भक्तपुर, बैशाख २७ । भक्तपुर सिकर्मी संघले बैशाख १४ गते भक्तपुर नगरपालिका ब्यासी २ मा भएको आगलागीमा परी फर्निचर व्यवसाय संचालन गर्दै आएका प्रदिप गलुलाई मेसिनरी सामानहरु वितरण गरेको छ । पिडित गलुले संचालन गर्दै आएको फर्निचर आगलागीमा परी पुर्ण रुपमा क्षति भएपछि निजलाइ तत्काल काम गर्न सहयाेगकाे रुपमा काठ चिर्ने मेसिन, प्लेनर, ड्रिल, ग्रेन्डर, करौँती, बटाम, राम्हो, टेप जस्ता सामानहरु संघको कार्यालयमा वितरण गरिएकाे हो ।

सामान वितरण कार्यक्रममा संघका अध्यक्ष विक्रम ढुकुछुले संघले स्थापनाकालदेखि नै सरकारले लागु गरेका अव्यवहारिक कर नीति भ्याट, उत्पादित फर्निचरका सामान ढुवानी गर्दा भवर लोड, ओभर लोड, ढालाबाट बाहिर आएको भन्दै प्रहरी प्रशासनले दुःख दिँदा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै आइरहेको बताउनुभयो ।
संघको स्थापना हुनुको कारण छरिएर रहेका सिकर्मी व्यवसायी तथा कामदार वर्गलाई एकत्रित गरी संघमा आबद्ध सदस्यहरुको समस्या समाधानका निम्ति गठन भएको चर्चा गर्नहुदै संघले सिकर्मी व्यवसायहरुको हक तथा हितको लागि आवाज उठाउँदै आइरहेको र विश्वको इतिहासमा ठूलाठूला मजदुर आन्दोलनबाट विश्वमा आमुल परिवर्तन भएको उल्लेख गर्नुभयो ।
सिकर्मी संघमा आबद्ध नभएका सिकर्मी व्यवसायहरुलाई संघमा आबद्ध हुन अनुरोध गर्नुहुदै आगलागीबाट वर्षभरीको मेहनत र कमाई छिनभरमै खरानी हुने भएकोले प्रदेश सरकार र स्थानीय सरकाले पनि आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।


















