भुक्तै छन् कुकुर टोक्लाझैँ गरी झम्टेर स्याललाई
भागेझैँ गर्छन् ती स्याल अनि, भन्दछन् के छ भाइ ?’
टोक्तैन कुकुर भुकेको मात्र स्याल पनि साथी हो
भेटेर भन्छन्, “दुई थरी हामी मिलेकै जाती हो ।”
तर्सनु पर्छ के होला भनी तर्सिने बानीझैँ
गर्जिन्छ बादल कहिलेकाहीँ पर्ला कि पानीझैँ
के के न होला भन्ठान्छौँ हामी हुँदैन केही पनि
झुक्याउने कला जानेको कति के के न हौँ भनी ।
पोलिए आफू अरूलाई “तँ नि !” भनेर पोल्ने हुन्
कसैलाई दोषी भनेका बेला ती पनि बोल्ने हुन्
कोही छैनन् चोखा असल भन्ने सत्ताका शिकारी
सुनको देशमा बसेर पनि बन्या छौँ भिखारी !
सुनियो धेरै हेरियो धेरै आशामा रमेर
आलो र पालो बसेका देख्यौँ सत्तामा जमेर
ती सारा मिलून् ती सारा बाझून् केहीले छुँदैन
मिलेर हामी नउठेसम्म केही पनि हुँदैन ।
इन्द्रकुमार श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1


















