घर निर्माणमा वास्तुशास्त्रको आधारभूत ज्ञानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

0
40
घर निर्माणमा वास्तुशास्त्रको आधारभूत ज्ञानबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । घर निर्माण गर्दा वास्तुशास्त्रका आधारभूत पक्षहरूलाई ध्यान दिनुपर्ने विषयमा थालाछें साकोसको शिक्षा उपसमितिको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

शिक्षा उपसमितिका संयोजक राजीव सुवाल जरेजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले घर निर्माण मानिसले सामान्यतया जीवनमा एक पटक मात्र गर्ने भएकाले घरबाट सकारात्मक ऊर्जा प्राप्त गर्ने उद्देश्यले सुरुदेखि नै वास्तुशास्त्रअनुसार नक्सा तयार गर्नुपर्ने बताउनुभयो। घर निर्माणको प्रारम्भिक चरणमै वास्तुसम्बन्धी सामान्य ज्ञान हासिल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।

कार्यक्रममा सहजकर्ता तथा संस्थाका सचिव विश्वराम दुमरुले घर निर्माणका आधारभूत पक्षहरूबारे वैज्ञानिक वास्तुशास्त्रका आधारमा सहजीकरण गर्नुभएको थियो। उहाँले घर निर्माण गर्दा १६ वटा दिशाको पहिचान गरी विभिन्न संरचनाको स्थान निर्धारण गर्नुपर्ने बताउनुभयो।

सहजीकरणका क्रममा मुख्य ढोका, पूजाकोठा, सुत्ने कोठा, भर्‍याङ, भान्छा, शौचालय निर्माण तथा जग्गा छनोटलगायतका विषयमा जानकारी दिइएको थियो। घरका विभिन्न संरचना उपयुक्त स्थानमा निर्माण गर्दा घरमा बसोबास गर्ने व्यक्तिहरूको जीवनमा सकारात्मक ऊर्जा प्रवाह भई सुख, समृद्धि र सुस्वास्थ्य कायम राख्न सहयोग पुग्ने विषयमा चर्चा गरिएको थियो। साथै, नयाँ घर निर्माणका क्रममा नक्सा तथा डिजाइन तयार गर्ने इन्जिनियरहरूले समेत वास्तुका आधारभूत पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा संस्थाका निमित्त व्यवस्थापक सरिना थुसाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा श्रीया पहिजुले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो। विभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरूको सहभागिता रहेको कार्यक्रममा घर निर्माणसँग सम्बन्धित वास्तुशास्त्रका आधारभूत विषयमा छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here