टुक्का कृष्ण कुमार वैद्य, बनेपा-९, काभ्रे
विश्व शान्तिको अग्रदूत हुन् सिद्धार्थ गौतम बुद्ध,
बुद्ध वाणी पालना गरि होउन् सबैको चित्त शुद्ध ।
फेरिन सक्छ अन्तरालमा प्रकृतिको रूप रङ्ग,
सवमा व्याप्त भर्दछ चाहना खचाखच उमङ्ग ।
निको हुँदैन भन्छन् मुर्खलाई ज्ञानगुणका कुरा,
अल्पज्ञानी हुन्न पुरक अतः गर्छ आधा अधुरा ।
आत्मीयता सद्भावको पर्वलाई रङ्गिन बनाओं,
जिन्दगी रङ्गाएर होली उल्लासपूर्वक मनाऔं ।
फोक्सो सिध्याउन मानिस विनासित्ति अभक्ष्य वाल्छ,
आफू जल्छ आफ्नालाई जलाउँछ जिन्दगी नै फाल्छ ।
बिग्रेका जनताले गर्दाखेरी नेता हुन पाएको,
नेता शासक भएपछि जनताले मार खाएको ।
उज्वल भविष्यको सपना बुनेर पुगे विदेश,
प्रतीक्षा गर्दागर्दै उमेर गयो फुले सारा केश ।
भविष्य बनाउँछु भनेर झन् अन्धकारमा पारे,
युवायुवतीलाई पराईका सस्ता ज्यामीमा झारे ।
लोकतन्त्रमा पनि हुनेखानेकै चल्यो रजगज
भागबन्डा गरि खाइरहे लोकतन्त्रको कबज ।
लोकतन्त्रको हिमायतीले पनि देखाए तमासा,
शकुनि चालमा पारी पल्टाइदिए पर्लक पासा ।


















