भक्तपुर नगरपालिकाद्वारा किसानका लागि ३ दिने जैविक मल तथा विषादी उत्पादन तालिम सम्पन्न

0
48

भक्तपुर, असार १८ । भक्तपुर नगरपालिकाले किसानलाई रासायनिक मल तथा विषादीको प्रयोग घटाई वातावरणमैत्री र सुरक्षित कृषि उत्पादनतर्फ प्रोत्साहित गर्ने उद्देश्यले तीनदिने ‘जैविक मल तथा जैविक विषादी उत्पादन तालिम’ सम्पन्न गरेको छ।

असार १६, १७ र १८ गते सञ्चालन गरिएको तालिममा नगरभित्रका विभिन्न वडाका कृषकहरूको सहभागिता रहेको थियो। तालिममा स्थानीय स्तरमै उपलब्ध सामग्री प्रयोग गरी जैविक मल तथा जैविक विषादी उत्पादन गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो।

प्रशिक्षकहरूले जैविक खेतीको महत्व, माटोको उर्वराशक्ति संरक्षण, रासायनिक विषादीको अत्यधिक प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्ने नकारात्मक असर, साथै सुरक्षित कृषि उत्पादनका उपायबारे जानकारी दिएका थिए। सहभागी किसानहरूले खेतबारीमा प्रत्यक्ष प्रयोग गर्न सकिने जैविक मल र जैविक विषादी तयार गर्ने विधि पनि सिकेका थिए।

नगरपालिकाले यस्ता तालिममार्फत किसानको उत्पादन लागत घटाउने, विषादीको प्रयोग न्यूनीकरण गर्ने तथा स्वस्थ र गुणस्तरीय कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ। जैविक खेतीको विस्तारले माटोको दीर्घकालीन उर्वराशक्ति संरक्षण हुनुका साथै उपभोक्तालाई सुरक्षित खाद्यान्न उपलब्ध गराउन सहयोग पुग्ने विश्वास नगरपालिकाको छ।

तालिम समापनका अवसरमा सहभागी किसानहरूले प्राप्त ज्ञानलाई व्यवहारमा लागू गर्दै आफ्ना समुदायका अन्य कृषकलाई समेत जैविक खेतीतर्फ प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, नगरपालिकाले आगामी दिनमा पनि कृषकमैत्री सीपमूलक तथा प्रविधिमैत्री कृषि तालिमलाई निरन्तरता दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here