीर घाइते योद्धाप्रति आदर र सम्मान प्रकट गर्दछु ।
विगत २०४६ सालको तत्कालीन संयुक्त वाम मोर्चा र नेपाली काङ्ग्रेसको संयुक्त आहृवानमा भएको ऐतिहासिक जनआन्दोलनमा नेपाल मजदुर किसान पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले खेलेको भूमिकाको स्मरणले पनि हाम्रो शिर गर्वले ठाडो हुन्छ ।
नेपकिपाको बढ्दो लोकप्रियतादेखि तत्कालीन जनविरोधी पञ्चायतले २०४५ साल भदौ ९ गते राज्यस्तरको षड्यन्त्र रची का. रोहितलगायत ६७ जना नेता कार्यकर्तालाई जन्मकैद र सर्वस्वहरणको मुद्दा राखी सोझा सिधा भक्तपुरबासीलाई अनेक किसिमको दुःख दिई पार्टीको सम्पूर्ण शक्तिलाई समाप्त पार्ने कुप्रयास गरेको यथार्थ हाम्रोसामु आलै छ । तर, पञ्चायती सरकारलेनेमकिपाको शक्तिलाई ध्वस्त पार्न सकेन ।पञ्चायती शासकहरूले भक्तपुरमा जनआन्दोलनको दोस्रो दिन अर्थात् २०४६ फागुन ८ गते नेपाल बन्द कार्यक्रम थियो ।
सूर्यमढीबाट सुरु भएको शान्तिपूर्ण जुलुसटौमढी पाँचतले मन्दिर अगाडि पुग्दा दोस्रो विश्व युद्धमा प्रतिबन्धित गोली ताकी- ताकी हानियो । गोलीबाट कृष्णराम दुवाल, राजकुमार सुवाल, हरिकृष्ण भुजु र निर्मलकुमार शाक्य दिवङ्गत हुन पुगे । देश र जनताको बृहतर स्वार्थका लागि भक्तपुरका होनहार युवाहरूले गोली थापेर आफ्नो अमूल्य जीवनलाई देश र जनताको भलाइको लागि अर्पण गरे र दर्जनौं युवाहरू घाइते भए । यही समाचारले विभिन्न जिल्लामा आगोको रूपमा देशभर आन्दोलन चर्किदै गयो । बाहिर जिल्लामा बसोबास गरिरहेकाभक्तपुरका युवाहरू – पुष्परत्न शाक्य र महेश श्रेष्ठलगायत आन्दोलनभरिमा असङ्ख्य देशभक्तले शहादत प्राप्त गरे र धेरै सपुतहरू घाइते भए ।
सहिद र घाइते योद्धाहरूको योगदानले बहुदलीय प्रजातन्त्र स्थापना भयो । यही जगमा टेकेर २०६५ सालमा नेपालमा गणतन्त्र स्थापना भयो । तर, अहिले पुँजीवादी शासकले सहिदहरूको भावनाअनुसार काम गरेन। उनीहरूले सत्ता लोभ, भागबन्डा, पक्षपात र भ्रष्टाचार गरी सहिदहरूको अपमान गरिरहेका छन् । सहिदका परिवार र घाइते योद्धाहरूले अत्यन्त कष्टपूर्ण जीवनयापन गरिरहेका छन् । सहिदहरूको बलिदानबाट प्राप्त प्रजातन्त्रमा ठुला दलका नेताहरूले ऐश आरामको जीवन बिताइरहेका छन् । सहिद परिवार र घाइते योद्धाहरूबारे कुनै खोजसम्म गरिएको छैन ।
नेपाल मजदुर किसान पार्टी र देशभक्त नेपालीले सहिदहरूको बलिदान, घाइते योद्धाहरूको त्याग र तपस्यालाई मूल्याङ्कन गरी उच्च सम्मान र आदर गरिरहेका छन् । उहाँहरूले जुन मार्ग देखाएर जानुभयो त्यही नै हाम्रो लागि अहिले दिशाबोध भइरहेको छ र प्रेरणाको स्रोत बनिरहेको छ । हामीले देश र जनताको निःस्वार्थरूपले सेवा गरेर उहाँहरूको योगदानको कदर गर्नछौं ।
फागुन ८ गतेको दिनले राष्ट्रिय जनआन्दोलनलाई निर्णायक मोडसम्म पुऱ्याउन अहम् भूमिका खेल्यो । उहाँहरूको उच्च सम्मानमा सहिद दिवस मनाइरहेका छौं र मनाइरहनेछौं ।

  • हेरा ख्याजु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here