दलाल आयो… दलाल आयो…। आफ्नै आफन्त मास्ने कंस मामा आयो । आशामरु निन्द्रामै बर्बराउँछन् । मध्यान्ह १२ बजे भक्तपुर दत्तात्रय मन्दिर अगाडिको स्तम्भमा अडेस लगाएर सुतिरहेका आशामरु अचानक भुइमै पछारिन पुग्छन् । वरिपरिका मान्छेहरु तमासे भई हेरिरहेका हुन्छन् । फेरि उनी उठेर त्यहीँ कछुवालाई सिरानी बनाई सुत्छन् ।
आशामरुको अब कुनै आशा छैन । सियोहरु भाँच्दा भाच्दा हैरान भएका उनी स्तम्भमा अडेस लगाएर सुतिरहेका छन् । हुन त स्तम्भको माथिल्लो भागमा रहेको गरुदको सालिकले नमस्कार गरेझैँ साहूको अगाडि हात जोडेरै आशामरुले जिवन कटाए । न त दत्तात्रय मन्दिर फर्केर बसेका गरुदले कहिल्यै नमस्कार गर्न छोड्यो, न आशामरुले नमस्कार गर्ने जिन्दगीबाट उन्मुक्ति पायो । अब त आशामरुको अन्तिम सियो पनि भाँचिसक्यो । त्यसैले त उनी गरुदको स्तम्भमुनि सुतिरहेका छन् ।
दसैँ सकाएर कार्तिक महिनामा छिमेकीहरु आआफ्ना घर अगाडि रहेको बाटो, चोक र गल्लीमा धान सुकाइरहँदा आशामरुले मात्र जीउ सुकाइरहनु परेको छ । कारण उनले खेतीपाती नगरेकै तीसोैँ वर्ष भइसक्यो । अब त उनलाई खेतले पनि चिन्दैन होला । अरुबेला पनि उनी झोक्राइरहेका हुन्छन् ।
तीसौँ वर्ष अगाडिसम्म त आशामरु दुई चार रोपनी जग्गाका मालिक थिए । उनी स्वयम् खर्पन बोकेर खेत जान्थे । अनि त्यही खर्पनमा आफ्नो छोराछोरीलाई राखेर खरिपाटीसम्म ओहोर दोहोर गर्थे । खेतीपाती नहुँदा कहिले ज्यामी त कहिले टोपी सिलाउने काम गर्थे । तर उनले कहिल्यै सोचेका थिएनन्, कि उनी दत्तात्रय मन्दिर अगाडिको गरुदझै साहूको अगाडि हात जोडेर बस्नुपर्छ भन्ने ।
वि.सं. २०४५ साल भाद्र २० गते बिहान ०४ः५४ः३५ मा आएको भूकम्पले उनको घर ढल्यो । घर ढल्दा उनको कान्छो छोरो जन्मेर एक महिना पनि पुगेको थिएन ।ढलेको घर उठाउन पच्चीस हजार ऋण लिए । घर पनि बन्यो तर ऋण गलपासो बन्यो ।
मेहनती आशामरुले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा भएपनि पढाउन बिर्सेनन् । एक दिन आशामरुको श्रीमती बच्चाहरुलाई स्कूल पठाएर घरमा लुगा धुँदै थिइन् । उनका मामा राजाबाबु सेतो कारमा आई उनकै घर अगाडि रोके । आशामरु त्यो दिन घर बनाउने ठेकेदारसँग काममा गएका थिए । आफ्ना मामा घरमा आएपछि नेवारी चलनअनुसार उनकी श्रीमतीले ढोगिन् । राजाबाबुले आशामरुको खेत चिन्न चाहे । कारमा राखेर मामाले भान्जीलाई सबै खेतमा डुलाए ।
त्यसपछि आशामरुको घरमा कहिल्यै शान्ति भएन । जग्गा बेच्न सधैँ कचकच सुरु भयो । ऋण तिर्नको लागि आशामरु जग्गा बेच्ने मनसायमा थिएनन् । छोराछोरी सानै थिए । श्रीमतीको ढिपी र आफ्नै श्रीमतीको मामा पर्ने राजाबाबुले उनलाई भएको जग्गा बेच्न बाध्य पारे । ताकि ऋण तिर्न सकियोस् ।
उनका मामाले घरमै आई भने, सरकारी ऋण नतिरे घर पनि लिलाम हुन्छ । जग्गा बेचेरै भएपनि तिर्नुपर्छ । नत्र छोराछोरीको विचल्ली हुन्छ ।
आशामरुले राजाबाबुको कुरामा विश्वास गरे । सस्तो मूल्यमा जग्गा बेचियो । जग्गा त राजाबाबुले आफ्नै मान्छेलाई किन्न लगाएका रहेछन् । प्रतिरोपनी पचास हजारमा किन्न लगाएर तत्कालै प्रति रोपनी एक लाखमा बेचेको कुरा आशामरुलाई थाहा नै भएन। त्यसमाथि जग्गा बेच्दाको पैसा उनले छुन पनि पाएनन् ।
