कार्तिक २७, भक्तपुर । श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २०औँ स्थापना दिवस, मिति २०८३ कार्तिक २१ गते सम्पन्न १९औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको सिंहावलोकन तथा धन्यवाद ज्ञापन कार्यक्रम शुक्रबार चासुखेलस्थित संस्थाको सभाकक्षमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व वडाध्यक्ष एवं शिक्षासेवी हिमालयश्वरलाल मूलले सहकारी संस्थाहरू सामूहिक भावना र एकताको आधारमा सञ्चालन हुनुपर्ने बताउनुभयो। उहाँले एकताबद्ध रूपमा सरल प्रक्रियाबाट निर्वाचन सम्पन्न हुनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै सहकारी सञ्चालन गर्दा नीति, नियम र विधिको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो।
सहकारी क्षेत्रमा देखिएको संकटबारे चर्चा गर्दै उहाँले केही व्यक्तिको गलत कार्य र खराब ऋणीका कारण सहकारी क्षेत्र धराशयी बन्न पुगेको बताउनुभयो। ऋण प्रवाह गर्दा पर्याप्त अध्ययन र विचार पुर्याउनुपर्ने उल्लेख गर्दै उहाँले सहकारीमा सुशासन, आर्थिक अनुशासन र जिम्मेवारी आवश्यक रहेको धारणा राख्नुभयो। साथै सहकारीले सामूहिक भावनाको विकास गर्ने भएकाले देशको हितका लागि समाजवादी व्यवस्थाको आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।
कार्यक्रममा निवर्तमान अध्यक्ष पूर्णगोपाल राजचलले दुई दशकको यात्रा तय गर्न सबै सदस्य तथा शुभचिन्तकको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाभित्र देखिएका कमी–कमजोरी आपसी समझदारी र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो।
संस्थापक अध्यक्ष नारायणप्रसाद त्वानाबासुले संस्थाले २० वर्ष पूरा गरेकोमा खुसी व्यक्त गर्दै सहकारी स्थापना गर्नुभन्दा त्यसलाई नीति, नियम र सिद्धान्तअनुसार निरन्तर सञ्चालन गर्नु चुनौतीपूर्ण हुने बताउनुभयो। संस्थालाई थप व्यवस्थित र सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव सम्झना खाइजुले गर्नुभएको थियो भने कार्यक्रम संस्थाका अध्यक्ष नारायणकृष्ण माकको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा संस्थापक सदस्य, शेयर सदस्य, बालबचतकर्ता, सञ्चालक समिति, विभिन्न उपसमितिका सदस्य तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।


















