नगर प्रमुख प्रजापतिद्वारा इतापाके फल्चा शिलान्यास

0
171

भक्तपुर, फागुन ८ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. २ देका मिवा इतापाके आवास योजनामा अवस्थित इतापाके फल्चा (पाटी) को बिहीबार एक कार्यक्रमबीच शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले फल्चा पुनःनिर्माण कार्य निर्धारित समयमै गुणस्तरीय ढंगले सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

ठेकेदारले सम्पदाको ऐतिहासिक र सांस्कृतिक महत्वबारे मतलब नगर्ने हुँदा भक्तपुर नपाले यहाँका अधिकांश सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार जनताको साथ र सहयोगमा उपभोक्ता समितिमार्फत गरिरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत काम गर्दा सबैभन्दा ठूलो फाइदा भनेको स्थानीयमा सम्पदाप्रति हुने अपनत्वको भाव विकास हुनु हो भन्दै उहाँले आफूले बनाएको काम जसरी पनि राम्रो बनाउनुपर्छ भन्ने मान्यताले स्थानीय जनताले काम गर्छन् भन्नुभयो ।

ठेक्काको काम कस्तो हुन्छ भनी बुझ्न अहिले पुरातत्व विभागले ठेक्कामा दिएको भक्तपुर दरबार क्षेत्रमा निर्माणाधीन पशुपति मन्दिरको काम हेरे पुग्छ भन्दे उहाँले विश्व सम्पदामा सूचिकृत ठाउँमा प्राचिन स्मारक संरक्षण ऐनविपरीतका कार्यहरु भइरहेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले लामो समयदेखि जीर्ण अवस्थामा रहेको देको मिवा इतापाके आवास योजनामा अवस्थित इतापाके फल्चा पुनःनिर्माण कार्य शुभारम्भ हुनु आफैमा सकारात्मक पक्ष भएको बताउनुभयो ।

भक्तपुर नपाले व्यवस्थित सहर विकासको लागि आवास योजना सञ्चालन गरिएको बताउँदै आयोजनाको काम करिब अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

इतापाके फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष शारदा भक्त वैद्यले इतापाके फल्चा १०० वर्ष पुरानो देखिन आएको बताउँदै फल्चा पुनःनिर्माण स्थानीय जनताको आर्थिक, भौतिक र नैतिक सहयोगमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

नेमकिपा वडा नं. २ का पार्टी इन्चार्ज सूर्यनारायण फाँजूले भक्तपुरका मूर्त अमूर्त सम्पदा संरक्षणले विदेशी पर्यटकहरुको आकर्षण झन् धेरै बढिरहेको बताउँदै पर्यटकहरुबाट उठ्ने पर्यटन शुल्कबाट भक्तपुरको विकास निर्माणमा खर्च भइरहेको सकारात्मक पक्ष भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिका सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठले इतापाको फल्चाको ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुभयो भने भक्तपुर नपा वडा नं. २ का वडा सदस्य मन्जुमैंया लाखाजुले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here