उनका मामाले फेरि भने, कसैले ऋण तिरेको छैन, तपाईले मात्र किन तिर्ने? बरु अरुलाई ऋण दिए, व्याज पाइन्छ । आशामरुले नमान्दा पनि ऋण सापटी भनेर राजाबाबुले आफ्नै साथीलाई ऋण दिए । उनै मामाले व्याजको प्रलोभन देखाई पैसा हात पर्न दिएनन् । उनी दिनहुँ मामाको घरमा पैसा फिर्ता माग्न जान्थेँ । उनका मामाले पैसा फर्काउने पहल नै गरेनन् ।
आशामरुलाई त्यतिबेला पैसा फिर्ताका लागि सघाउने कोहि पनि थिएनन् । मुद्धा मामिलामा फस्न डराउने आशामरुलाई साथ दिने पनि कोहि भएनन् । न उनका साथीहरुले साथ दिए, न छिमेकीले ,न कुनै आफन्तले । चुनाबमा भोट माग्ने जनप्रतिनिधिले आशामरुलाई त चिन्ने कुरो पनि भएन । ज्यूँदाका जन्ती मर्दाका मलामी भनिने छिमेकीले पनि बलेको आगो मात्र टाप्ने रहेछ । आशामरुको खराब दिन सुरु भयो । तापनि हरेस नखाई छोराछोरीलाई हुर्काइरहे ।
उता थाहा नपाईकन आशामरुकै पैसाबाट राजाबाबुको नयाँ घर बन्यो, आशामरुको ऋण चैँ बाँकी नै रह्यो । उनले न त व्याज पाए, न त साँवा । आफ्नै मामासँग आफ्नो पैसा माग्नु पनि भिख मागेजस्तै भयो । उनका राजाबाबुले आफ्नै भान्जीको घर तहसनहस पारे । अनि एउटा किसान भूमिहिन भयो । किसानबाट ज्यालामा निर्भर मजदूर बन्यो । साहूको अगाडि गरुडले झै हात जोड्नुपर्ने भयो । ज्यामी आशामरुले आफ्नो स्वाभिमान बेचेन ।
धार्मिक स्वभावका आशामरुको विश्वास मान्छेबाट अब देवी देवताका ढुङ्गाका मुर्तिमा सर्यो । जहिल्यै स्तुति गान चाहने देवी देवताले पनि आशामरुको स्तुति कहिल्यै बुझेनन् । तर आशामरुले धार्मिक कृयाकलाप कहिल्यै छोडेनन् ।
फेरि ऋण तिर्नु पर्ने बाध्यता त छँदै थियो । बैङ्कले ऋण तिर्न ताकेता गर्न थाल्यो । आशामरु ओछ्यानमा थलिए । केहि सीप नलागेपछि ऋण तिर्न घर बेचियो । बचेको पैसाले अर्को सानो घर किनियो । आशामरु त्यही सानो घरमा बस्थे । उराठलाग्दो त यो भयो कि ऋण तिरेको केहि समयमा नै सरकारले भूकम्प पिडितको ऋण मिनाहा गरिदियो । तापनि उनको जिवनमा सुखको आशा जुनकिरीको प्रकाशझै पिलपिल बलिरहेको थियो ।
त्यो घर पनि वि.सं. २०७२ बैशाख १२ गतेको भूकम्पले ढलिहाल्यो । उनका मामा आज पनि खरीद बिक्रीको काम गर्छन । उनलाई लिन घरसम्म कार आउँछ र उनको कार दत्तात्रय भएरै जान्छ, जतिबेला आशामरु निन्द्रामा पनि आफ्नो मामासँग जग्गा बेचेको पैसा मागिरहेका हुन्छन् । कोट पाइन्टमा सज्जिएका उनका मामाले सपनामा लात हान्छन्, आशामरु स्तम्भ मुनि रहेको कछुवाबाट भुइमा बजारिन्छन् । परबाट कारको हर्न बज्छ, आशामरु झस्किन्छन् । आज दिनमै सपना देखेको आशामरुले पर एउटा सेतो कार हुइँकिएको देख्छन् । अनायासमै आशामरु ठूलो स्वरमा चिच्याउँछन्, आफ्नै भान्जीको सम्पति हडप्ने दलाल आयो .. दलाल आयो…। सेतो कारमा राजाबाबु थिएनन् । कार चलाउने व्यक्तिले आशामरुलाई हेर्दै हेरेनन् । दत्तात्रयमा घुम्न आउने मानिसहरुले रक्सीको सुरमा कराएको ठाने । सबै कुराका जानकार दत्तात्रयले कुनै शब्द बोलेनन् । गरुदले पनि आफ्नो आसन परिवर्तन गरेर आशामरुको आशा जगाउन उचित ठानेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















