भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा काउली, बन्दा तथा फुलकोबी बालीमा लाग्ने गाँठे रोग र माटो जाँचसम्बन्धी अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भयो ।
कार्यक्रममा २ नं. वडाका वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य सँगसँगै कृषिलाई पनि प्राथमिकतामा राख्दै आएको र कृषकहरुको लागि तरकारी बजार, चिस्यान केन्द्रको निर्माण भइरहेको बताउनुभयो । कृषकहरुको उत्पादन वृद्धि गर्न विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको बताउँदै भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको देको, मिवा, इतापाके जग्गा एकीकरण आयोजनालाई समयमै सम्पन्न गर्न सबै जग्गाधनी मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडा सदस्य श्यामसुन्दर मातांले कृषिलाई प्रविधिसँग जोड्नुपर्ने बताउँदै हामी सबै मिलेर भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउनुपर्ने बताउनुभयो । २ नं. वडा कृषक समूहका संयोजक रत्नकाजी नायभारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कृषि प्राविधिक रवि ख्याजु र कृषक राजाराम बासुकलाले पनि बोल्नुभएको थियो ।


















